लण्डन, ३ असार । बार्यन म्युनिखले लगातार आठौँ सिजन जर्मन बुण्डेस लिगा फुटबलको उपाधि जितेको छ ।
लिग अन्तर्गत आइतबार राति भएको खेलमा वेर्डर ब्रेमेनलाई १–० ले पराजित गरेसँगै बार्यनले यो सिजनको उपाधि पक्का गरेको हो ।
अवे मैदानमा भएको खेलमा बार्यनका लागि ४३ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गरेको गोल नै सिजनको उपाधि दिलाउनका लागि निर्णायक बन्यो ।
लेवान्डोस्कीले यो सिजन लिगनमा अहिलेसम्म ३१ गोल गरिसकेका छन् । यो खेलमा बार्यनका अल्फोनसो डेविस ७९ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।
बुण्डेस लिगामा लगातार ११ औँ जित निकालेको बार्यन लिगका तीन खेल बाँकी हुँदा दोस्रो स्थानको बोरुसिया डर्टमुण्ड भन्दा १० अंकले अघि रहेर उपाधि पक्का गरेको हो । बार्यनको ३२ खेलबाट ७६ तथा डर्टमुण्डको ३१ खेलबाट ६६ अंक भएको छ ।















प्रतिक्रिया