काठमाडौं, ६ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता विदुरप्रसाद घिमिरेले सरकारलाई चौतर्फी रुपमा आक्रमण भइरहेको बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत उनले सरकारको बचाउ गरेका हुन् । उनले प्रधानमन्त्री केपी ओलीले धेरै राम्रा कामहरू गरेको बताए ।
कोरोना भाइरसको संक्रमण रोकथाममा सरकारको प्रयास राम्रो भएपनि नेतृत्वमा रहेका केही व्यक्तिहरूका कारण भनेअनुसारका कामहरू हुन नसकेको नेकपाका नेता घिमिरेले बताएका छन् । उनले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको विषयले नेकपाका नेता तथा कार्यकर्ताहरूलाई शिर उठाउन समस्या भएको बताए ।
युवा नेता घिमिरेले स्वास्थ्य सामग्रीका विषयमा आइरहेको जिज्ञासा र कोरोना नियन्त्रणका नाममा खर्च भएको दश अर्बका विषयमा सरकारले जनतालाई चित्त बुझ्दो जवाफ दिनुपर्ने बताएका छन् ।
पार्टी एकीकरण भएको लामो समय भइसक्दा पनि नेता तथा कार्यकर्ताहरूलाई जिम्मेवारी नदिइएको भन्दै उनले चिन्ता जनाएका छन् । उनले पार्टीमा केही अवसरवादी नेताहरू पनि रहेकाे भन्दै त्यस्तालाई नेतृत्वले चिन्नुपर्ने बताएका छन् ।
‘पार्टी एकीकरण भएको लामो समय भइसक्यो । क्षमताका आधारमा पार्टी नेतृत्वले जिम्मेवारी दिनुपर्छ’, उनले भने, ‘नेता तथा कार्यकर्तालाई जिम्मेवारी नदिने हो भने संगठन भताभुङ्ग हुने अवस्थामा पुग्छ ।’
युवा नेता घिमिरेले लकडाउनबाट समस्यामा परेको उद्योग, व्यवसायलाई उकास्ने गरी गतिविधिहरू गर्नुपर्ने भन्दै सरकारले त्यस विषयमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरेका छन् ।















प्रतिक्रिया