शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सलह किरा बटुले किलोको २० रुपैयाँले प्रदेश सरकारले किन्ने

दैनिक नेपाल २०७७ असार १३ गते २१:३४

बुटवल, १३ असार । बुटवल क्षेत्रमा सलह देखिएपछि शनिबार नै प्रदेश सरकार विपद् समितिको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा बसेको बैठकले यसबाट किसानको बालीनाली नोक्सान हुनबाट बचाउन विभिन्न उपाय अपनाउने निर्णय गरेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले सलहको नियन्त्रणका लागि सरकारले विभिन्न उपाय अवलम्बन गर्ने र क्षति न्यूनीकरणका प्रयास गर्ने जानकारी दिए ।

उनले अहिले धान रोप्नका लागि बीउ तयार भएका अवस्थामा सलहले नोक्सान गर्ने सम्भावना रहेकाले बीउ जोगाउने उपाय अवलम्बन गर्न आग्रह समेत गरेका छन् ।

सलह जम्मा गरेर माछा, कुखुरा र बङ्गुरको दानाका लागि प्रयोग गर्न सकिने विज्ञले बताएका छन् । भूमि व्यवस्था मन्त्रालयले किसानले सलह जम्मा गरेर स्थानीय तहमार्फत वडा कार्यालयमा ल्याएमा प्रतिकिलो २० रूपैयाँका दरले नगद उपलब्ध गराइने निर्णय गरेको मन्त्रालयका सचिव सुवेदीले जानकारी दिए । मन्त्रालयले सलह नियन्त्रण गर्न मालाथिन वा क्लोरपाइरिफोस नामका विषादी प्रतिलिटर २ एमएल राखेर छर्कन सल्लाह दिएको छ ।

प्रदेश कृषि निर्देशनालयका निर्देशक यामनारायण देवकोटाले सलहको जन्म मरुभूमिमा हुने र लगातार वर्षामा उड्न नसक्ने अध्ययनबाट देखिएको तर नेपालमा कसरी आयो भन्ने यकीन गर्न नसकिएको बताए ।

मन्त्रालयका सूचना अधिकारी विनोद ज्ञवालीले यो किरा नेपालमा भारतबाट आएको अनुमान गरे । जल तथा मौसम विभागले सलह आफ्नो बाटो भारत पश्चिम बंगालतिर जाने अनुमान गरेको छ ।

शनिबार बिहान यस क्षेत्रमा प्रवेश गरेको सलह उत्तरपश्चिमतर्फ लागेकाले गुल्मी अर्घाखाँचीतर्फ क्षति पुर्याउने सम्भावना रहेको उनले बताए ।

मौसम विभागले आइतबार र सोमबार पश्चिमतर्फ लाग्न सक्ने भएकाले त्यस क्षेत्रमा यसले क्षति पुर्याउन सक्ने अनुमान गरेको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित