काठमाडौं, ७ असार । लकडाउनका कारण अफ्ठ्यारोमा परेका काठमाडौं गणेशस्थानका सुत्केरी र गर्भवती महिलाका लागि सहयोग गरिएको छ ।
दैनिक ज्यालादारी गरी जीवन निर्वाह गरिरहेका सुत्केरी र गर्भवती महिलालाई समाजसेवी, अधिकारकर्मी मीना शर्माले खाद्यान्नसहित सहयोग गरेकी हुन् ।
काठमाडौंको गणेशस्थानबाट भित्री टोलका बिभिन्न ठाउँमा बस्दै आएका परिवारलाई कम्तिमा पनि एक महिनालाई पुग्नेगरी चामल, दाल, तेल, नुन, च्युरा जस्ता खाद्यान्न सामग्री हस्तान्तरण गरिएको मानवअधिकार संचार प्रतिष्ठानकी अध्यक्ष मीना शर्माले जानकारी दिइन् ।
तीन जना साना छोरोछोरीकी आमा रीता लामिछाने भन्छिन, ‘मेरा साना बालबच्चालाई साँझ बिहान पेटभरि ख्वान पनि नपाउँदा दिनहुँ रुन्थे । यो सहयोगले ठूलो राहत भएको छ ।’
‘केही समयसम्म श्रीमानपनि संगै थिए । गाउँतिर जान्छु भनेर गएका फर्केर पनि आएनन उल्टै अर्की विवाह गरेर बसेका छन रे त्यो पनि ठूली छोरीलाई फोन गरेर तिम्रो आमालाई भनिदिए मैले अर्की आमा ल्याए अब त्यता आउँदिन’, लामिछानेले श्रीमानले दिएको धोकाबारे भाबुक हुँदै जानकारी गराइन् ।
एउटा दुधे बालक, अन्य दुई जना अलिक ठूला भएका छन् । यस्ता लालाबाला छोडेर गाउँ जान भनी सिन्धुपाल्चोक हिँडेका श्रीमान् भनाउदाले सिंगो परिवारलाई रुवाएको छभन्दै लामिछानेले यस्ता अपराधीलाई त कडा कारबाही गर्नुपर्ने कसले कारबाही गर्छ खै ? भनी प्रश्न गरेकी छिन् ।
चार जना परिवारकी विमला नेपाली, सानो बच्चाकी आमा प्रतिमा देवी, विमला शाही, ईन्दु नेवा, दीपा पण्डित, कुन्देवी शाही, सीता दुलाल लगायतका महिलाले सहयोग लिएपछि भन्दै थिए— काम गरेर साँझ बिहानको छाक टार्नुपर्नेका लागि त कोरोनाको महामारीका कारण लागेको लकडाउनले अस्तब्यस्त बनाएको छ । सहयोग पाएपछि सुत्केरी र गर्भवती महिलाहरूले भावक हुँदै आँशु थाम्न सकेका थिएनन् ।
साना बच्चाहरूलाई न उपयुक्त खानेकुरा न सुत्केरी भएपछि पाउनुपर्ने स्वस्थकर र पोषणयुक्त खानेकुरा केही भएन यस्तो जीवन पनि बाच्नुपर्ने तर, सानो बच्चाका लागि जसरी पनि बाच्नुपरेको छ ।
‘शनिबार भएको सहयोगले ठूलो राहत भएको छ यस्तो अबस्थामा सहयोग गर्नेहरू त सबैभन्दा ठूला भगवान हुन र ती सहयोगी हातप्रति हामी आत्मैदेखि स्यालुट गर्दछौँ’, उनीहरूले भनेका छन् ।
बरिष्ठ पत्रकार टंक पन्त, सेण्ट जेभियर्स कलेजकी छात्रा इशिका पन्त, जुजुकाजी महर्जन, बिनु खत्री र अरुणोदय आधारभूत बिद्यालयकी सहायक प्रिन्सिपल सुजाता श्रेष्ठ पाण्डेको संयोजनमा खाद्यान्न सहयोग गर्दै मानब अधिकार संचार प्रतिष्ठानकी अध्यक्ष मीना शर्माले सुत्केरी र गर्भवती महिला र बच्चाहरू जो निकै अफ्ठ्यारोमा परेका छन् उनीहरूलाई केही न केही राहत भन्ने उदेश्यले सहयोग गरिएको जानकारी गराइन् ।
रुपन्देही, थानकोट र पूर्वी तराई लगायतका अन्य ठाउँमा पुगेरै अति प्रभावितहरूलाई सहयोग प्रदान गरिएको र सहयोग गर्ने योजना भएको जानकारी पनि शर्माले गराइन् ।
‘कोरोना महामारीले गरेको लकडाउनले सबैभन्दा बढी प्रभावित अति बिपन्न परिवार त्यसमा पनि सुत्केरी र गर्भवती महिला भएका छन्’, शर्माले भनिन्, ‘कतिपय महिलाले परिवारको पीडा सहन नसकेर आत्महत्या गरेका छन् । श्रीमान र परिवारले पनि त्यत्तिकै पीडा दिएका कारण ती महिला अनेक समस्यामा परेका छन् त्यस्ता महिलाका लागि पनि सबैको सहयोग आवश्यक छ ।’











प्रतिक्रिया