बुटवल, ५ असार । ज्यान मुद्धाको प्रहरीको एकतर्फी आरोपमा थुनामा राखिएका गुल्मी बीरबासका विष्णुप्रसाद कँडेललाई उच्च अदालत बुटबलले थुनामुक्त गरेको छ । जिल्ला अदालत गुल्मीले गरेको फैसला बदर गरी थुनामुक्त गर्न आदेश दिएपछि उनी सोही दिन घर फर्किएका छन् ।
अति मादक पदार्थ सेवन गरी गुल्मी दरबार भोटुकाका मोहनप्रसाद चुडाली घर फर्किने क्रममा चार महिना अगाडि भीरबाट लडेका थिए । भीरबाट लडेका चुडाली अर्को दिन बिहान मृत अबस्थामा भेटिएका थिए । भीरबाट लडेकालाई प्रहरीले जबर्जस्ती घुचेटेको आरोप लगाइ थुनामा पुरयाएको थियो ।
सो घटनामा जिल्ला अदालतले अन्य ५ जनालाई छोडेर विष्णु कँडेललाई मात्र थुनामा राख्ने आदेश गरेको थियो । जिल्ला अदालतको आदेशलाई उच्च अदालतले बदर मात्र गरेनकि मोहनप्रसाद चुडाली भीरबाट लडेको तर, घुचेटेको भनी प्रहरी र जिल्लाको सरकारी वकिलको कार्यालयले लगाएको एकतर्फी दाबीसहितको आरोपलाई पनि उच्च अदालतले बास्तविकता नभएको संकेत गरेको छ ।
उच्च अदालतका मुख्य न्यायाधीश बाबुराम रेग्मी र सोही अदालतकै बरिष्ठ न्यायाधीश नारायण पोख्रेलको संयुक्त इजलाशले ‘मोहनप्रसाद चुडाली भीरबाट लडेको भन्ने कुरामा बिबाद देखिएन’ भनेको छ । विष्णुप्रसाद कडेलले अनुसन्धान अधिकारी र अदालत समक्ष बयान गर्दा समेत मृतकलाई आफूले भीरबाट धकेलेको होइन भनी आरोपित कसुरमा इन्कार गरेको भन्दै संयुक्त इजलाशले अनुसन्धान अधिकारीले जबर्जस्ती आफै कँडेलले धकेलेको भनी आरोप लगाएको कुरालाई पनि अदालतले देख्ने वा कोही पनि चश्मदित गवाह भएको देखिएन भनेको छ ।
भीरबाट लडेका चुडालीलाई पहिलोपटक देख्ने र सोही दिन गाडी चलाएर गएका सागर सोमैले भीरबाट लडेकालाई घिसारेर गाडी अगाडि बढाएका थिए । त्यो कुरा अदालत समक्ष पनि उनले स्वीकार गरेका थिए । प्रहरी र सरकारी वकिलले उनलाई कुनै दोष नदेखाउने ठूलो प्रयत्न गरेको र जिल्ला अदालतले पनि बिना धरोटी रिहा गरेको थियो ।
जिल्ला अदालतको सो आदेशलाई पनि बदर गरी उच्च अदालतले पहिलो पटक देखेर पनि कसैलाई खबर नगरेका, लडेका चुडालीलाई सारेर आफ्नो घरतर्फ लागेका सागर सोमैलाई पनि धरौटी लिन आदेश गरेको छ ।
हिरासतमा राखिएका समयमा त्यतिखेरका गुल्मी जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र खडकाको नेतृत्वमा इन्स्पेक्टर चुडामणि पुनले अनुसन्धानका नाममा विष्णुप्रसाद कँडेललाई चरम यातना दिएको खुल्न आएपछि राष्ट्रिय मानवअधिकार आयोगले स्पष्टीकरण सोधीसकेको छ ।
चुडाली मृत अबस्थामा भेटिएपछि अघिल्लो दिन साँझ एकै छिन भेट भएका विष्णु कँडेल समेत ६ जनालाई प्रहरीले थुनामा राखेको थियो । थुनामा राखेका मध्ये कँडेलाई मात्र दोषी साबित गराउन इन्स्पेक्टर पुनले दैनिक मुखमा बुटले हान्ने, लाठी र लात्तीले हान्ने, उत्तानो बनाएर ढाड, टाउको, खुट्टामा ठटाउने, लतार्ने जस्ता अनेक खाले यातना दिएको बिबरण कानून ब्यबसायी र जिल्ला अदालत समक्ष कँडेलले बताएका थिए ।
थुनछेकका लागि अदालतमा लैजादा प्रहरीले कुटपिट गरेको कुरा बताइस भने तेरो छोरा, तेरो श्रीमती समेतलाई प्रहरी खोरमा ल्याएर तलाई जस्तै बनाइदिन्छु भन्ने जस्ता धम्की पनि प्रहरीले दिने गरेको थियो ।
सबैभन्दा पहिले चुडाली लडेको अबस्थामा देख्ने सागरले कसैलाई खबर पनि गरेनन् । आफूले उद्धार पनि गरेनन् । स्थानीय भन्छन्, ‘लडिरहेका चुडालीलाई सारेर गाडी हिडाउने सागर सोमैको लाइसेन्स पनि थिएन । त्यो कुरा प्रहरीले अनुसन्धान गर्दा पूर्णत बेवाास्ता गर्नु र विष्णु कँडेललाई चरम यातना दिएर मैले नै धकेलेको हुँ भन्ने बनाउन प्रहरी जसरी लाग्यो त्यो आफैमा आपत्तिजनक मात्र होइन सागरले प्रहरीलाई खुशी बनाउन कुनै कसर बाँकी राखेन ।’
मृतक मोहन चुडालीका भाउजु पर्ने शान्ता चुडालीले नेपालगञ्जका न्यायाधीश आफ्नो अंकल भएको र कपिलवस्तुका एकजना न्यायाधीश पनि नातेदार भएकोले उनीहरूमार्फत गुल्मी जिल्ला अदालतमा कुरा गरेको भन्दै हिडेको स्थानीयले बताएका थिए ।
गुल्मी जिल्लाका श्रेष्तेदार र कपिलवस्तुका न्यायाधीश कलासमेट भएकोले श्रेष्तेदारलाई भन्न लगाएकै कारण गुल्मी जिल्ला अदालतले सबैलाई छोडी विष्णु कँडेललाई थुनेको कुरा शान्ता पौडेलले गाउँमा भन्दै आएको स्थानीयले बताएका छन् ।
अहिले उच्च अदालतले विष्णु कँडेललाई न्याय दिएपछि विष्णुलाई थुन्नै पर्छ भनी जिल्ला सरकारी कार्यालयदेखि प्रहरीलाई राम्रैसंग खुशी पारेकाहरू आक्रोशित भएका छन् । आम गुल्मेलीहरू भने प्रतिष्ठित ब्यापारी एवं समाजसेबी विष्णु कँडेललाई अनाहकमा फसाउने प्रपञ्च केही व्याक्तिहरूले आफ्नो स्वार्थका लागि गरेको बताएका छन् ।
विष्णुको पसलबाट समान लगेर पैसा नतिरहेकाहरू उनलाई थुनामै राख्न सकेमा पैसा तिर्न पर्दैनथ्यो भन्ने सोचाइँमा थिए । उनीहरूको योजना सफल नहुने निश्चित भएको छ । किनकि सबैभन्दा पहिले मोहन चुडालीलाई देख्ने सागर सोमै र उनकै गाडीले छोएर कपडामा टायरको डाम समेत देखिएकोले प्रमुख दोषी सोमै हुन सक्ने जिल्लाका अधिकारीहरू समेत बताउँछन् ।











प्रतिक्रिया