
इटहरी, २५ जेठ । ‘राजसंस्था जिन्दावाद’को नारा लगाउँदै शिव सेना नेपाल सुनसरी जिल्ला समितिले इटहरी उपमहानगरपालिकामा शनिबार साँझ राँके जुलुस निकालेको छ ।
पाल्पा, रुपन्देही, नवलपरासीमा जुलुस निकालिसकेको शिव सेनाले मुलुकमा अभिभावक संस्थालाई विदेशी इशाराका आधारमा हटाएको भन्दै जुलुस निकालेको थियो ।
हिन्दू राज्य र अखण्ड नेपालको रक्षा राजसंस्थाबाट मात्र सम्भव भएको भन्दै सुनसरी अध्यक्ष हिरा आचार्य, युवा नेता सुरज कँडेललगायतले नेतृत्व गरेको जुलुस निकालिएको थियो ।
राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरे पनि कुनै प्रकारको धरपकडचाहिँ भएको थिएन । ‘अब जिल्ला जिल्लामा साथीहरूले नेपालको मौलिक राजनीति र सम्मानको विषयलाई अगाडि बढाएका छन्’, शिव सेना अध्यक्ष अनिल बस्नेत भन्छन्,‘गणतन्त्रका नाममा जसरी जनतालाई धोका दिइयो, अब त्यसको जवाफ जनताले माग्न थालिसकेका छन् ।’
जुलुसमा राजतन्त्र र हिन्दूत्वको पक्षधरताहरूको सहभागीता रहेको थियो । ‘धर्म बेच्ने काम गर्नेहरू नै अहिले भ्रष्टाचारमा चुर्लुम्म डुबेको र जनतालाई प्रति व्यक्ति ४० हजार भन्दा बढी ऋण बनाउने काम गरेका छन्, यो सहन सकिने अवस्था हो ?’, बस्नेत प्रश्न गर्छन्,‘सतहमा आएका अहिलेका नेता र राष्ट्राध्यक्षको मनोपोलीको विषयलाई अब नजरअन्दाज गर्न सकिएला ?’
शिव सेना नेपालका विभिन्न समितिले अन्य जिल्लामा पनि प्रदर्शनको तयारी गरेका छन् । खासगरी नेपालको सार्वभौमसत्तामा हस्तक्षेप बढेपछि सीमालगायतका भूमी रक्षा, गलत राजनीतिक व्यवाहार र प्रणालीको विरोधमा शिव सेना सडकमा उत्रिएको बस्नेतले बताए ।











प्रतिक्रिया