
काठमाडौं, ९ असार । डाँका मुद्दामा गृह मन्त्रालयले निलम्बनमा राखेका प्रहरी नायव उपरिक्षक (डिएसपी) कुमोद ढुंगेललाई जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा छाड्न आदेश दिएको छ ।
मुद्दा लाग्नासाथ कारबाहीका लागि प्रहरी प्रधान कार्यालयले सिफारिस गरेपछि ढुंगेल फरार थिए । अदालतको यो आदेशले उनको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको छ ।
प्रहरी महानिरिक्षक (आईजी) ठाकुर ज्ञवालीको कार्यकाल सकिनुअघि नै प्रधान कार्यालयले उनको निलम्बन फुकुवा गर्ने निर्णय गरेको उच्च स्रोतको दाबी छ । ‘अदालतले साधारण तारेखमा छाड्न भनेपछि स्वतः निलम्बन फुकुवाका लागि प्रक्रिया बढाउन कठिन हुनेछैन’, प्रधान कार्यालय स्रोतले भन्यो ।
इन्काउन्टर स्पेशियलिस्टका रुपमा परिचय स्थापित गर्न खोजे पनि ढुंगेलको सम्बन्ध शरद गौचन हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका गुन्डा नाइके समिरमानसिंह बस्नेतसँग रहेको अनुसन्धानमा खुलेपछि कारबाहीका लागि सिफारिस भएको थियो ।
तत्कालिन आईजी सर्वेन्द्र खनालले गृह मन्त्रालयलाई निलम्बनका लागि लेखेको पत्रअघि महानगरीय अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले समेत ढुंगेललाई कारबाही गर्नुपर्ने राय दिएको थियो ।
त्यसबेला महानगरीय प्रहरी कार्यालय रानीपोखरीले समेत सिफारिस गरेका आधारमा प्रहरी महानिरिक्षकको सचिवालयले गृह मन्त्रालयले ढुंगेललाई निलम्बन गरी कारबाहीका लागि बाटो खोलिदिनका निम्ति पत्राचार गरेको थियो ।
केही सातापछि नयाँ प्रहरी प्रमुखको जिम्मा लिन लागेका मध्ये शैलेश थापा यसबेला रानीपोखरी प्रहरी प्रमुख (डिआईजी)का रुपमा कार्यरत थिए ।
‘अपराधमा संलग्नता नदेखिइकन आफ्ना कर्मचारीलाई कारबाहीका लागि सिफारिस हुने कुरा अत्यन्तै दुर्लभ घटना हो’, उच्च स्रोतले भन्यो,‘अहिले प्रधान कार्यालयले गृहलाई फेरि निलम्बन फुकुवाका लागि पत्राचार गरिसकेको छ ।’
१७ वैशाख, ०७६मा प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखामा पत्राचार गरी निलम्बनका लागि सिफारिस गरेको थियो । सो सिफारिसपत्रमा निलम्बनका लागि देखिएका आपराधिक संलग्नता र अनुसन्धानका विषयमा प्रष्ट खुलाइएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाले ढुंगेलका अभियोगका विषयमा व्यापक अनुसन्धान गरी प्रमाणहरू फेला पारेको विवरण पत्रमा उल्लेख छ । तर त्यसैबेला पनि अनुसन्धानका निम्ति आपराधिक व्यक्तित्वसँग विविध प्रकारले प्रहरीको सम्पर्क हुने दाबी गरिएको थियो ।
अभियोग लागेका ढुंगेल त्यसबेला रौतहटमा कार्यरत थिए । जसमा उनलाई लगाइएको अभियोगसम्बन्धी अनुसन्धान गर्नुपर्ने कुनै पनि आधार र सम्बन्ध थिएन ।
हेर्नुहोस् कारबाहीका लागि सिफारिस गरिएको पत्र र अभियोगको विवरण













प्रतिक्रिया