शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

नेपाली सेनामा भ्रष्टाचार : तीन तारे तानिए, चार तारे कता हानिए ?

दैनिक नेपाल २०७७ जेठ १७ गते ११:२३

काठमाडौं, १७ जेठ । नेपाली सेनामा भ्रष्टाचारमा मुछिएका कतिपयलाई कारबाही गर्ने निर्णका विवरण जनसम्पर्क निर्देशनालयले जारी गरिरहेको छ । तर यी सबै भ्रष्टाचारको मुख्य नाइके तत्कालिन प्रधानसेनापतिका बारे आएका उजुरीका विषयमा चुइँ पनि गरेको छैन, सैनिक जंगी अड्डा ।

हालका प्रधानसेनापति पूर्णचन्द्र थापाको टेबुलमा ठेकेदारदेखि पीडित भएका कतिपयले पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीविरुद्ध दिएका उजुरीका थाक छन् । पहिला लिन नमाने पनि हुलाकबाट पठाएका भ्रष्टाचार दस्ताबेज पनि कम छैनन् ।

तर सैनिक जंगी अड्डाले भने तीन तारे जर्नेल (उपरथी)सम्मलाई कारबाही र बिगोको फैसला भएको विवरण सार्वजनिक गरे पनि ति सबैको संरक्षण गर्ने चार तारे (प्रधानसेनापति)बारे ‘गन्ध’ समेत दिएको छैन ।

जानकारहरूका अनुसार हालका प्रधानसेनापतिलाई उत्तराधिकारीका रुपमा अघि बढाएका कारण क्षत्रीमाथि अनुसन्धान नभएको हो । त्यसबाहेक आफूइतरमा रहेका संगठनका अधिकारीलाई कारबाहीले झोस्नु स्वभाविक बन्न थालेको छ ।

‘भ्रष्टाचार प्रमाणित भएकालाई कारबाही हुन्छ । तर, आफूइतरकालाई मात्र होइन, आफूसँग नजिक भएका पनि भ्रष्टाचारको दलदलमा छन् । उजुरी परेका छन् । कारबाही खोई ?’, स्रोतले भन्यो,‘यसमा सैनिक प्रमुखले ध्यान जानु पर्दैन ?’

हालै मात्र अवकाशप्राप्त उपरथी सुधीर श्रेष्ठसहित नौ जनालाई आर्थिक अनियमिता गरेको ठहर गर्दै कारवाही गर्ने निर्णय भएको छ ।

समरी जनरल सैनिक अदालतले सैनिक हवाई महानिर्देशनालय, गौचरमा कार्यरत रहंँदा सम्पत्ति, अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको अभियोगमा उपरथी श्रेष्ठसहितका सैनिक अधिकृतलाई कारवाही गर्ने निर्णय गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको थियो ।

सैनिक हवाई महानिर्देशनालय भएको उक्त घटनाको सत्यतथ्य छानबिन गर्न सैनिक मुख्यालयले रथीको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी बोर्ड गठन गरेको थियो । उक्त बोर्डको  प्रतिवेदनका आधारमा अदालतले कारवाही गर्ने निर्णय गरेको हो ।

उपरथी श्रेष्ठबाट ५८ लाख ९५ हजार ५९ को कुनै हिसावकिताब नराखी आर्थिक अनियमितता गरेको देखिएको ठहर गरिएको छ । बलाधिकृतरथी शरदकुमार गिरीको अध्यक्षतामा गठित अदालतले निजबाट उक्त  रकम असुल उपर गरी नसिहत दिने फैसला सुनाएको हो ।

त्यसो त पूर्वप्रधानसेनापति क्षत्रीले गरेका अनियमितता र अन्यायका विषयमा जंगी अड्डामा मात्र होइन, रक्षा मन्त्रालयमा समेत उजुरी परेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उनको भ्रष्टाचारका विषयमा उजुरी परेका थिए ।

अख्तियार स्रोतले भन्यो,‘हामीले जानकारी लिने हो, त्यहि अनुसार अनुसन्धान गर्नका लागि सेनालाई भन्ने गरेका छौं । सिधा हस्तक्षेप गर्न मिल्दैन ।’ त्यसो त सेनामा भ्रष्टाचार भएको विषयमा पूर्वप्रधानसेनापति क्षत्रीबारे संसदको लेखा समितिसम्मले सोधीखोजी, खोजीनीति गर्दै आए पनि सैनिक प्रमुखले कानमा तेल हाल्ने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित