४ कार्तिक २०८३, बुधबार

लकडाउनको समयको पनि शुल्क तिर्न विद्यालय सञ्चालकको आग्रह

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असार । निजी विद्यालय सञ्चालकहरुले लकडाउनको समयको समेत शुल्क तिर्न अभिभावकलाई आग्रह गरेका छन् ।

सरकारको निर्णय विपरित निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) ले आइतबार संयुक्त विज्ञप्तिमार्फत शुल्क बुझाउन अभिभावकलाई आग्रह गरेको हो ।

प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन प्याब्सन अध्यक्ष ऋतुराज सापकोटद्धारा जारी विज्ञप्तिमा अभिभावकलाई २०७६ सालको बाँकी रकम सम्भव भएसम्म तिर्न र २०७७ सालको विद्यालयमा बुझाउनुपर्ने रकम भुक्तानी गरेर विद्यालयहरुलाई सहयोग गर्नै आग्रह गरिएको छ ।

कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि जेठ ३२ गतेसम्म लकडाउन जारी राखेको थियो । असार १ गतेदेखि आंशिक रुपमा लकडाउन खुकुलो बनाइएको छ ।

सरकारले लकडाउनका कारण अभिभावकसँग चैत महिनाको शुल्क नलिन विद्यालय सञ्चालकहरुलाई आग्रह गरेको थियो । त्यस्तै, अनलाइन कक्षाको पनि शुल्क नलिन आग्रह गरेको थियो ।

त्यस्तै, प्याब्सन र एन प्याब्सनले अनलाइन कक्षाको समेत शुल्क लिने संकेत गरेका छन् । उनीहरुले विद्यालयमा उपस्थित भएर भर्ना गर्न पनि भनेका छन् । सामाजिक दुरी कायम राख्दै कक्षा सञ्चालन गर्ने जनाउँदै अनलाइन कक्षा तथा भर्ना शुल्क बुझाउन उनीहरुले आग्रह गरेका छन् ।