शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

लक डाउनकै बेला शिव सेना नेपालले राँके जुलुस प्रदर्शन गर्नुको गुह्य कारण

दैनिक नेपाल २०७७ जेठ १७ गते १०:०७

काठमाडौं, १७ जेठ । गणतन्त्रका कारण मुलुकको अवस्था नै जर्जर भएको र अभिभावक संस्था (राजसंस्था)लाई कपटपूर्ण हिसाबले हटाएको आरोप लगाउँदै आएको शिव सेना नेपालले ‘फिल्ड’मै शक्ति प्रदर्शन गरेको छ ।

नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी हडपेको विरोध, गणतन्त्रका कारण मुलुकमा भ्रष्टाचार बढेको र धर्मान्तरको काम पनि चलिरहेको विरोधमा उसले शक्तिशाली राँके जुलुस पाल्पामा प्रदर्शन गरेको थियो ।

मुलुकको रक्षाका निम्ति विविध जिल्लामा यस प्रकारका देशप्रेमी काम हुने शिव सेनाले जनाएको छ । खासगरी हालको सत्ताविरुद्ध भन्दा पनि व्यवस्थाका कारण नै व्याप्त बनेको चरम भ्रष्टाचार र देशविरोधी गतिविधिलाई लक्षित गरी शिव सेनाका कार्यक्रम आउने अध्यक्ष अनिल बस्नेत बताउँछन् ।

अनिल बस्नेत, अध्यक्ष शिव सेना नेपाल

हालै मात्र पाल्पा रामपुरमा भने गणतन्त्रको बिरोध तथा राजसंस्थाको माग गर्दै विशाल राँके जुलुस निस्किएको थियो । लकडाउनकै बीच  रामपुरका युवाहरूले  बिहीवार बेलुकी  बजारमा उक्त प्रदर्शन गरेका थिए । ‘गणतन्त्र चाहिँदैन, राजा आउ देश बचाऊ’ सहितका नारा लगाउँदै युवाहरुको समूहले राँके जुलुस प्रदर्शन गरेका थिए ।

‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजा आऊ देश बचाऊ, गाउँगाउँमा हल्ला छ, राजा आउने सल्लाह छ, गणतन्त्र मुर्दावाद’ जस्ता नारा लगाइरहेका थिए ।

‘हामीले गणतन्त्र कहिल्यै स्वीकार गरेका थिएनौं । जनताले पनि राजसंस्था हटाउने विषयमा गरिएको निर्णयको अनुमोदन दिएका थिएनन् । यो व्यवस्थाले धर्म संस्कृतिमाथि पनि आक्रमण भएको देखिएकै छ’, बस्नेत भन्छन् ।

शिव सेना नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहको धार्मिक देशाटनमा आन्तरिक सुरक्षा, व्यवस्थापनको काम गर्दै आएको छ । अध्यक्ष बस्नेत थप्छन्,‘राजसंस्था भनेको धर्म, इमान्दारीता र न्यायका पक्षमा छ, जसरी गणतन्त्र त्यसको खास विरोधी कित्तामा देखिएको छ ।’

अहिले सामाजिक रुपमा संकटको अवस्था रहे पनि मुलुक पहिलो हुने भएकाले शिव सेनाका जिल्लाका समितिहरू सक्रिय रहेको बस्नेतको कथन छ ।

प्रतिक्रिया
सम्बन्धित