शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

भाजपा, कंग्रेस नेता र केन्द्रीय मन्त्री नरम, सुरक्षा र कूटनीतिक निकाय गरम

दैनिक नेपाल २०७७ जेठ १९ गते ६:५२

काठमाडाैं, १९ जेठ । नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा जारी गरेको घटनालाई भारतको राजनीतिक, कूटनीतिक र रणनीतिक समुदायले फरक–फरक प्रतिक्रिया जनाएका छन् ।

भारतीय जनता पार्टी र भारतीय राष्ट्रिय कंग्रेसका नेता, अहिलेका मन्त्रीले नेपालप्रति नरम प्रतिक्रिया जनाएका छन् । तर, भारतीय विदेश मन्त्रालय, सेनासहितका रणनीतिक समुदाय र कूटनीतिक निकायका प्रतिक्रिया भने नकारात्मक छन् । यद्यपि वार्ताबाट समस्याको समाधान हुनुपर्नेमा भने सबैको एकमत छ ।

भारतीय जनता पार्टीका पूर्वअध्यक्ष एवं रक्षामन्त्री राजनाथ सिंहले लिपुलेकका सम्बन्धमा नेपालसँग छलफल गरेर समस्या समाधान गर्ने बताएका छन् । शनिबार भारतीय टेलिभिजन आजतक र एबिपी न्युजलाई दिएको अन्तर्वार्तामा सिंहले नेपालले नयाँ नक्सा जारी गरेको घटनालाई सामान्य रूपमा व्याख्या गरे ।

‘लिपुलेकबारे नेपालमा देखिएको परिस्थितिबारे म जानकार छु । परिस्थिति हाम्रो नियन्त्रणमा छ,’ आजतकलाई दिएको अन्तर्वार्तामा सिंहले भनेका छन्, ‘हाम्रो नातेदार मात्र नभएर पारिवारिक सम्बन्ध भएको भाइ मुलुक नेपालसँग बसेर समस्याको समाधान गर्छौँ । नेपालसित समस्या छैन ।’

रक्षामन्त्री सिंहले २६ वैशाखमा भारतको पिथौरागढदेखि लिपुलेक पास जोड्ने ८० किलोमिटर सडकखण्डको उद्घाटन गरेपछि नेपालले कडा प्रतिक्रिया जनाउँदै नयाँ नक्सा जारी गरेको छ । भारतीय रक्षामन्त्री सिंहले नेपालसँग पारिवारिक सम्बन्ध रहेको र परिस्थिति भारतको नियन्त्रणमै रहेको जिकिर गरे ।

एबिपी न्युजलाई दिएको अन्तर्वार्तामा पनि सिंहले नेपालमा गलत भावना पैदा भएको, तर नेपालसँग छलफलमार्फत समस्या समाधान गर्ने बताए । ‘कहीँ गलत भावना पैदा भयो भने नेपालसँग छलफल गर्छौँ । नेपालसँग केही फरक मत छ भने बसेर समाधान गर्छौँ । यो ठूलो कुरा होइन,’ रक्षामन्त्री सिंहले भने ।

नेपाललाई चीनले सहयोग गरिरहेको भन्ने पत्रकारको प्रश्नमा रक्षामन्त्री सिंहले भने, ‘नेपाललाई कसले हावा दिइरहेको छ भनेर म कसैलाई लाञ्छित गर्न चाहन्नँ । नेपालसँग बसेर छलफलमार्फत समस्या समाधान गर्छौँ ।’

भारतका स्थल सेनाध्यक्ष मणिमुकुन्द नरभणेले भने नेपालले अर्को देशको उक्साहटमा नयाँ नक्सा जारी गरेको प्रतिक्रिया दिएकोमा सेनाको राजनीतिक नेतृत्व गर्ने रक्षामन्त्रीको नरम धारणा आएको छ ।

भारतीय सेनाका स्थल सेनाध्यक्ष नरभणेले गत २ जेठमा मनोहर पारिकर इन्स्टिच्युट अफ डिफेन्स स्टडिज एन्ड एनालाइसिसको सेमिनारमा नेपालले अरू कसैको उक्साहटमा भारतविरोधी सेन्टिमेन्ट पैदा गरेको आरोप लगाएका थिए । त्यसको भारतभित्रै चर्को आलोचना हुँदै आएको छ ।

जयन्तप्रसाददेखि पूर्वलेफ्टिनेन्ट जनरल डिएस हुडाले सेनापतिको अभिव्यक्ति अशोभनीय भएको टिप्पणी गर्दै आएका छन् । द प्रिन्टलाई एक साताअघि दिएको भिडियो अन्तर्वार्तामा जनरल हुडाले भनेका छन्, ‘कूटनीतिक निकायहरूले सम्हाल्नुपर्ने मामिलामा सेनाध्यक्षले विरोधाभासपूर्ण अभिव्यक्ति दिनु शोभनीय हुँदैनथ्यो । यो मामिला कूटनीतिज्ञहरूलाई नै छाडिदिनुपर्छ ।’

भारतीय राष्ट्रिय कंग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले १३ जेठमा आयोजित पत्रकार सम्मेलनमा नेपालसँग सीमा विवादबारे जानकारी नदिएको भन्दै भारत सरकारको आलोचना गरेका थिए ।

गान्धीले नेपाल र चीनसँग सीमा विवादका कारण र सरकारले कसरी परिस्थिति सम्हालिरहेको छ भन्नेबारे सरकार अपारदर्शी भएको आरोप लगाए । उनको भनाइ थियो, ‘नेपालसँग सीमाको इस्यु छ । यसमा के हुँदै छ, कसरी हुँदै छ भन्ने विस्तृत जानकारी पारदर्शी रूपमा सरकारले देशलाई दिनुपर्छ । यसबारे कोही पनि स्पष्ट छैन । नेपालमा के भयो, कुन प्रकारले भयो, कसरी भयो ?’

भाजपाका वरिष्ठ नेता डा.सुब्रमण्यम स्वामीले शुक्रबार भारतीय कूटनीतिज्ञले नेपाली समकक्षीहरूसँग राम्रो भाषा प्रयोग नगरेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानाकर्षण गराएका थिए । स्वामीले शुक्रबार ट्विट गर्दै नेपाली समकक्षीहरूसँग विनम्र भाषा प्रयोग गर्न मोदीले भारतीय विदेश मन्त्रालयका कूटनीतिज्ञहरूलाई निर्देशन दिनुपर्ने उल्लेख गरेका छन् ।

स्वामीले भनेका छन्, ‘नेपाली हाम्रो रक्त सम्बन्धको भाइ हो । नेपालीहरूले यदि आफूलाई अलिकति विमुख भएको महसुस गर्छन् भने हामीले यसलाई महसुस गर्दै उनीहरूलाई शान्त पार्नुपर्छ ।’ नेपाल–भारत सम्बन्ध बिग्रिँदा पाकिस्तानको खुफिया एजेन्सी आइएसआईले उत्सव मनाउने जिकिर गर्दै स्वामीले नेपाल–भारत सीमा भएर ९० प्रतिशत भारतविरोधी जालसाजी गतिविधि हुने गरेको पनि आरोप लगाएका छन् । नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित