मंगलबार, ६ चैत २०८०
DainikNepal.com
मंगलबार, ६ चैत २०८०

सलह किरा मार्नुस्, प्रतिकिलो २५ रुपैयाँ कमाउनुस्

दैनिक नेपाल २०७७ असार १४ गते १८:१७

काठमाडौँ, १४ असार । सुदूरपश्चिम प्रदेश सरकारले सलह किरा मारेर ल्याए प्रतिकिलो २५ रुपैयाँको दरले दिने घोषणा गरेको छ ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सलह किराको नियन्त्रणका लागि यस्तो निर्णय गरेको हो ।

चिसो तथा मनसुनी मौसम भएको बेलामा सलह आउने सम्भावना न्युन रहेको बताउँदै आएका विज्ञहरुको आंकलन विपरित असार १३ गतेदेखि नेपालमा सलह किरा प्रवेश गरेको छ ।

सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालयका निर्देशक यज्ञराज जोशीले प्रदेशमा सलह आइनसकेको भएपनि पूर्व तयारी गरेको बताए । त्यस्तै, किसानलाई पनि सतर्क रहन आग्रह गरिएको उनले जनाए ।

उनले सलहलाई मारेर माछाको आहारको रुपमा प्रयोग गर्न सकिने बताउँदै किसानको बालीनाली जोगाउन सलह मार्नेलाई प्रोत्साहन गरिने बताए । अहिले धान रोप्ने समयमा धानको बीउ जोगाउनका लागि त्रिपाल वा प्लास्टिकले राम्ररी ढाकेर राख्न पनि आह्वान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित