मंगलबार, ६ चैत २०८०
DainikNepal.com
मंगलबार, ६ चैत २०८०

‘प्रधानमन्त्री ओली हटाउनेबारे सोच्नुपनि अपराध हो, पाप लाग्छ’

दैनिक नेपाल २०७७ असार १४ गते २१:००

काठमाडौं, १४ असार । उद्योग, वाणिज्य तथा आपूर्तिराज्यमन्त्री मोतिलाल दुगडले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु वा हटाउनेबारे सोच्नुपनि अपराध हुने र पाप लाग्ने टिप्पणी गरेका छन् ।

उनले भने,‘अहिले प्रधानमन्त्रीको विकल्प सोच्नु वा हटाउनेबारे सोच्नु दोष हो, यो अपराध हो । पाप लाग्छ ।’

राजधानीमा एक कार्यक्रममा बोल्दै राज्यमन्त्री दुगडले वर्तमान प्रधानमन्त्री ओलीले देश र जनताको हितमा एउटा संकल्प र अठोटका साथ काम गरिरहेको जिकिर गरे ।

‘वर्तमान सरकार पारदर्शी छ, केपी ओलीजस्तो एउटा भिजनरी लिडर देशको प्रधानमन्त्री पाउनु देश र हामी नेपाली जनता सबैको लागि सौभाग्यको कुरा हो ।’–दुगडले भने । उनले सरकारको विरोध गर्ने वा आलोचना गर्नेहरुले जे कुरामा पनि आलोचना गर्ने गरेको टिप्पणी गरे ।

उनले भने, ‘हेर्नुहोस, आलोचनामात्रै गर्ने काम भएकाहरुसँग त सरकारको बारेमा आलोचना गर्न फेहरिस्त नै हुन्छन् । सरकारले शतप्रतिशत सन्तुष्ट गर्न सक्दैन् । तर, देश र जनताको हितमा हामीले काम गरिरहेका छौं ।’

मन्त्री दुगडले अहिलेको अवस्थामा प्रधानमन्त्री बदल्ने काम गर्न नहुने स्पष्ट पारे । उनले भने, ‘प्रधानमन्त्री बदल्ने काम दुर्भाग्यपूर्ण हुन्छ ।

प्रधानमन्त्री, राष्ट्रपति वा मन्त्रीहरु बदलेर देश बन्दैन् । प्रधानमन्त्री हट्दैमा देश बन्छ भनेर कसले ग्यारेन्टी लिन्छ ? सम्माननीय प्रधानमन्त्रीज्यूले क्वालिटीको काम गर्नुभएको छ । भ्रष्टाचार निर्मूल पार्छु भन्नुभएको छ । प्रमाणसहित आए उहाँले कारबाही गर्छु भनेर सार्वजनिक रुपमै प्रतिबद्धता जनाउनुभएको छ ।’

उनले प्रधानमन्त्री ओलीको विकल्प नभएको जिकिर गरे । उनले भने,‘उहाँको नेतृत्वको वर्तमान सरकारले स्मुथ्ली काम गरिरहेको छ । यस्तो बेलामा सानातिना कुरामा अल्झिनु हुँदैन् ।’

प्रतिक्रिया
सम्बन्धित