शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

पूर्वराजा र पूर्वप्रधानमन्त्रीले सुरक्षाकर्मी फिर्ता गरेनन्

दैनिक नेपाल २०७७ जेठ १२ गते ६:२२

काठमाडाैं, १२ जेठ । पूर्वगृहमन्त्री र अन्य केही नेताहरूबाट सुरक्षाकर्मी फिर्ता हुन थाले पनि पूर्वराजा र पूर्वप्रधानमन्त्रीले भने अझै पनि फिर्ता गरेका छैनन् । पूर्वप्रधानमन्त्रीहरू असन्तुष्ट हुन सक्ने भन्दै सशस्त्र प्रहरीले पनि त्यसतर्फ पहल गर्न सकेको छैन जब कि उनीहरूको सुरक्षामा नेपाल प्रहरी पनि खटिएको छ ।

पूर्वराजा र राजपरिवारको सुरक्षामा अहिले पनि सशस्त्रका एक सयजनाको फौज परिचालन भएको छ । सशस्त्रको समूहले पूर्वराजा ज्ञानेन्द्र मात्र होइन, पूर्वयुवराज्ञी हिमानीको पनि सुरक्षा गर्दछ । राजपरिवारको सुरक्षा आवश्यक भए पनि सयजना केको आधारमा खटाइएको हो भन्ने कुनै मूल्यांकन छैन ।

पूर्वप्रधानमन्त्रीहरूमध्ये सबैभन्दा ठूलो समूह पुष्पकमल दाहाल, ‘प्रचण्ड’को सुरक्षामा खटिएको छ । उनको सुरक्षामा सशस्त्रका प्रहरीका ४८ सुरक्षाकर्मी परिचालित छन् । त्यस्तै, डिएसपीको नेतृत्वमा नेपाल प्रहरीको छुट्टै समूह पनि उनको सुरक्षामा खटिएको छ ।

सशस्त्र प्रहरीको तथ्यांक भन्छ– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा १४, माधवकुमार नेपालको सुरक्षामा १३, लोकेन्द्रबहादुर चन्दको सुरक्षामा १०, झलनाथ खनालको सुरक्षामा नौ र डा. बाबुराम भट्टराईको सुरक्षामा आठ सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यस्तै, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको सुरक्षामा सशस्त्रका नौ सुरक्षाकर्मी खटिएका छन् ।

त्यस्तै, पूर्वगृहमन्त्रीहरू वामदेव गौतमले १३, विमलेन्द्र निधिले ११ र कृष्णप्रसाद सिटौलाले सशस्त्रका ११ सुरक्षाकर्मी आफ्नो सुरक्षामा परिचालन गरेका छन् । त्यस्तै, पूर्वगृहमन्त्रीका रूपमा जनार्दन शर्माले १० र विजयकुमार गच्छदारले तीन सुरक्षाकर्मी पाएका छन् ।

सुरक्षा दिन मापदण्ड बनाउनुको सट्टा केन्द्रीय सुरक्षा समिति तथा मन्त्रिपरिषद्बाट विभिन्न समयमा निर्णय गरेर नेताहरूलाई सुरक्षाकर्मी दिने गरिएको छ । ‘यो अनावश्यक हो, आवश्यक हो भने कुनै मापदण्ड चाहिन्छ,’ सशस्त्रका एक अधिकारीले भने । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित