बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

अन्तर्जातीय बिहे गर्ने युवाको लास चार वर्षदेखि शिक्षण अस्पतालमा

दैनिक नेपाल २०७७ जेठ १३ गते ६:३६

काठमाडाैं, १३ जेठ । काभ्रे पाँचखाल–६, होक्सेका दलित युवा अजित मिजार स्थानीय सर्वमंगल उच्च माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिए । स्थानीय एक युवतीसँग उनको प्रेम गाँसियो । दुई वर्षको प्रेमलाई उनीहरूले २५ असार ०७३ मा बिहेमा बदले । तर, समाजको डरले उनीहरू अजितकी दिदीको भक्तपुरस्थित घरमा बस्न थाले ।

बिहेको दुई दिनपछि युवतीले ‘माइती’लाई जानकारी दिएकी थिइन् । तर, माइती पक्षले ज्यान मार्ने धम्की दिएको अजितको परिवारको दाबी छ । त्यसपछि प्रहरीकै रोहवरमा सम्बन्धविच्छेद गराइयो । २८ असारमा सम्बन्धविच्छेद भयो । अर्को दिन अजित बेपत्ता भए ।

दिउँसो १ बजेदेखि सम्पर्कविहीन भएका उनले राति ८ बजे घरमा फोन गरेका थिए । उनको स्वर अत्तालिएको थियो । त्यसपछि सम्पर्क हुन सकेन । छोरा हराएको भन्दै परिवारले प्रहरीमा उजुरी गरेको थियो । भोलिपल्ट ३० असारमा धादिङको कुलपुर गाविसको परेवाटारमा झुन्डिएको अवस्थामा एक युवक फेला परे । दुई दिनसम्म पनि मृतकको सनाखत हुन नसकेपछि पोस्टमार्टम गरेको भन्दै प्रहरीले धादिङमै लास गाडेको थियो ।

यसको जानकारी मिजार परिवारले पायो । शंका लागेर उनीहरू काभ्रेको पाँचखालबाट धादिङको परेवाटार पुगे । उनीहरू घटनास्थल पुग्दा लास गाडिसकिएको थियो । परिवारका सदस्यले खाल्डोबाट लास निकाले । लास अजितकै थियो । प्रहरीले पोस्टमार्टमसमेत गरेको भनेको थियो । तर, मृतकको शरीरमा कहीँ–कतै चिरफार गरेको भेटिएन । आफन्तले गाडिएको लास पुनः उत्खनन गरी काठमाडौंस्थित शिक्षण अस्पताल ल्याए । उनको लास अझै अस्पतालमा छ ।

अजित धादिङ जानुपर्ने कुनै कारण थिएन । उनलाई अरू कसैले त्यहाँ पुर्‍यायो र झुन्ड्यायो भन्ने आफन्तको दाबी छ । मिजार परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले युवतीका माइती पक्षका चारजनालाई पक्राउ गरेको थियो । तर, जिल्ला अदालत धादिङले सुरुमा तारेखमा छाड्यो । पछि अभियुक्तहरूलाई सफाइ दियो ।

उच्च अदालत पाटनमा पुनरावेदन गरे पनि घटनामा प्रहरीकै मिलेमतोमा प्रमाण नष्ट गरिएकाले न्याय पाउन नसकेको परिवारको गुनासो छ । शवको चिरफार नै नगरी पोस्टमार्टम रिपोर्ट लेख्ने डाक्टरले गल्ती स्विकारे पनि अदालतले पीडितलाई न्याय दिन हिच्किचाएको अधिवक्ता मोहन शाशंकर बताउँछन् ।

‘सरकारवादी मुद्दामा प्रहरी नै संलग्न भएर प्रमाण नष्ट गरिएको देखिन्छ, उत्खनन गरिएको शवको अनुहारको छाला जलेको थियो, एसिड प्रहार भएको हुन सक्ने हामीले आशंका गर्‍यौँ, तर अदालतले परीक्षण गर्न चासो दिएन,’ अधिवक्ता शाशंकर भन्छन्, ‘अझै पनि अदालतले चाह्यो भने घटनामा प्रमाणहरू जुटाउन सकिने ठाउँ छन् ।’

अजितका बुबा हरिभक्त भन्छन्, ‘मेरो छोरो झुन्डिएरै मर्ने भए गाडी चढेर धादिङ किन जानुपथ्र्यो र ?’ केटीका माइती परिवारले प्रहरीको सहयोगमा प्रमाणसमेत नष्ट हुने गरी जालझेल गरेर हत्यालाई आत्महत्या बनाउने कोसिस गरेको उनको आरोप छ ।

काभ्रेका युवालाई धादिङमा लगेर मारिएको र पोस्टमार्टम पनि नगरी हतारहतार गाडिएको स्पष्ट हुँदाहुँदै पनि कुनै कारबाही नभएको भन्दै परिवार र नागरिक अधिकारकर्मीले न्यायको पक्षमा आवाज उठाइरहेका छन् । तर, अहिलेसम्म दोषीलाई कारबाही नभएकाले उनीहरूले शव बुझ्न मानेका छैनन् ।

हुँदै नभएको पोस्टमार्टम रिपोर्ट प्रहरीले कसको स्वार्थमा बनाएको थियो ? प्रहरीले दोषी उम्काउन यस्तो गरेको ठहर व्यवस्थापिका संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिअन्तर्गतको उपसमितिले गरेको थियो ।

गजुरी प्रहरी र गजुरी स्वास्थ्य चौकीले युवतीको माइती पक्षको परिवारको प्रलोभनमा परेर मिजारले आत्महत्या गरेको रिपोर्ट बनाएको ठहर उपसमितिले गरेको थियो । तर, यो विषय आफैँ अलपत्र परेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित