काठमाडाैं, १५ जेठ । आफ्नो पहिलो र दोस्रो बजेटको फितलो कार्यान्वयनका कारण विद्वान् अर्थमन्त्री डा. युवराज खतिवडा आलोचित छन् ।
आफ्नो कार्यकालको तेस्रो बजेट प्रस्तुत गरिरहेका खतिवडालाई एकातर्फ कोरोना महामारीबाट सिर्जित दायित्व पूरा गर्न बजेट बढाउनुपर्ने बाध्यता छ भने अर्कातर्फ कोरोनाकै कारण स्रोत जुटाउन समस्या हुने चुनौतीसमेत सामना गर्नुपर्नेछ । महामारीको रोकथाम, न्यूनीकरण तथा उपचारमा र स्वास्थ्य पूर्वाधारमा ठूलो लगानी गर्नुपर्नेछ ।
लकडाउनका कारण शिथिल अर्थतन्त्र पुनरुत्थानका लागि समेत ठूलो बजेट विनियोजन गर्नुपर्ने अवस्था छ । तर, राजस्व परिचालन बढ्न नसक्ने तथा वैदेशिक सहयोगसमेत कम आउने सम्भावनाका कारण अर्थमन्त्रीलाई स्रोत जुटाउन भने समस्या हुनेछ । यस्तो अवस्थामा अर्थमन्त्रीले सन्तुलित र छरितो बजेट ल्याउनुपर्ने अर्थविद्हरू बताउँछन् ।
‘कोरोना महामारीबाट जोगाउने र रोजगारी सिर्जना गराउने बजेटको शिथिल अर्थतन्त्रलाई उठाउने गरी बजेट आउनुपर्छ,’ अर्थविद् डा. विश्व पौडेलले भने, ‘यसर्थ, मुख्य प्राथमिकता स्वास्थ्य र दोस्रो रोजगारी हुनुपर्छ, त्यससँगै आर्थिक पुनरुत्थानका कार्यक्रम आउनुपर्छ ।’ सबैलाई महामारीबाट जोगाउने किसिमको बजेट आउने आफ्नो अपेक्षा रहेको उनले बताए ।
बजेटको सिद्धान्त तथा प्राथमिकता र नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण, स्वास्थ्य पूर्वाधार विकास र रोजगारी सिर्जनामा जोड दिएको देखिन्छ । प्रधानमन्त्रीले समेत कोरोना महामारीबाट जनतालाई मुक्त गर्ने, यसबाट सिर्जित संकटबाट मुलुकको अर्थतन्त्रलाई रक्षा गर्ने र रोग तथा भोकबाट आफ्ना जनतालाई जोगाउने कामलाई सरकारले आफ्नो प्रमुख दायित्व ठानेको बताएका थिए । सोहीअनुसार बजेट आउने आमअपेक्षा देखिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।















प्रतिक्रिया