शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

नर्स तनुजा कार्कीको आत्महत्याको ‘कारण’ पनि दुई पत्नीका पति– प्रेमी !

दैनिक नेपाल २०७७ जेठ १८ गते १०:४८

काठमाडौं, १८ जेठ । मोरङको उर्लाबारी घर भएकी तेह्रथुममा आत्महत्या गरेकी नर्स तनुजा कार्कीको आत्महत्याको कारण उनका प्रेमी नुवाकोटका खम्बासिंह तामाङ भएको आरोप लागेको छ ।

तामाङलाई प्रहरीले अनुसन्धानका क्रममा सोधपुछ गरेको छ । उनलाई आत्महत्या दुरुत्साहनको मुद्दा चलाउनुपर्ने मृतक परिवारका सदस्यको माग रहेको छ ।

२४ बर्षीया तनुजाको शव १३ जेठमा होटलमा फेला परेको थियो ।  मेन्छयाम गाउँपालिकाको स्वास्थ्यचौकीमा स्टाफ नर्सका रुपमा कार्यरत तनुजा म्याङ्लुङ बजार स्थित सन्तोषी होटेलमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

प्रेमी भनिएका ३७ बर्षिय तामाङलाई अनुसन्धानको घेरामा राख्नुपर्ने कारणचाहिँ  होटलमा सँगै रहनु रहेको प्रहरीको भनाई छ । ठेकेदार काम गर्ने तामाङ चार दिनदेखि सोही होटलमा बस्नु र तनुजाले पनि विदा लिएर दुई दिनदेखि होटलमा हुनुलाई अनुसन्धानको दायरामा राखेर विश्लेषण गरिएको छ ।

‘१३ जेठमा दुवै जनाले सँगै खाना खाएको देखिन्छ । तामाङ काममा गए पनि तनुजा होटलमा थिइन् । पछि ढोका फोडेर हेर्दा सलको पासो लगाएर आत्महत्या गरेको देखिन्छ’, प्रहरी स्रोतले भन्यो ।

तामाङको नुवाकोटमा दुईवटी पत्नी रहेको पनि खुलेको छ । १४ दिन म्याद थपी उनीमाथि अनुसन्धान जारी राखिएको छ । ‘मोबाइल कल डिटेल्सलगायत घटनाक्रम र सम्बन्धका विषयमा बयानसहित प्रमाण संकलनका अन्य काम भएका छन् । दोषी हुन् या होइनन् भन्ने अनुसन्धान जारी छ’, स्रोतले भन्यो ।

तनुजाले केही महिनाबाट उक्त स्थानमा काम गर्न गाह्रो भएको र उक्त स्थानबाट सरुवा गर्न चाहेको परिवारलाई बताएकी थिईन् ।

प्रतिक्रिया
सम्बन्धित