जनकपुर, ११ असार । धनुषाको हंसपुर नगरपालिका–७ नौवाखोर प्रसाहीका १६ वर्षीय राजु सदाको क्वारेन्टाइन र आइसोलेसन केन्द्रको हेल्चेक्र्याइँले मृत्यु भएको परिवारले आरोप लगाएको छ । उनको आरडीटी परीक्षण रिपोर्ट पोजिटिभ र पीसीआर रिपोर्ट भने नेगेटिभ आएको थियो ।
क्वारेन्टाइनमा १४ दिन रहँदा गम्भीर अवस्था हुँदा पनि उपचारमा ध्यान नदिएको तथा आइसोलेसनमा राखिँदा पनि पीसीआर रिपोर्ट नआएको भन्दै चिकित्सक नजिक नै नपरेकाले उपचार अभावमा सदाको मृत्यु भएको परिवारको दाबी छ ।
लकडाउनले जागिर गुमेपछि जेठ १४ मा भारतको चेन्नईबाट आठ दिनको यात्रा गरेर धनुषाको जटही नाका आइपुगेका उनलाई पखाला लाग्यो । पैदल, बस र रेलको यात्राले शरीर थकित त भएकै थियो, सदाले बाटोमा राम्रोसँग खाना पनि खान नपाएको बताएका थिए । नाकामा आउँदै उनलाई उपचारको खाँचो थियो । तर, सोझै क्वारेन्टाइन लगियो ।
नौवाखोरको क्वारेन्टाइनमा भेट्न बुवा असे सदा पुग्दा छोरा राजुको शरीर कमजोर देखे । क्वारेन्टाइनका कर्मचारीसित राजुले आफू निकै कमजोर बनेको भन्दै सलाइन पानी चढाइदिन धेरै पटक अनुनय–विनय गरेका असेले सुनाए । ‘टाउको दुखिरहने । खाना खाएलगत्तै उल्टी गथ्र्यो,’ असेले भने, ‘छोराको शरीरले उपचार खोजिरहेको थियो । तर, क्वारेन्टाइनमा बसेका कर्मचारीले सलाइन पानी चढाउन अनुमति नरहेको भन्दै टारे ।’ क्वारेन्टाइनमा बस्दा प्रतिदिन राजुको शरीर कमजोर हुँदै गयो । असेका अनुसार उपचार गराउन आफैं लैजान्छौं भन्दा पनि क्वारेन्टाइन व्यवस्थापनले मानेनन् ।
‘छोराको अनुहार सुकेको थियो, शरीर कमजोर । धेरै पटक मैले नै उपचार गराउन अस्पताल लग्छु भन्दा क्वारेन्टाइनबाट जान दिएनन्,’ राजुका बुवा असेले भने, ‘कोरोनाको रिपोर्ट नआएकाले बाहिर लैजान मिल्दैन मात्र भनिरहे । यता छोरा झन्झन् कमजोर हुँदै थियो ।’
आरडीटी रिपोर्ट पोजिटिभ आएपछि जेठ २८ मा राजुसहित उनीसँगै क्वारेन्टाइनमा बसिरहेका अरुण सदालाई पनि टिपरमा हालेर जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा पठाइयो । आइसोलेसन केन्द्रको प्रतीक्षा कक्षमा राजु र अरुणसहित सिरहाका अर्का संक्रमित पनि थपिए । राजुको बुवा असेले बुधबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा तीनवटा प्रश्न गरे, ‘राजुलाई कोरोना पोजिटिभ थियो भने टिपरमा राखेर किन आइसोलेसनमा लगियो, आइसोलेसनमा किन भर्ना गरिएन र कोरोना पोजिटिभ थिएन भने किन आइसोलेसनमा लगियो ?’ यिनै प्रश्नको उत्तर खोज्दै असेले छोरा राजुको मृत्युको कारण क्वारेन्टाइन र आइसोलेसन रहेको दाबी गरे ।
उनको अर्को पनि दुखमनाउ छ । ‘आइसोलेसन कक्ष बाहिर राखिएका राजुलाई हेरचाह र उपचार गर्न कोही पनि आउँदैनथ्यो,’ असेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अस्पतालमा ल्याउँदा पनि राजुको पखाला निको भएको थिएन । टाउको दुख्ने र खाना खाँदा उल्टी हुने क्रम उस्तै थियो । ऊ बेडमै छटपटाउँथ्यो । बेचैनी महसुस गथ्र्यो ।’ असेका अनुसार पेट पोल्ने, पखाला लाग्ने र उल्टी भइरहेकोबारे राजुले आइसोलेसन कक्षका चिकित्सकहरूलाई पटक–पटक भनेका थिए । तर कसैले वास्ता गरेनन् । सँगै रहेका अरुणलाई राजुको छटपटीले बेचैन बनाउँथ्यो । नर्स–डाक्टरलाई गुहार लगाउँथ्यो । बल्लतल्ल आउने नर्स–डाक्टरले परैबाट औषधि दिएर जान्थे ।
असार ५ को बिहान ३ बजे राजु अचानक बेडबाट झरे । उनी छटपटाइरहेका थिए । शरीर तन्काउन थाले । बोल्न पनि छोडे । अरुणले नर्स र डाक्टरलाई फोन गरेर बोलाए । नर्स त आइन् तर ढोकामै रोकिइन् । अरुणले राजुलाई उठाएर बेडमा राखे र गुडाउँदै नर्सनेर लगे । नर्सले त्यही सलाइन पानी लगाइदिइन् । ‘केही परे फोन गर्नू’ भन्दै नर्स हिँडिन् । यो क्रम तीन दिनसम्म चल्यो । असेका अनुसार राजुको कमजोर शरीर सलाइन पानीले मात्र धान्ने स्थितिमा थिएन ।
सोमबार राजु र अरुणको पीसीआर रिपोर्ट नेगेटिभ आयो । त्यो जानकारी दिन भने डाक्टर उनीहरूको छेउमै आइपुगे । ‘तिमीलाई केही भएको छैन, घर जाऊ,’ डाक्टरले अरुणलाई भने । राजुको अवस्था गम्भीर रहेकाले उनका बुवा असे र आमा नीलमदेवीलाई अस्पतालले बोलायो । ‘उपचार गराउन बाहिर लैजानु भन्दै डाक्टर हिँडिहाले,’ असेले भने, ‘टेम्पोमा राखेर राजुलाई इमर्जेन्सी कक्षमा लगें ।’ केहीबेरमा राजुले इमर्जेन्सी कक्षमै प्राण त्यागे । अजित तिवारीले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।















प्रतिक्रिया