बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कसरी नेपाल भित्रियो सलह किरा ?

दैनिक नेपाल २०७७ असार १३ गते १५:५७

काठमाडौँ, १३ असार । नेपालमा सलह किरा प्रवेश गरेपछि कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अधिकारीहरु छलफलमा जुटेका छन् ।

शनिबार बिहान बाराको सिमरा, डुबरबाना, सिमरा सर्लाही लगायत स्थानमा सलह देखिएपछि मन्त्रालयले विज्ञसहितको टोलीसँग भर्चुअल छलफल गरेको हो ।

छलफलमा प्रदेश २ का प्राविधिकहरु पनि सहभागी रहेको मन्त्रालयका प्रवक्ता डा.हरि बहादुर केसीले जानकारी दिए । मन्त्रालय सलहको प्रवेशबारे थप जानकारी कार्य भइरहेको जनाएको छ ।

त्यस्तै, झुण्डमा आएका सलह जस्तै देखिएका किरा वास्तवमा सलह हो होइन भने यकिन गर्न मन्त्रालयको टोली पठाइएको प्रवक्ता केसी बताए ।

प्रदेश २ सरकारले पनि प्राविधिकसहितको टोली खटाइसकेको छ । सर्लाहीको तेलबाली अनुसन्धान केन्द्रमा देखिएको कीरालाई औषधि छर्केर नष्ट गर्ने काम पनि गरेको छ ।

मन्त्रालय एक समितिले पूर्वी वायु चलेकोले नेपालमा सलहको प्रवेशको सम्भावना न्युन रहेको बताएको थियो । तर केही दिनदेखि पश्चिम वायु शुरु भएको कारणले यो कीरा बिहार हुँदै नेपाल छिरेको प्रारम्भिक अनुमान रहेको नार्कले जनाएको छ ।

भारतमा केही समय अगाडी देखिएकै किरा हो कि अर्कै हो भन्नेबारे वैज्ञानिकहरुले व्याबमा परीक्षण गरेर यकिन गरिने बताएका छन् ।

पाकिस्तान र भारतका वैज्ञानिकहरुसँगको सम्पर्कमा पनि नेपालमा आएको सलह किरा नै हो भनेका छन् । तर सुनिश्चितताका लागि प्रयोगशालामा परीक्षण गरेर मात्रै भन्न सकिने नेपाली विज्ञहरुले बताएका छन् ।

सलह किरालाई अनिकाल निम्त्याउने किरा समेत भन्ने गरिन्छ । किनकी यसले बालीको फल वा पात मात्रै नभएर डाँठ र हाँगा हुँदै बोट नै सखाप पार्छ । त्यसैले, यसले गर्न सक्ने क्षतिलाई कम गर्न तर्फ सबैको ध्यान जान जरुरी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित