
काठमाडौं, २७ जेठ । मंगलबारदेखि लक डाउन कडा बनाउने नाममा काठमाडौं प्रहरीले न्युरोडलगायतका क्षेत्रका व्यापारीको सटर बन्द गरायो ।
प्रहरीको हस्तक्षेप बढेपछि भद्रता र सामाजिक दूरी कायम गरी ११ बजेसम्म पसल खोल्न थालेका व्यापारी मर्कामा परे । प्रहरीसँग मुठभेड र घम्साघम्सीको पनि अवस्था बनेको थियो ।
लक डाउन लामो समय भएपछि व्यापारीले एकतर्फी निर्णय गर्दै पसल खोलेका थिए । तर, प्रहरीले सरकारले पसल खोल्न आदेश नदिएको भन्दै हस्तक्षेप बढाएको थियो ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले पसल खोल्न अवरोध नगर्ने निर्णय गरेका थिए । प्रशासनले प्रहरीलाई पनि यसमा हस्तक्षेप नगर्न भनेको थियो तर त्यसको लिखित पत्रचाहिँ नदिएको अधिकारीहरू बताउँछन् ।
‘अनौपचारिक भए पनि व्यवाहारिक हिसाबले दिइएको आदेशलाई प्रहरीले अटेर गर्न पाउँदैन, सरकारले खास निर्णय गर्नेछ । तर, प्रशासनिक क्षेत्रमा जिल्ला प्रशासन कार्यालयको औपचारिक या अनौपचारिक आदेश प्रहरीले मान्नुपर्छ’, काठमाडौं प्रशासनका एक अधिकारी भन्छन् ।
सरकारले लकडाउनको मोडालिटीमा कुनै परिवर्तन नगरेको बताउँदै प्रहरीले लकडाउन कार्यान्वयनमा गरेको दाबी गरेको छ । प्रहरीले औपचारिक जानकारी आदेश आएको खण्डमा मात्र हस्तक्षेप रोकिने जनाउँदै आएको छ ।
तर, कतिपय व्यापारीले प्रहरीले मनपरी हिसाबले दादागिरी गरेको आरोप लगाएका मात्र छैनन्, प्रहरीमाथि जाई पनि लागेका छन् ।
कोरोना भाइरसको संक्रमण रोकथामका लागि उपत्यकालगायत देशैभरी सरकारले लक डाउन जारी राखेको छ । त्यसका लागि बनेको उच्चस्तरीय समितिले लक डाउनका सन्दर्भमा ठोस निर्णय गर्न नसक्दा व्यापारी एकतर्फी रुपमा पसल खुलाउन लागि परेका थिए ।
‘सर्वसाधारणको व्यवाहारिक पक्षलाई ध्यान दिन आवश्यक छ । प्रशासनको एकथरी कुरा, प्रहरीको अर्काथरी र सरकार मौन रहँदा स्थिति भयावह हुनसक्छ’, सरोकारवालाहरू भन्छन्,‘यसको समाधान चाँडो निस्कनुपर्छ ।’











प्रतिक्रिया