बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

उच्चस्तरीय समन्वय समिति बैठक आज, लकडाउन अझ खुकुलो बनाउने निर्णय गर्न सक्ने

दैनिक नेपाल २०७७ जेठ २० गते ९:१५

काठमाडौं, २० जेठ । सरकारले स्थान र जोखिमको अवस्था हेरेर लकडाउनलाई केही खुकुलो बनाउने तयारी गरेको छ ।

निरन्तर एकै प्रकृतिको लकडाउन कायम राखिएपछि चौतर्फी दबाब परेपछि मोडालिटीमा परिवर्तन गर्न खोजेको हो ।

मन्त्रिपरिषद्ले जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने निर्णय गरेसँगै यो अवधिमा नयाँ ढाँचा तयार गर्न कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको थियो ।

त्यही निर्देशनअनुसार समिति र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले नयाँ ढाँचा प्रस्ताव गर्ने तयारीमा जुटेको छ । समितिको बैठक मंगलबारका लागि बोलाइएको छ । २१ जेठबाट नै लकडाउनको ढाँचामा केही परिवर्तन हुने अनुमान गरिएको छ ।

यसअघि खाद्यान्न, कृषि, निर्माणलगायत अत्यावश्यक गरी झन्डै ४० प्रकारका सेवासँग सम्बन्धित कलकारखानामा सामाजिक दूरी र स्वास्थ्य सावधानी अपनाएर काम गर्न सक्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको छ ।

अब उत्पादनमूलक र सेवामूलक क्षेत्र छुट्याएर कुनलाई कसरी सञ्चालन गर्ने भन्ने ढाँचा तयार गरी आजे सरकारलाई प्रस्ताव गरिने तयारी छ । संक्रमितहरूको अवस्था, त्यहाँको जनसंख्या, स्वास्थ्य उपचारको सम्भावित उपलब्धता हेरेर ठाउँ विशेषमा लकडाउनको ढाँचा परिवर्तन गर्ने तयारी भइरहेको छ  ।

हाल कम जोखिम देखिएका हिमाली, पहाडी जिल्ला र काठमाडौं उपत्यकालगायतमा आवागमन खुकुलो बनाइने सम्भावना छ । बढी जमघट हुने स्थानबाहेक अन्य क्षेत्रमा खुकुलो हुने, सार्वजनिक यातायात तत्काल खुला नभए पनि केही स्थिति आकलन गरी आन्तरिक हवाई उडान खुलाउने विषयमा आन्तरिक छलफल भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित