बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

भारतले दिल्लीमा नेपाली राजदूत भेट्न मानेन

दैनिक नेपाल २०७७ जेठ १३ गते ७:५१

काठमाडौं, १३ जेठ । लिपुलेक, कालापानी र लिम्पियाधुरा अतिक्रमण गरेर नयाँ नसक्सा जारी गरेको भारतले नेपालसँग सम्वाद गर्न आनाकानी गरेको खुलासा भएको छ ।

छ दशकभन्दा धेरै समयदेखि नेपाली भूमि अतिक्रमण गरेर सेना राखेको भारतले नेपालसँग वार्ताका लागि कुनै पनि कुटनैतिक पहल गरेको छैन । नेपालका प्रयासहरूलाई पनि आलटाल गरेर टार्ने गरेको रहस्य बाहिर आएको छ ।

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी भइसकेपछि उत्पन्न भएको परिस्थितिका विषयमा भारतीय पक्षसँग कुरा गर्न खोजेका छन् । तर, राजदूत आचार्यलाई भारतीय विदेश मन्त्रालयका सचिव र नेपाल हेर्ने शाखाका प्रमुखले समेत भेट्न अस्वीकार गरेको स्रोतले जनाएको छ ।

नेपालमा भारतको मिचाहा प्रवृत्तिलाई लिएर उथलपुथल भइरहेको छ । नयाँ दिल्लीमा रहेका राजदूत आचार्यले खासै राम्रोसँग कुटनैतिक पहलहरू गर्न नसकेको भनेर आलोचना पनि भइरहेको छ ।

नयाँ नक्सा जारी भएपछि नेपाल र भारतबीच तनाब बढेको छ । भारतले लिपुलेक, कालापानी र लिम्पियाधुरा आफ्नो दाबी गर्दै आएको छ ।

नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी आफ्नो रहेको भन्दै प्रमाणसहित अतिक्रमित नेपाली भूमिबाट भारतीय सेना हट्न माग गर्दै आएको छ ।

चीनको तिब्बत स्वायत्त क्षेत्रको कैलाश मानसरोवर जोड्न गर्न लिपुलेक भएर जाने सडकको भारतीय रक्षामन्त्री राजनाथ सिंहद्वारा उद्घाटन गरेपछि नेपालले त्यसको जवाफमा नक्सा जारी गरेको थियो ।

भारतको मिचाहा प्रवृत्तिको नेपालले जोडदार रुपमा विरोध जनाउँदै आएको छ । सुगौली सन्धीअनुसार महाकाली नदीपूर्वको भू–भाग नेपालको सीमा रहने उल्लेख छ । तर, भारतले महाकाली नदी तरेर पूर्वतर्फ आएर नेपाली भूमिका सडक बनाउनुका साथै सेना तैनाथ गरेको छ ।

नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुराका विषयमा भारतीय सेना प्रमुख एमएम नारावनेले चीनतर्फ संकेत गर्दै तेस्रो पक्षको उक्साहटमा नेपालले भारतीय भूमिमा दाबी गरेको विवादास्पद बयान दिएका थिए । भारतीय सेना प्रमुख नारावनेको त्यो बयानले झन् नेपालमा आक्रोश पैदा गरिदिएको छ ।

भारतका लागि नेपाली राजदूत आचार्यले बारम्बार भारतीय पक्षसँग दिल्लीमा व्यक्तिगत र कुटनैतिक सम्वाद गर्न चाहेका छन् ।

भारतीय विदेश सचिव हर्षवर्धन श्रीङ्गला र सहसचिव (उत्तर) पियुष श्रीवास्तव, जो नेपाल–भूटान डेस्कको इञ्चार्ज छन्, उनीहरूले नेपाली राजदूत आचार्यलाई भेट्न र कुरा गर्न मानिरहेका छैनन् ।

भारतीय विदेश सचिव श्रीङ्गलाले भारतीय पक्षबाट परराष्ट्र सचिवको सीमामा वार्ता गर्ने नेतृत्व लिइरहेका छन् । सहसचिव श्रीवास्तव नेपाल–भुटान डेस्कको विदेश मन्त्रालयका एक महत्वपूर्ण व्यक्ति हुन् ।

प्रतिक्रिया
सम्बन्धित