शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

एमआरपी साढे ५ लाख मात्र बाँकी

दैनिक नेपाल २०७७ असार १४ गते ७:२७

काठमाडौं, १४ असार । सरकारले ७० लाख यन्त्रवाचक राहदानी (एमआरपी) छापेकोमा असार ७ गतेसम्म ६४ लाख ४८ हजार १ सय १५ थान वितरण भइसकेका छन् । राहदानी विभागका अनुसार ५ लाख ५० हजार ८ सय ८५ थान राहदानी बाँकी छन् । हालसम्म नमुनाका रूपमा प्रयोग भएको राहदानी संख्या १ हजार छ ।

विभागले हालसम्म १० हजार कूटनीतिक, २० हजार विशेष, ६९ लाख ४५ हजार साधारण र २५ हजार यात्रा अनुमतिपत्र गरी ७० लाख राहदानी ल्याएको हो । त्यसमा ५ हजार ४ सय ३१ कूटनीतिक, १८ हजार ३८ विशेष, ६४ लाख २२ हजार ९ सय ५६ साधारण र १ हजार ६ सय ९० यात्रा अनुमति पत्रलाई व्यक्तिगत राहदानीमा प्रयोग गरिसकेको छ । कूटनीतिकतर्फ ४ हजार ३ सय १९, विशेषतर्फ १ हजार ७ सय १२, साधारणतर्फ ५ लाख २१ हजार ७ सय ९४ र यात्रा अनुमति पत्रतर्फ २३ हजार ६० थान बाँकी छन् ।

विभागका महानिर्देशक रामकाजी खड्काले पछिल्लो समय कोरोना भाइरस संक्रमण देखिएसँगै राहदानी जारी हुने संख्यामा कमी आएको बताए । खड्काले अन्य समयमा एक दिनमा डेढदेखि दुई करोडसम्म राजस्व उठ्ने गरि राहदानी वितरण हुने गरेकामा लकडाउन भएयता करिब ६१ लाख ५० हजार रुपैयाँ मात्र राहदानी वितरणबाट राजस्व उठेको जानकारी दिए । नेपालमा चैत ११ देखि लकडाउन छ ।

त्यसयता असार ९ गतेसम्म साढे ५ सय हाराहारी राहदानी वितरण भएको छ । ‘अत्यन्तै आवश्यक परेर आएकाहरुलाई प्रमाण हेरेर राहदानी वितरण गरेका छौं । प्राय: सबैले एकै दिनमा राहदानी बनाएर लगेका छन् । त्यसको मतलब धेरैले १५ हजार रुपैयाँ तिरेर राहदानी लगेका हुन्,’ उनले भने । विभागले एक दिनमै राहदानी लिन १५ हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरेको छ । साधारण तरिकाबाट राहदानी बनाउँदा ५ हजार रुपैयाँ मात्र शुल्क लाग्छ ।

खड्काले अहिलेको स्थितीलाई हेर्दा साढे पाँच लाख राहदानीले अझै एक–डेढ वर्ष पुग्न सक्ने बताए । ‘तर कोरोना संक्रमण हटेपछि राहदानी लिनेको संख्या ह्वात्तै बढ्न पनि सक्छ,’ उनले भने, ‘गत अक्टोबर–नोभेम्बरमा अमेरिकाको डीभी लट्री भर्ने बेला राहदानीको नम्बरसमेत आवश्यक पर्ने व्यवस्था गर्दा २५ दिनमा १ लाख राहदानी वितरण गरिएको थियो । फेरि त्यस्तो अवस्था नआउला भन्न सकिँदैन ।’

विभागका महानिर्देशक खड्काले एमआरपीको दुरुपयोग शून्यजस्तै रहेको बताए । बंगलादेशका दुई विद्यार्थीले एक जनाको पाना ल्यातेर अर्काकोमा थपेको र मलेसियाबाट फर्केका दुई जना कामदारमध्ये एक जनाको राहदानीको फोटोमा अर्कोको फोटो टाँसेको बाहेक अन्य समस्या नदेखिएको खड्काले बताए । जगदीश्वर पाण्डेले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित