
काठमाडौँ, ८ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को संक्रमणबाट हुने सम्भावित बिरामीको प्रक्षेपण गरेर उपचारको व्यवस्था गरेको छ ।
मन्त्रालयले मुलुकभर एक हजार भेन्टिलेटर र एक हजार ८०० सघन उपचार कक्ष (आईसीयू) तयारी अवस्थामा राखेको छ । मन्त्रालयका नीति तथा योजना प्रमुख डा. गुणराज लोहनीले कोभिड १९ संक्रमणबाट गम्भीर हुने दुई हजारलाई लक्षित गरेर भेन्टिलेटर र आईसीयू बनाइएको बताउनुभयो ।
‘‘अहिले संक्रमण बढदै गए २ भदौसम्म ४० हजार संक्रमित हुने र तीमध्ये पाँच प्रतिशत बिरामी गम्भीर हुँदा दुई हजार र दुई प्रतिशत भए ८०० बिरामी हुन्छन् भनेर हामीले आँकलन गरेका छौँ’’, उनले भने, ‘‘त्यही अनुसार हामीले भेन्टिलेटर र आईसीयू तयार पारेका छौँ ।’’
मन्त्रालयले प्रत्येक प्रदेशमा दुईरदुई वटा अस्पतालका दरले पाँचरपाँच वटा आईसीयू र दुईरदुई वटा भेन्टिलेटर बनाउन निर्देशन दिएको थियो ।
यसअघि मन्त्रालयले ८९० भेन्टिलेटर र एक हजार ६०० शय्या बनाएकोमा संक्रमित बढ्दै गएपछि भेन्टिलेटर र आईसीयू शय्या थप गरिएको हो ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले ९८ प्रतिशत संक्रमित कोभिड–१९ सँग सम्बन्धित कुनै लक्षण नदेखिएको बताउनुभयो । उनका अनुसार अहिले काठमाडौंमा तीन, बुटवलमा ६ र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
अहिले दैनिक तीनदेखि ४०० को दरले सङ्क्रमित देखा परेका छन् । नेपालमा पहिलोपटक चीनको वुहान शहरबाट आएका व्यक्तिमा गत ९ माघमा कोरोना भाइरस संक्रमण देखिएको थियो ।
अहिलेसम्म कूल नौ हजार २६ जनामा कोभिड १९ पुष्टि भएको छ । तीमध्ये एक हजार ७७२ जना डिस्चार्ज भएका छन् भने २३ जनाको मृत्यु भएको छ । –रासस















प्रतिक्रिया