शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

बुधबार मात्रै ११४ जनामा कोरोना संक्रमण पुष्टि, ८८६ जना पुगे, कुन जिल्लामा कति जना विवरण हेर्नुहोस्

दैनिक नेपाल २०७७ जेठ १४ गते १८:०६

काठमाडौं, १४ जेठ । बुधबार ११४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टिसँगै नेपालमा ८८६ जना पुगेका छन् ।

यो तथ्यांक दैनिक वृद्धि हुने मध्येका सबैभन्दा उच्च हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका ११ जनामा पोजेटिभ देखिएको छ ।

कोसी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका १७, हेटौडामा भएको परीक्षणमा रौतहटका ७ सहित ८ जना, पोखरामा भएको परीक्षणमा बागलुङका ४ जनामा पोजेटिभ देखिएको छ ।

दाङमा भएको परीक्षणमा रुकुम पूर्वका ३, दाङका १५ गरी १८, भेरी अस्पतालमा भएको परीक्षणमा १६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको पोजेटिभ रिपोर्ट आएको छ ।

संक्रमण देखिएका मध्ये पुरुष ७ सय ९६ र महिला ९० रहेका छन् । नयाँ संक्रमितहरुको क्वारेन्टाइनमा उपचार सुरु गरिएको ।

आइसोलेशन र उपचारपछि फर्किनेको विवरण

देशभरीका आइसोलेसनमा ६ सय ९९ जना संक्रमित रहेका छन् । प्रदेश १ मा ७३, प्रदेश २ मा २ सय २६, बागमती प्रदेशमा २७ र गण्डकी प्रदेशमा ११ आइसोलेसनमा छन् । प्रदेश नम्बर ५ मा ३ सय २५, कर्णाली प्रदेशमा २५ र सुदूरपश्चिम प्रदेशमा १२ जना उपचाररत रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

बुधबारसम्म १ सय ८३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेश नम्बर १ मा ३०, प्रदेश नम्बर २ मा ९७, बागमती प्रदेशमा ११ र गण्डकी प्रदेशमा २ जना निको भएर घर फर्किएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३८ र सुदूरपश्चिम प्रदेशमा ५ जना डिस्र्चाज भएका छन् । नारायणी अस्पतालबाट २८ जना, कोसी अस्पतालबाट ४ र शुशिल कोइराला पर्खर क्यान्सर अस्पतालबाट २ जना डिस्चार्ज भएका छन् ।

परिक्षणको तथ्यांक

पीसीआर विधिबाट ५८ हजार २ सय ७७ र आरडिटी विधिबाट १ लाख २ सय ८७ जनाको परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ५ सय ८० र आरडिटी विधिबाट २ हजार ३ सय २० जनाको परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।

प्रदेश नम्बर १ मा ११ हजार २ सय ५२, प्रदेश नम्बर २ मा ६ हजार ५ सय ६९, बागमती प्रदेशमा २४ हजार ६ सय ८० र गण्डकी प्रदेशमा ७ हजार ९ सय ५० जनाको आरडिटी परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर ५ मा १७ हजार ४ सय ३९, कर्णाली प्रदेशमा ११ हजार ३ सय ५४ र सुदूरपश्चिम प्रदेशमा २१ हजार ४५ जनाको आरडिटी परीक्षण भएको छ ।

यस्तै गरी प्रदेश नम्बर १ मा १ हजार ८ सय ६८, प्रदेश नम्बर २ मा १२ हजार १ सय ८३, बागमती प्रदेशमा १ हजार ३ सय ९८ र गण्डकी प्रदेशमा १ हजार ९ सय ३० जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २६ हजार ७ सय २९, कर्णाली प्रदेशमा ९ हजार ६ सय ९ र सुदूरपश्चिम प्रदेशमा १६ हजार ५ सय ८८ गरी देशभरी ७० हजार ३ सय ५ जना क्वारेन्टाइनमा रहेका छन् ।

यसैबीच कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरी संयन्त्रले भारतबाट नेपालमा नागरिक आउने क्रम जारी रहेका कारण आगामी २ महिनासम्म यसको प्रभाव देखिरहने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित