शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

भारतले नेपालमा ह्वार ह्वार्ती छिरायो कोरोना संक्रमित, सहमतिमा भारतीय प्रधानमन्त्री मोदीको बेइमानी

दैनिक नेपाल २०७७ जेठ १५ गते १०:१९

काठमाडौं, १४ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको सहमतिविपरित कोरोना संक्रमितलाई नेपाल पठाउने बेइमानी गरेका छन् ।

कोरोना भाइरस (कोभिड–१९)को महामारी सुरु हुनासाथ ओली–मोदी टेलिफोन वार्तामा नेपालमा रहेका भारतीय जनता र भारतमा रहेका नेपाली जनतालाई राहतसहित क्वारेन्टाइनमा राख्ने सहमति भएको थियो ।

तर लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालले नयाँ नक्शा जारी गरेपछि भारतीय प्रशासनले उनको सीमामा रहेका नेपाली जनतालाई ह्वार ह्वार्ती पठाएको छ ।

‘हाम्रा नागरिकलाई सुरक्षित गर्ने दायित्व र जिम्मेवारी हाम्रै हो । यसमा भारत सरकारको भर थिएन । तर, त्यहाँका प्रधानमन्त्रीसँग भएको सहमति विपरित नेपालीलाई सीमा क्षेत्रमा विचल्लि पार्ने काम गरियो’, उच्च स्रोतले भन्यो ।

यति मात्र होइन, भारतमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि नेपालीलाई सीमा पार गराउनका निम्ति अनौपचारिक हिसाबले भारतीय प्रशासनले दबाब दिएको थियो । तर नेपालले भने भारतीय नागरिकलाई सम्बन्धित जिल्लाका क्वारेन्टाइनमा मात्र होइन, अस्पताल र आइसोलेशनमा समेत राखेर उपचार गरेको थियो ।

‘नेपाली नागरिकको सुरक्षा सरकारले गरिरहेको छ । तर, भारतीय नागरिकलाई समेत पठाउने काम भएको छ । हामीले भारत सरकारलाई मानवीय काममा अनुदार भएकोमा कुनै प्रश्न गरेका छैनौं’, उच्च स्रोतले भन्यो ।

हाल नेपालका सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गरेकाको संख्यामा उच्च बृद्धि हुनु नै मोदीले गरेको सहमति पालना नहुनु प्रष्ट देखिएको छ । नेपालमा भारतबाट आएकाहरूमा कोरोनाको संख्या ज्यादा देखिएको छ ।

‘यो क्रम अझ बढ्ने प्रक्षेपण हामीले गरेका छौं । सीमवर्ती क्षेत्रबाट नेपाल आउने नागरिकको संख्या अहिले पनि कम छैन’, अधिकारीहरू भन्छन् ।

बुधबार मात्र ११४ जना नयाँ संक्रमित पुष्टि भएका अधिकांश भारतीय सीमा हुँदै नेपाल प्रवेश गरेका हुन् । विहीबार विहान आएको ७६ जना पनि भारतबाटै नेपाल फर्किएका हुन् । ‘मैत्री सम्बन्धको कुरालाई दबाबपूर्ण हिसाबले एकतर्फी रुपमा तोडियो, त्यसपछि नेपालबाट भारत जाने त्यहाँका नागरिकलाई पनि हामीले रोक्न सकेनौं’, स्रोतले भन्यो ।

त्यसो त भारतले आफ्नै नागरिकलाई फिर्ता लैजान पनि विभेद गरेको प्रष्ट देखियो । उसले उच्च वर्ग, धनाड्य र सरकारी अधिकारीसहितलाई लैजान एयर इन्डियाको विमान पठाएको थियो भने अति सामान्य नागरिकका लागि भने कुनै सुविधा दिएन ।

प्रतिक्रिया
सम्बन्धित