बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

पहाडतिर जाँदै सलह किरा, कति क्षति गर्ला ? विज्ञहरु यसो भन्छन्

दैनिक नेपाल २०७७ असार १३ गते २०:५५

काठमाडौँ, १३ असार । नेपालमा तराई मधेस हुँदै भित्रिएको सलह किरा पहाड चढ्न थालेको छ ।

शनिबार विहान भारतीय सीमाबाट सर्लाही, बारालगायत जिल्लामा फैलिएको सलह दिउँसो बुटवलका क्षेत्रहरुमा फैलिएको थियो । यो कीरा बारा, पर्सा, सर्लाही, रुपन्देही, तनहुँ लगायतको ठाउँमा पनि देखिएको छ ।

विज्ञहरुले मौसमलाई आधार बनाउने हो भने अहिलेको समयमा नेपाल नआउनुपर्ने धारणा राखेको भएपनि सलह अब पहाड चढ्न थालेको छ ।

दुई दिनदेखि दक्षिणी र पश्चिमी वायुको चाप देखिएकाले उत्तरतिर सर्दै गइरहेको कृषि वैज्ञानिकहरु बताउँछन् ।

सानो सानो समूहमा आएका ति किरा एकै ठाउँ नबस्नुको कारण फर्कन खोजेको तर वायुको प्रवाहले नसकिरहेको विज्ञहरुले जनाएका छन् ।

सलह किरा नेपालमा प्रवेश गरेकोमा पाकिस्तान तथा भारतका वैज्ञानिकहरु पनि आश्चर्यमा रहेका छन् ।

कृषि मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले भने, ‘आज हामीले पाकिस्तान, भारतलगायत एफएओका प्रतिनिधिसँग यस विषयमा छलफल गर्यौं । उहाँहरुले यो बेलामा नेपालमा कसरी प्रवेश गर्यो भनि आश्चर्य प्रकट गर्नुभएको छ ।’

विज्ञहरुका अनुसार शनिबार प्रवेश गरेको साना झण्डले नेपालको हावा पानीमा बच्चा बनाउन नसक्ने बताएका छन् । यदि भारतबाट थप झुण्ड नआएको खण्डमा यसले खास ठूलो असर नगर्ने विज्ञहरुको भनाइ छ ।

अहिलेको सलह किराले देखाएको लक्षण हेर्दा त्यति धेरै क्षति नगर्ने विज्ञहरुले बताएका छन् ।

सलह किरा नेपाल आउँछ कि आउदैन भन्नेबारे अध्ययन समितिले हाल नेपालमा सलह किराको प्रवेश न्युन रहेको प्रतिवेदन बुझाएको थियो ।

विज्ञहरुका अनुसार ‘नेपालमा अहिले ठूलो मात्रामा प्रवेश गरेको छैन, ठूलो मात्रामा आयो भने यसले क्षति गथ्र्यो तर यो झुण्डबाट टुक्रिएर आएको कारणले यताउति भौतारिरहेका छन्, त्यसले बालीलाई नोक्सानी गर्छन् जस्तो लाग्दैन तर ढुक्क रहने अवस्था छैन ।

दुई दिनसम्म वायु चापको यस्तै रहने मौसम विभागले जनाएको छ। त्यसैले ढुक्क रहने अवस्था छैन । वायुका कारण भारतबाट किरा अझै प्रवेश गर्ने सम्भावना रहेको छ । त्यसैले बालीलाई नोक्सान गर्दैन भनेर ढुक्क भएर बस्ने अवस्था भने छैन ।’

अहिले मकै, तरकारी, धानको बीउ लगायतलाई क्षति गर्न सक्छ । आज मन्त्रालयमा विज्ञसहित भएको भर्चुअल छलफलमा यसको नियन्त्रणका लागि कार्यविधि तयार गरिएको छ । प्रदेश र स्थानीय तहसँग समन्वय गरेर यो किरालाई नियन्त्रण गर्ने कार्यविधि बनाइएको प्रवक्ता केसीले बताए ।

जनचेतना जगाउने, विषादीको व्यवस्थापन गरी किरा भएको ठाउँमा छर्किने, कहाँबाट आयो, कुन रुटबाट आयो, कस्तो जातको किरा हो, प्रभाव नेपालमा कहिलेसम्म रहन्छ, बालीलाई कसरी नोक्सानी गर्छ भन्नेलगायतका विषयमा अध्ययन गर्न पनि मन्त्रालयले भनेको छ ।

किरा नियन्त्रणका लागि सरकारले काम सुरु गरिसकेको छ । कीरा मार्न विषादी छर्किने, थाल ठटाउने, आगो बालेर धुँवा लगाउने जस्ता काम पनि शुरु भएको कृषि ज्ञान केन्द बाराका प्रमुख जितेन्द्र यादवले बताए ।

एकै ठाउँमा नदेखिएकाले विषादी छर्किन पनि समस्या भइरहेको उनले बताए । उडेर ठाउँ परिवर्तन गरिरहने भएकाले यसलाई नियन्त्रण गर्न चुनौती देखिएको क्वारेन्टिनका प्रमुख हुमागाईले बताए ।

यहाँको खेती किसानी वस्तीमा भएको हुनाले औषधी छर्किन पनि समस्या हुने बताइएको छ ।

यता शनिबार भूमि व्यवस्था र कृषि तथा सहकारी मन्त्रालयले पनि सयुक्त रुपमा विज्ञप्ति जारी गरी सलह किराबाट खाद्यबाली जोगाउनेबारे किसानलाई सुझावसहित विशेष अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित