४ कार्तिक २०८३, बुधबार

काठमाडौँ महानगरपालिकाको बजेट करिब साढे १६ अर्ब, सबैभन्दा बढी पूर्वाधारमा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० असार । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि रु १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको अुनमानित बजेट ल्याएको छ ।

महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले आज यहाँ आयोजित नगरसभाको सातौं अधिवेशनमा सो अुनमानित बजेट प्रस्तुत गर्नुभएको हो ।

महानगरपालिकाले सबैभन्दा बढी पूर्वाधार विकास क्षेत्रका लागि रु ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजारको बजेट विनियोजन गरेको छ । यो कूल बजेटको ५१ दशमलव ३४ प्रतिशत हो ।

महानगरपालिकाले सामाजिक विकासमा रु २ अर्ब ४९ करोड ९८ लाख बजेट विनियोजन गरेको छ । त्यस्तै, महानगरपालिकाले कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि रु १ अर्ब ७८ करोड २७ लाख ५० हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि रु ९६ करोड ३० लाख तथा आर्थिक विकास क्षेत्रका लागि रु १७ करोड २३ लाख विनियोजन गरेको छ । सशर्त अनुदान अन्तर्गत रु २ अर्ब ५७ करोड ५१ लाख पाँच हजार विनियोजन गरेको छ ।

कूल बजेटमध्ये महानगरले अन्तरिक स्रोतबाट रु छ अर्ब ७६ करोड ६५ लाख आम्दानी हुने अनुमान गरेको छ । यो कूल आम्दानीको ४१ प्रतिशत हो ।

त्यसैगरी बाह्य स्रोततर्फ निःशर्त अनुदानबाट रु एक अर्ब ४२ करोड ४८ लाख ९५ हजार, सशर्त अनुदानबाट रु दुई अर्ब ५७ करोड ५१ लाख पाँच हजार, सामाजिक सुरक्षाभत्ताबापत रु एक अर्ब २० करोड, जग्गा एकीकरणबाट रु ९६ करोड आठ लाख २६ हजार गरी कूल रु छ अर्ब १६ करोड आठ लाख २६ हजार आम्दानी हुने प्रक्षेपण गरेको छ ।

कूल आम्दानीमा नपुग हुने रकम रु तीन अर्ब ५० करोड बैंक मौज्दातबाट व्यहोर्ने प्रस्तुत बजेटमा उल्लेख छ । महानगरपालिकाले आन्तरिक स्रोतबाट रु छ अर्ब ७६ करोड ६५ लाख, व्यवसाय करबाट रु ४० करोड, विज्ञापन करबाट रु छ करोड र शुल्क आयबाट रु एक अर्ब ५० करोड असुल गर्ने लक्ष्य लिएको छ ।

कोभिड-१९ को असर र रोकथाम न्यूनीकरणलाई प्राथमिकता

महानगरपालिकाले कोभिड–१९ को असर, त्यसको रोकथाम र यसबाट पर्नसक्ने प्रभावहरुको न्यूनीकरणका लागि विशेष कार्यक्रमहरुमा बजेट विनियोजन गरेको छ ।

कोभिड–१९ को प्रभावका कारण करदाताबाट असुल हुन बाँकी रहेको आर्थिक वर्ष २०७६/०७७ को सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा पूरै छुट दिएको छ ।

त्यसैगरी कोभिड–१९ का कारण महानगरवासीमा परेको प्रभावलाई मध्यनजर गरी आर्थिक वर्ष २०७७/०७८ को पुस मसान्तभित्र सम्पत्ति कर दाखिला गरेमा यस आर्थिक वर्षमा लाग्ने सम्पत्ति करमा १० प्रतिशत छुट दिने जनाएको छ । घर जग्गा कर वा सम्पत्ति करको बक्यौताको हकमा त्यस्तो छुट दिइने छैन ।

कोरोना प्रभावका कारण घर भाडामा बस्ने नगरवासीलाई पर्न गएको असरलाई मध्यनजर गरी कम्तीमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरी आर्थिक वर्ष २०७६(७७ मा बुझाउनुपर्ने घर बहाल कर चुक्ता गर्न आएमा वार्षिक बहाल करमा १० प्रतिशत छुट गर्ने भएको छ ।

त्यसैगरी बन्दाबन्दीका कारणले काठमाडौँ कामपा क्षेत्रमा व्यापार व्यवसाय गरी बस्ने करदातालाई व्यवसाय करमा ५० प्रतिशतसम्म छुट दिएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा लाग्ने व्यवसाय करमा होटल, पर्यटन तथा मनोरञ्जन क्षेत्रसँग सम्बन्धित व्यवसायीले तिर्ने व्यवसाय करमा ५० प्रतिशत र अन्य सबै व्यवसायीले तिर्ने व्यवसाय करमा २० प्रतिशत छुटको व्यवस्था गरेको हो ।

महानगरका लागि विशेष महत्व मानिने योजना कार्यालय भवनको निर्माण, भर्टिकल पार्किङ भवन निर्माण, पर्यटन पदमार्ग निर्माण, कोटेश्वर तीनकुनेमा बुद्धपार्क निर्माण, मेघा हल निर्माण, सार्वजनिक जग्गा संरक्षण, पार्क तथा हरियाली प्रवद्र्धन, नदी नियन्त्रण तथा करिडोर निर्माण, शहरी यातायात व्यवस्थापन जस्ता कार्यक्रमलाई बजेटमा प्राथमिकतामा राखिएको छ ।

समृद्धिका लागि सहकारी अभियान, एकीकृत सीप विकास कार्यक्रम, मेड इन काठमाडौँ, जीवन निर्वाहका लागि पारिश्रमिक कार्यक्रमलाई पनि बजेटमा समावेश गरिएको छ ।

सम्पदा संरक्षण र पूर्वाधारमा जोड

महानगरपालिकाले आगामी आर्थिक वर्षमा सम्पदा संरक्षण तथा सम्वद्र्धधन र पूर्वाधार विकासलाई महत्व दिइ बजेट बिनियोजन गरेको छ । गोष्ठी, तालिम, सम्मेलन र अन्य प्रशासनिक खर्चमा केही बजेट कटौती गरेको छ । –रासस