मंगलबार, ६ चैत २०८०
DainikNepal.com
मंगलबार, ६ चैत २०८०

नेपालमा सलह किराको प्रवेश, कृषि मन्त्रालय के गर्दै छ त ?

दैनिक नेपाल २०७७ असार १३ गते १२:२८

काठमाडौँ, १३ असार । कोरोनाभाइरस संक्रमण फैलिरहेकै बेलामा नेपालमा पनि सलह कीराको प्रवेश भएको छ ।

कृषि मन्त्रालयका अनुसार भारतसँग सीमा जोडिएका पर्सा, बारा र सर्लाहीका केही ठाउँमा शनिबार बिहान ८ बजे सलह कीराको ४ वटा झुण्ड देखिएको जनाएको छ ।

सलह किराको झुण्ड देखेपछि स्थानीय किसानहरुले मन्त्रालयमा जानकारी दिएको जनाइएको छ ।

यसै विषयमा छलफल गर्न मन्त्रालयले शनिबार दिउँसो १ बजे जुम मिटिङ आयोजना गरेको छ ।

मन्त्रालयका अनुसार बारा जीतपुर, सिमरा नगरपालिका, निजगढ नगरपालिकामामा सलह किराको प्रवेश देखिएको हो ।

यद्यपि कृषि मन्त्रालयले यसबारे आधिकारिक पुष्टि भने गरेको छैन ।

नेपालमा सलह किराको प्रवेश हुन सक्ने भन्दै मन्त्रालयले यसअघि नै विज्ञ समूहको समिति गठन गरेको छ ।

तसर्थ मन्त्रालयले यस विषयमा ठोस कार्ययोजना बनाउनुपर्ने टड्कारो आवश्यकता रहेको छ । अन्यथा, कोरोनभाइरसको चपेटामा परेका जनता भोकमरीले झन् हाहाकार तुल्याउने अवस्था आउन सक्छ ।

अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह कीरा नेपालमा पनि आएको हो ।

सलह एक प्रकारको फट्याङ्ग्रा हो । संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो कीराको नाम सलह दिएको छ ।

सलहको वैज्ञानिक नाम सिस्टोसेर्सा ग्रेगरीया हो । कृषि बालीमा यसले अमेरिकी फौजी किराको भन्दा बढी क्षति पु¥याउँछ ।

यो कीरा करोडौंको संख्यामा हुने गर्दछन् । यो कीराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ ।

यस्तै एक दिनमा १ सय ५० किलोमिटर भन्दा बढी टाढा सम्म पुग्न सक्छ ।

यो कीराको प्रकोप खासगरी जेठ महिनादेखि असोजसम्म हुने गर्छ । जलवायु परिवर्तन र वातावरणमा भएको सुख्खापनले सलह किराको जनसंख्या बढेको अन्तर्राष्ट्रिय कृषि वैज्ञानिकहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित