सोमबार, १५ असार २०७७
DainikNepal.com
सोमबार, १५ असार २०७७

कोरोना भाइरस नेपाल: साबुनको साटो खरानी, माटो वा रिठ्ठाले हात धोएर सङ्क्रमण रोकिन्छ कि रोकिदैँन?

दैनिक नेपाल २०७७ जेठ २० गते १०:०३

काठमाडौं, २० जेठ । कोरोनाभाइरस महामारी फैलिएपछि विश्वभरि नै सामाजिक दूरी कायम गर्दै व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ भन्ने मान्यता स्थापित हुन पुगेको छ।

नेपालमा पनि कोरोनाभाइरसबाट सङ्क्रमित हुने र कोभिड-१९ बाट मृत्यु हुनेहरूको सङ्ख्या बढिरहेको छ।

यस्तो अवस्थामा सङ्क्रमणबाट जोगिनका लागि व्यक्तिगत सरसफाइ कायम गर्दै सामाजिक दूरी कामय गर्न चिकित्सकहरूले सुझाव दिने गरेका छन्।

बेलाबेलामा साबुन पानीले हात धुनुलाई सङ्क्रमणबाट बच्ने एउटा महत्त्वपूर्ण उपायका रूपमा प्रचार गरिएको छ।

तर नेपालका कतिपय ग्रामिण भेगमा बसोबास गर्ने नागरिकहरूले सहजै साबुन नपाउने तथा कतिपयल विपन्न परिवारसँग साबुन किन्ने रकम समेत अभाव हुने गरेको छ।

त्यस्तो परिवारका सदस्यहरूले अहिले पनि हात धुन तथा भाडा माझ्नका लागि साबुनपानीको साटो खरानी पानी प्रयोग गर्ने गरेका छन्।

कतिले नुहाउन र लुगा धुन रिठ्ठोको प्रयोग गर्नुका साथै हात धुन र भाडा माझ्न माटोको प्रयोग समेत गर्ने गर्छन्।

चलन

कतिपय परिवारले भने परम्पराकै रूपमा खरानी र माटोको प्रयोग गरेर सरसफाइ गर्ने गरेको बताएका छन्।

त्यस्तैमध्येकी एक पर्साकी रन्जु चौधरी भन्छिन्, “हामीले परापूर्व कालदेखि नै खरानी र माटो प्रयोग गर्दै आएका हौँ। अहिले पनि साबुन पाइएन भने खरानी र माटो नै प्रयोग गर्छौ।” बाराका सुनिल यादवले आफ्नो गाउँमा हात धुनका लागि पनि खरानी वा माटोको प्रयोग हुने बताए।

उनले भने, “गाउँमा कुनै पनि काम गरेर आएपछि खरानी र पहेँलो माटोले नै हात धुने चलन छ। साबुनबाट गन्ध आउँछ तर खरानी र माटो प्राकृतिक अनि शुद्ध हुन्छ भन्ने मान्यता छ।”

सहरी क्षेत्रमा भने मानिसहरूले साबुन पानी नै प्रयोग गर्ने गरेका छन्।

वीरगञ्जकी एकजना गृहणी बबिता देवीले कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन अहिले छिनछिनमा हात धुने गरेको बताइन्।

उनले भनिन्, “केही छोएपछि वा एकाध घण्टामा पटकपटक हात धुने गरिन्छ। साबुन पानी वा ह्यान्ड वासले हात धुने र स्यानिटाइजर प्रयोग गर्न सकिन्छ।”

उनी आफूलाई कसरी हात धुने भन्ने पनि जानकारी भएको बताउँछिन्।

तर तराईका धेरैजसो ग्रामिण भेगमा अझै पनि हात धुनका लागि खरानी वा माटोको प्रयोग हुने गर्छ।

त्यसमा क्रमश: परिवर्तन आउँदै गएको जानकारहरू बताउँछन्।

आर्थिक समस्या

ग्रामिण भेगका मानिसहरूलाई हात धुने प्रशिक्षण दिँदै आएका नेपाल रेडक्रस सोसाइटी पर्साका उमेश मिश्रा भन्छन्, “कोरोनाभाईरसको सङ्क्रमणबाट जोगिन खासगरी हात नै सफा राख्नुपर्ने भए पनि तराईको ग्रामीण भेगमा जाँदा साबुन किन्ने पैसा कहाँबाट आउँछ? भन्ने प्रश्न गरिन्छ।”

“उनीहरू माटो र खरानीले नै धुन्छौ भन्छन्। तर हामी चाहिँ जस्तोसुकै आर्थिक अवस्था कमजोर भए पनि कपडा धुने साबुन प्रायको घरमा हुने गरेको कारण त्यसैलाई प्रयोग गर्न सकिन्छ भनेर सिकाउँछौँ।”

उनका अनुसार गाउँलेहरूलाई विभिन्न ६ वटा चरणमा हात कसरी धुने भन्ने सिकाइन्छ।

हातका सबै औला, हत्केला, काँप र नाडीसम्म राम्ररी मिचेर धुन र हात नसुकेसम्म माथि पारेर राख्न सिकाउने गरेको उनले जानकारी दिए।

खाना खानुअघि, खाना पकाएपछि, कुनै किसिमको फोहोर छोएपछि, बच्चालाई ख्वाउनु अघि, शौचालय गएर आएपछि र अहिले केही घण्टाको अन्तरालमा साबुन पानीले हात धुनुपर्ने उनको भनाइ छ।

खरानी वा माटोभन्दा साबुन उपयुक्त

कोरोनाभाइरसबाट बच्नका लागि खरानी वा माटोले मात्रै हात धोएर नहुने स्वास्थ्यकर्मीहरू बताउँछन्।

त्यसले हात पूर्णरूपमा सफा नहुने र शरीरमा अन्य समस्या समेत निम्तिन सक्ने उनीहरूको तर्क छ।

एकजना स्वास्थ्यकर्मी अनिषकान्त कुश्वाहाले खरानी पानीले हात धोएर कोरोनाभाइरसबाट बच्च नसकिने बताए।

उनले साबुन पानीले हात धोए मात्र सङ्क्रमणबाट बच्न सकिने भएकाले त्यसै गर्नुपर्ने सुझाव दिए।

नारायणी अस्पतालका एकजना चिकित्सक डा. उदयनारायण सिंह चाहिँ समाजमा “हातमा पानी हालेर भिजाएपछि नै हात धोएको भन्ने मान्यता रहँदै आएको” बताउँछन्।

तर त्यसरी पानीले हात भिजाउँदैमा सफा नहुने उनले जानकारी दिए।

सिंहले भने, “ साबुन पानीले राम्ररी कमसेकम २० देखि ३० सेकेन्डसम्म हातको सबै भागलाई धोएर सङ्क्रमणविहीन र जीवाणुरहित बनाउनुलाई हात धुने भनिन्छ। जति पटक जोखिमपूर्ण काम गरिन्छ त्यति नै पटक हात धुनुपर्छ।”

“हात धोएपछि हातलाई रुमालले नपुछि माथि तिर फर्काएर सुकाउनुपर्छ। किटाणु मार्नका लागि स्यानिटाइजरको प्रयोग गरिए पनि साबुन पानी नै सबैभन्दा उपयुतक्त हुन्छ।”

उनले घरमा धेरैजनाले एउटै शौचालय प्रयोग गर्ने गरेको भए हरेक पटक शौचालय गएपछि साबुन पानीले मिचेर हात धुनुपर्ने सुझाव दिए।

उनले साबुन पानी उपलब्ध नभएको स्थानमा विकल्पको रूपमा खरानी प्रयोग गर्न सकिने तर त्यसलै सङ्क्रमण पूर्णरूपमा रोक्न मद्दत नगर्ने बताए।

उनले केही नहुनुभन्दा खरानी पानी उपयुक्त हुने जानकारी दिए।

तर माटो र रिठ्ठाको बोक्राले हात धोएर खासै अर्थ नहुने उनको भनाइ छ। बीबीसी

प्रतिक्रिया
सम्बन्धित