शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

लमहीको क्वारेन्टाइनमा बसेकाहरूको मागको सुनुवाइ नभएको गुनासो

दैनिक नेपाल २०७७ जेठ १६ गते १३:००

लमही, १६ जेठ । दाङको लमही नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका ५१ जना ठूलो जोखिमका साथ बसेका छन् ।

लमही नगरपालिकाले रातोडाँडामा बनाएको क्वारेन्टाइनमा दुःख र जोखिमका साथ बस्नु परेको गुनासो आएको छ ।

कोरोनाको संक्रमण देखिएकाहरूले प्रयोग गरेका झुल, बेडसहितका सामग्री प्रयोग गर्न आफूहरू बाध्य भएको मेघराज पौडेलले फोनमा जानकारी दिएका छन् ।

‘हामी एउटै कोठामा कोचाकोच गरेर बस्न बाध्य भएका छौँ’, पौडेलले भने, ‘एकअर्कावीच आधा मिटरको दुरी बनाउन पनि सकिएको छैन ।’

पौडेलले सरोकारवाला निकायले आफूहरूको मागको सुनुवाइ नगरेको बताएका छन् । उनले भने, ‘हामी बसेको क्वारेन्टाइनमा आठ जनामा कोरोना संक्रमणको पुष्टि भयो । यो ठाउँलाई औषधि छर्कनु पर्ने थियो । औषधि पनि छर्किएको छैन ।’

लमही नगरपालिकाका मेयर कुलबहादुर केसीले रातोडाँडाको क्वारेन्टाइनलाई सिल गरेर राखिएको बताए । ‘आठ जनामा कोरोना संक्रमण पुष्टि भएपछि यो क्वारेन्टाइनलाई सिल गरेर राखेका छौँ’, उनले भने, ‘संक्रमिट बसेको बेड र सामानहरू नछुन आग्रह गरेका छौँ ।’

नगरपालिकाले क्वारेन्टाइनमा बसेकाहरूलाई सेनिटाइजर दिएको भन्दै मेयर केसीले एकअर्काबीच दुरी कायम गरेर बस्न आग्रह गरिएको बताए । उनले भने, ‘तपाईहरू आफू पनि सचेत हुनुपर्छ । एकअर्का बीच दुरी बनाइ बस्नुस भनेको छु, म आफै साँझ–बिहान गएर सबै हेर्ने गरेको छु ।’

क्वारेन्टाइनमा बसेकाहरूलाई समस्या नहोस् भनेर फ्रि–वाइफाइको व्यवस्था गरिदिएको मयेर केसीले बताएका छन् ।

लमहीको क्वारेन्टानइमा बसेकाहरूको कोरोना भाइरसको संक्रमणको परीक्षण गर्दा दुई दिन अगाडि आठ जनामा संक्रमण पुष्टि भएको थियो ।

कोरोना पोजेटिभ देखिएका आठ जनालाई बिहीबार कोरोना अस्पताल बेलझण्डी लगिएको थियो ।

काेराेना पाेजेटिभ भेटिएका र क्वारेन्टाइनमा बसेकाहरू सबै भारतबाट आएकाहरू हुन् ।

प्रतिक्रिया
सम्बन्धित