
काठमाडौं, २१ जेठ । करिब एक महिनापछि नेपाल प्रहरी महानिरिक्षक (आईजी) ठाकुरप्रसाद ज्ञवालीले ३० बर्षको जागिरे जीवनबाट नियमित पार पाउँदैछन् । चार महिनाअघि विवादरहित भएर प्रहरी प्रमुखको जिम्मेवारी पाएपछि गृहमन्त्री रामबहादुर थापा बादलले उनलाई भनेका थिए– ५ महिना भनेको ५ बर्षमा गर्न सक्ने स्मरणीय काम गर्न सकिन्छ ।
तर, आईजी ज्ञवालीले स्मरणयोग्य त्यस्तो केही पनि गर्न सकेका छैनन् । आईजी हुनासाथ सचिवालयमा सरुवा गरिएका कतिपय प्रहरी उपरिक्ष (एसपी)का नीहित स्वार्थ र सल्लाहको ‘कठपुतली’ हुनबाट जोगिन सकेनन् । त्यसैले बितेका चार महिनामा उनको महत्वपूर्ण काम भनेको नियमित प्रक्रियामा हुने ‘सरुवा, बढुवा’ बन्यो ।
प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार आईजी ज्ञवालीले पाएका समयमा अपराधका विविध अनुसन्धानका फाइल खोल्न सक्ने थिए तर त्यसमा चासो दिएनन् । स्रोतले भन्यो,‘सचिवालयमा रहेका केही विवादीत व्यक्तिको राय र सुझावका आधारमा बढुवा र सरुवामा मातहतका कर्मचारीलाई चलाउने काम मात्र भयो ।’
त्यसो त आईजी नियुक्ति भएका केही दिनसम्म अन्तरवार्ता दिनका लागि नै सक्रिय भएका उनले भनेका थिए,‘निर्मला पन्त बलात्कार र हत्या प्रकरणदेखि अनेक आपराधिक गतिविधिमा सफलता प्राप्त गर्न सकिन्छ, त्यसका लागि सक्रिय हुनेछु ।’
तर पन्त प्रकरण त परै जाओस् साधारण अपराधका घटनाको फलोअप अप्रेशनमा पनि उनले चासो देखाएनन् । बरु, अफताब आलम प्रकरणमा प्रदेश २ का प्रहरी प्रमुख नायव महानिरिक्षक (डिआईजी) धीरजप्रताप सिंहले गरेको फलोअप अप्रेशनमा स्पष्टिकरण सोधिएको भन्ने हल्ला चलाए ।
‘घटनाका विषयमा साधारण जानकारी लिने दिने काम हुन्छ । मौखिक कुराकानी स्वभाविक हुन्छ । तर, स्पष्टिकरण लिएको भन्नेचाहिँ गलत कुरा हो’, उच्च स्रोतले भन्यो,‘यो सबै हल्ला चलाउने आईजी सापका सचिवालयका अधिकारीको काम थियो, यसमा उहाँले स्पष्टिकरण पनि सोध्नु भएन ।’
संगठनमा डिआईजीको जिम्मेवारीसम्म पाउँदा शालिनता र भद्रताको उपमा पाएका ज्ञवाली आईजी हुनासाथ व्यावसायीक लिकबाट उत्रिन खोजेको आरोप लागेको छ ।
‘प्रहरी प्रमुखको जिम्मेवारी एक दिनका लागि पनि महत्वको हुन्छ । धेरै काम गर्न सकिन्छ । संगठनलाई व्यावसायीक हिसाबले चलाउनका लागि नियमित काम होइन, प्रभावकारी उपलव्धी देखाउन सक्नुपर्छ । त्यो दिशामा काम हुन सकेको पाइएन’, एक पूर्व प्रहरी अधिकारी भन्छन्,‘आईजी ज्ञवालीका लागि काम गर्न सक्ने उत्तम अधिकारीहरूको नेतृत्व र जिम्मेवारी रहेका विभाग छन् । तर, कुनैमा पनि काम हुन सकेको छैन ।’
न प्रतिबन्धितप्रति कडा मिजासमा प्रस्तुत हुने र तथ्यांक स्थापित हुने काम भए, न आर्थिक, सामाजिक अपराधका क्षेत्रमा उल्लेख्य काममा ज्ञवालीको सक्रियता बलियो देखियो । ‘धेरै कामका लागि कोरोना भाइरस र लक डाउनको समयले पनि अवरोध गरेको मान्न सकिन्छ । तर, यसलाई कारण देखाएर काम गर्न सकिएन भन्नु उचित हुँदैन’, उच्च स्रोतले भन्यो ।
सचिवालयमा विवादीत एसपीहरूलाई सक्रिय बनाउँदा प्रभावकारी काम गर्न सक्नेले मौका पाएनन् । जसको हेक्का आईजी ज्ञवालीले राख्न नसक्दा उनको कार्यकाल निरश र निरर्थककै अवस्थामा सकिने जस्तो देखिएको कतिपयको विश्लेषण छ ।
‘प्रहरी प्रमुखलाई सफल बनाउनका निम्ति उनको सचिवालयले घटना, अपराधका विषय र अनुसन्धानका उपायका बारेमा जानकारी गराउन सक्छन् । त्यसमा चासो लिएर काम अघि बढाउने हो, सचिवालयले नै सफल र असफल बनाउने हो’, एक पूर्वअधिकारी भन्छन्,‘मलाई लाग्छ आईजी ज्ञवालीको सचिवालयले त्यतातिर ध्यान दिएन, आफ्नो नीहित स्वार्थ र संगठनभित्रको प्रतिशोधमा नै उनलाई चलाउने प्रयत्न गर्यो ।’
कोरोना महामारीको प्रभाव अझ तिव्रताका साथ बढिरहेको अवस्थामा आईजी ज्ञवालीका लागि काम गर्ने थोरै मात्र समय छ । नियमित प्रक्रिया अन्तर्गत नै २४ असारमा उनी घर जान्छन् । यस अवधिमा महत्वपूर्ण काम गर्न नसके उनको नाम र तस्बिर पूर्वआईजीका रुपमा प्रधान कार्यालयमा झुन्डिनुबाहेक केही नहुने प्रष्ट देखिन्छ ।











प्रतिक्रिया