७ मंसिर २०८३, सोमबार

बाँकेको सवारी दुर्घटनामा मृत्यु हुनेहरू दाङ, सुर्खेत, सल्यान र रोल्पाका वासिन्दा

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगन्ज, १९ जेठ । बाँके जिल्लाको अगैयामा भएको सवारी दुर्घटनामा मृत्यु भएका १२ जनाको दाङ, सुर्खेत, सल्यान र रोल्पाका वासिन्दा भएको खुलेको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा दाङका २ , सुर्खेतका ३, रोल्पाका १ र सल्यानका ६ जना रहेकाे प्रहरीले जनाएकाे छ । मृतकमध्ये चालक सुर्खेतका हुन् ।

नेपालगन्जबाट दाङ हुँदै सल्यानतर्फ गुडेको फोर्स गाडी रोकिराखेको ट्रकमा गएराति सवा १२ बजे ठोक्किदां १२ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा चालकसहित भारतबाट घर फर्किरहेकाहरू हुन् ।

नेपालगन्जस्थित भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले थप एकजना पुरुषको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार ११ जनाको अस्पताल ल्याउनु भन्दा पहिला नै मृत्यु भइसकेको थियो भने एकजनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा ११ पुरूष र १ महिला रहेका छन् ।

डा. थापाले अझैं चार जनाको अवस्था गम्भीर रहेको बताए । तीन जनाको अवस्था सामान्य रहेको र अन्य १४ को अवस्था मध्यम रहेको उनले बताएका छन् । मृतक र घाइते सबैलाई भेरी अस्पतलामा राखिएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकको अगैयामा विग्रिएर रोकी राखेको ना ५ ख ५९९५ नम्बरको ट्रकमा नेपालगन्जबाट दाङ हुँदै सल्यानतर्फ जाँदै गरेको बा ४ ख ९०६४ नम्बरको फोर्स गाडीले पछाडिबाट ठक्कर दिदा उक्त दुर्घटना भएको थियाे ।