३ कार्तिक २०८३, मंगलबार

धारो छोएको निहुँमा कुटपिट गरी वडासदस्यको हत्या

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १४ जेठ । रुकुम घटना एउटा हत्या मात्र होइन, जातीय आधारमा दलितमाथि सदियौँदेखि भइरहेको ज्यादती उस्तै छ भन्ने डरलाग्दो प्रमाण हो ।

छुवाछूत र जातीय विभेद उन्मूलन गर्न देशले थरीथरीका कानुन बनाएको छ, पटकपटक घोषणा गरेको छ, पछिल्लोपटक १० जेठ ०६८ मा संसद्ले जातीय भेदभाव तथा छुवाछूत कसुर सजाय र ऐन पास गरेको थियो । तर, जातीय विभेदविरुद्ध कानुन पास भएको दिन देशभर उत्सव हुनुपर्नेमा दलित युवा र उनका साथीहरूको रगत बगेको छ ।

जातका आधारमा गरिने विभेद दण्डनीय बनेपछि यो नौ वर्षमा १७ जना नागरिकले दलित भएकै कारण ज्यान गुमाएका छन् । कोहीले अन्तर्जातीय प्रेम र विवाहका कारण, त कोहीले पानी र चुलो छोएको निहुँमा ।

तर, चुलो छुन र प्रेम गर्न निषेध गरिएको दलित समुदायका किशोरीहरूलाई कथित माथिल्लो जातकाले बलात्कार भने गरिरहेका छन् । बलात्कारपछि न्याय पाउनुको सट्टा युवतीहरूको ज्यान लिने काम भएका छन् । यही नौ वर्षमा मात्र चार युवतीको बलात्कारपछि हत्या भएको छ, चारजनाको छुवाछूतको नाममा र एक महिलाको बोक्सीको आरोपमा कुटपिट गरी हत्या गरिएको छ । त्यस्तै, दलित भएकै कारण आठ पुरुष पनि मारिएका छन् ।

जनप्रतिनिधि । जनताकोे आवाज बोल्ने न्याय दिने प्रतिनिधि । उनको आवाज बलियो हुनुपर्ने हो । तर, दलित हो भने जनप्रतिनिधिको के हालत हुन्छ भन्ने घटना कालिकोटको नरहरिनाथ गाउँपालिकामा देखिएको छ । संविधानसभाबाट संविधान जारी भएपछि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई नरहरिनाथमा कुटेर मारियो, कारण उनले सार्वजनिक धारोमा पानी छोएकी थिइन् ।

नरहरिनाथ–९ की दलित महिला सदस्य मना सार्की १९ जेठ, ०७५ मा दिनभरि खेतबारीको काम गरेपछि हातखुट्टा धुन धारामा गएकी थिइन् । तर, सार्वजनिक धारा छोएको र पानी अछुतो बनाएको भन्दै उनलाई छिमेकी राजिन्दा शाही र सिर्जना शाहीले मरणासन्न हुनेगरी कुटपिट गरेका थिए ।

उपचार गर्नसमेत लैजान नपाएपछि मनाको त्यही राति ११ बजे ज्यान गयो । चार दिनपछि आफन्तले शव बुझेर दाहसंस्कार गरे, कुटपिट गर्ने छिमेकी दुई महिलालाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएको छ । तर, परिवारले अहिलेसम्म न्याय पाएको छैन, बरु उनीहरूलाई अहिले पनि छिमेकीले लाञ्छना लगाइरहेका छन् ।

स्थानीय शिक्षक चिन्तन नेपाली भन्छन्, ‘छुवाछूत र जातीय विभेदको मुद्दा हो यो । तर, कर्तव्य ज्यानको मुद्दा मात्रै चलेको छ, पोष्टमार्टममा पनि जालसाजी गरेर मुद्दाको तोडमोड गर्न खोजिएको छ, यो सबै दलित भनेर हेपेरै हो ।’

वडामा सर्वाधिक भोट ल्याएर जितेकी सार्कीको जघन्य हत्या हुँदा पनि वडाध्यक्ष र गाउँपालिकाले एउटा शोक विज्ञप्तिसमेत ननिकालेको शिक्षक नेपालीले बताए । उनले भने, ‘माथिल्लो जातकाहरू एकमुख भइहाले, बरु हामीमाथि अनेक लाञ्छना लगाउने कोसिस गरियो ।’ नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।