२ कार्तिक २०८३, सोमबार

बेसारमै नेपाल परनिर्भर

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । नेपालीले दाल–सब्जी पकाउँदा प्रायः छाकपिच्छे प्रयोग गर्छन्, बेसार। औषधीय गुण भएको त्यही बेसारमा पनि नेपाल आत्मनिर्भर छैन। हुन त यसको आयात परिमाण सानो देखिन्छ। तर, त्यसबापत बाहिरिने नेपाली रुपैयाँ भने ठूलै छ।

बेसार खेतीमा आवश्यक लगानी नहुँदा भारतसहित तेस्रो मुलुकबाट नेपालमा आयात हुन्छ। मुख्यतः ताजा, धुलोसहित विभिन्न स्वरूपमा बेसारलाई ल्याउने गरिन्छ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको १० महिनामा म्यानमार र भारतबाट २७ करोड ९५ लाख ११ हजार रुपैयाँको बेसार ल्याइएको छ। त्यसको परिमाण भनेको २१ लाख ७९ हजार ८ सय ५७ किलो (२ हजार १ सय ७९ टन) हो। योे अवधिमा नेपालबाट ११ सय २९ किलो मात्र निर्यात भएको छ। त्यो भनेको ३० हजार रुपैयाँबराबरको हो। यो वर्ष नेपालमा ९ हजार ७ सय ९५ हेक्टरबाट ९९ हजार ९ सय ७ टन बेसार उत्पादन भएको छ।

प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस (कोभिड–१९)को उपचारमा बेसार महत्वपूर्ण रहेको बताउँदै आएका छन्। उनले गत बिहीबार राष्ट्रियसभा बैठकमा बेसारपानी पिउँदा कोरोना ठीक हुने बताएका थिए। बेसार कसरी र किन खाने ? यसको सेवन गर्दा के फाइदा हुन्छ ? यस्ता विषयमा ओलीले लामो अभिव्यक्ति दिएका थिए। उनको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा बहस सुरु भएको छ।

विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा ९८ लाख १० हजार रुपैयाँको १ लाख ५ हजार २९ किलो (१०५ टन) ताजा बेसार आयात गरियो। ३ करोड ७१ लाख ९८ हजार रुपैयाँको २ लाख २५ हजार ७ सय ४१ किलो (२२५ टन) धुलो बेसार र २३ करोड २५ लाख ३ हजार रुपैयाँको १८ लाख ४९ हजार ८७ किलो (१ हजार ८ सय ४९ टन) अन्य प्रकारको बेसार आयात भएको हो।

२०७५÷७६ मा २६ करोड १९ लाख ७० हजार रुपैयाँको ताजा, धुलो र अन्य प्रकारको बेसार आयात गरिएको थियो। त्यसको परिमाण भनेको २० लाख १२ हजार ६ सय ९६ किलो (२ हजार १२ टन) हो। त्यसमध्ये अन्य प्रकारको बेसार २० करोड ६८ लाख ९३ हजार रुपैयाँको १६ लाख १९ हजार ७ सय ६९ किलो (१ हजार ६ सय १९ टन) थियो। यस्तै, ३ करोड २० लाख ५० हजार रुपैयाँको २ लाख १ हजार ८ सय ३ किलो (२०१ टन) धुलो र २ करोड ३० लाख २७ हजार रुपैयाँको १ लाख ९१ हजार १ सय २४ किलो (१९१ टन) ताजा बेसार आयात भएको थियो। गत आवमा १० हजार १ सय ६० हेक्टरमा ९८ हजार ९ सय ४ टन बेसार नेपालमा उत्पादन भएको थियो।

भान्छामा खपत हुने बेसारको माग कति छ भनेर सरकार अनभिज्ञ देखिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार स्वदेशमा उत्पादन र बाहिरी मुलुकबाट आयात परिमाणलाई जोडेर निस्किने योगफल नै माग हो।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को अदुवा बाली अनुसन्धान कार्यक्रम सल्यानका संयोजक तथा वरिष्ठ वैज्ञानिक डा. समिद अहमदले नेपालमा मुख्य गरी कपुरकोट हलेदो १ र कपुरकोट हलेदो २ जातको बेसारको खेती हुने बताए। ‘हामीहाँ बेसारको व्यावसायिक खेती हुन्न’, उनले भने, ‘लगानी अभावमा बेसारमा हामी आत्मनिर्भर हुन सकेनौं।’ नेपालका तराई र मध्य पहाडी जिल्लामा यसको खेती हुन्छ। अन्नपूर्ण पाेस्ट दैनिकमा राजेश बर्माले समाचार लेखेका छन् ।