शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

साम्प्रदायिकताको नाभीबाट निस्किएका भारतीय मिडिया

विनोद ढकाल २०७७ जेठ ९ गते १८:१३

-विनोद ढकाल

मिडियाको धर्म संचार गर्नु हो । यसभित्र मर्यादा, नीति र साम्प्रदायविरोधी हुन हुँदैन भन्ने सैद्धान्तिक कसी पनि छ, विश्वभर । शासक मिडियामैत्री नहुन सक्छ, मिडिया शासकमैत्री त बन्नै हुन्न । तर, यथार्थमैत्री हुनुपर्छ ।

मिडियाभित्रको शक्तिशाली पक्ष भनेको पत्रकारिता हो । अर्थात्, समाचार कर्म । यस कर्ममा विश्वका धेरै मुलुकले तथ्यको विछ्यौनामा नै समाचारको जन्म गराउँछन् । त्यसमा त्यसलाई पुष्टि गर्ने तकिया, विश्वाशिलो बनाउने तन्ना पनि हुन्छ ।

तर भारतीय मिडियाको रवैया ? यो लेख्नुको कारण उसले गरेका आन्तरिक अत्याचारसँग कुनै सरोकार छैन, त्यो उनको समस्या थियो । नेपालमाथि नै, नेपालको सम्प्रभूता र नेपाली कर्मशीलका बारेमा गरिएका नाटकीय सिरिजलाई स्वीकार्न सकिन्न ।

यसै पनि साम्प्रदायिकताको नाभीबाट निस्किएका छन्, भारतीय समाचारमूलक मिडिया (सबै होइन, केही बाहेक) । देशको पक्षमा बोलेको देखाउनका लागि नेपालको सम्प्रभूतालाई नजरअन्दाज गरी चीनमाथि हमला गरिरहेका छन् । पिसीरहेका छन्, नेपालको स्वतन्त्रता, भूमी सम्पत्ती र नेपाली दाबीलाई चीनको लेपभित्र राखेर ।

कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमी रहेको विषयमा निरन्तर सरकारले भनिरहेको तथा यससम्बन्धि चर्को बहस चलिरहेको थियो । चीनका राष्ट्रपति सी जिन फिनको भारत भ्रमणका क्रममा भएको मौखिक तथा त्यसपछिको लिखित ‘लिपुलेक’ सम्झौता नेपाललाई मान्य नहुने पनि बताइएको थियो ।

यो तथ्य राख्नुको कारणचाहिँ भारतले चीनसँग नेपाल सरोकार विर्सिएर गरेको लिपुलेक सम्झौता, सडक उत्खननको काममा नेपालको आपत्ति भइरहेको थियो भन्ने हो । यसमा चीनसँग पनि नेपालको आपत्ति थियो, भारतले त भूमी नै मिचेको मात्र छैन सडक खोलिदियो त्यो स्वभाविक विरोध हुने नै भयो ।

त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सीमा अध्ययन र त्यसको समाधानका निम्ति दुवै देशले बनाएका थिए ‘प्रबुद्ध समूह’ । जसले ९ पटकसम्म बैठक बसेर दुवै देशका प्रधानमन्त्रीलाई बुझाउनेगरी प्रतिवेदन तयार पारेका थिए । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त प्रतिवेदन बुझेपनि भारतीय प्रधानमन्त्री मोदीले प्रतिवेदन बुझेका थिएनन् । सो विषयमा पनि नेपालमा सार्वजनिक बहस भएको थियो । भारतका तर्फबाट सो समूहका नेतृत्व गर्ने भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारीलाई महाराष्ट्रको गभर्नरमा नियुक्त गरिसकिएको छ । अहिले पनि मोदीले त्यो प्रतिवेदन बुझेका छैनन् ।

नेपाली मिडियाले अहिले नै आफ्नो शैली, सिद्धान्त र परिधिलाई मिच्दैन किनभने हामीलाई थाहा छ– ‘कुकुर’ले टोक्दा समाचार बन्दैन, कुकुरको खुट्टा टोक्दा समाचार बन्छ । हामी पागल कुकुर बन्न सक्तैनौं

भारतीय मिडियामा यो विषयमा नेपाल–भारतबीच भएका सहमति, नेपालले बुझेको प्रतिवेदन तर भारतले नबुझेको विषयमा केही खोलेका छैनन् । आखिर उनीहरूकै भाषामा सोधौं– के छ त्यो प्रतिवेदनमा, किन मोदीले बुझेका छैनन् ?

जहाँका मिडिया सत्ता प्रयोजित छन् । धार्मिक हिंसा भड्काउका निम्ति जिम्मेवार छन् । तिनीहरूबाट सीमा मामिलाका सन्दर्भमा ‘डिप्लोम्याटिक’ रिपोर्ट र प्रस्तुतीको आश गर्नु मूर्खता हुने देखियो । तर, यी प्रस्तुतीले भारतमा रहेका तल्लो तहका जनता जसको सम्बन्ध नेपालसँग रगतको र बन्धुबान्धब्यको छ, तिनमा फरक धारणा बनाउन बाध्यकारी पारिरहेको छ । यहि बिम्ब र प्रतिबिम्ब नेपालका जनतामा पनि प्रतिक्रियात्मक रुपमा पर्नु अस्वभाविक नबन्ने निश्चितप्रायः छ ।

यसै पनि अस्वस्थ्य स्पर्धा र गलत तथ्य राखी मसालेदार समाचार र रिपोर्ट बनाउन खप्पिस रहेका भारतीय मिडियाले टिआरपीका लागि हत्या, संवेदना र साम्प्रदायीकतामा पनि नाटकीय स्वरुप प्रस्तुत गर्छन् । कतिसम्म भने त्यहाँको दिल्ली चुनावका बेला नागरिकता विधेयकको विरोधमा उत्रिएका मुस्लिम समुदायलाई ‘आतंकवादी’ संज्ञा पनि दिइयो ।

यस्ता व्यावसायीकता र संवेदनहिन, साम्प्रदायिक सोच र परिणामको विषयमा गाम्भिर्यता नसोच्ने पत्रकारिताको अभ्यास गरिरहेकाहरूले अहिले लिम्पियाधुरा, कालापानी र लिपुलेकका विषयमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई र नेपालको नयाँ नक्शाबारे पनि भ्रम मात्रै छरिरहेका छन् । उनीहरूले छरेका भ्रममा कुनै तथ्य छैन । यतिसम्म निर्लज्ज र कुतर्कको रिपोर्ट बारम्बार बजाइरहेका छन् कि अभिनेत्री मनिषा कोइरालाले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको ट्विटलाई रिट्विट गर्दै यो सीमा समस्या समाधानका लागि भारत, नेपाल र चीनको वार्ता होस् भन्ने विषयमा टिप्पणी गर्छन्– ‘खाती भारतकी और गाती नेपालकी ।’ जबकि नेपाली छोरी कोइरालाले नेपाल सरकारले लिपुलेक सन्दर्भमा राखेको आधिकारीक विज्ञप्ति र असहमतिको आधारमा नै सानो धारणा राखेकी थिइन् ।

भारतीय मिडियाको यो संवेदनहिनताले आन्तरिक मुद्दामा जति टिआरपी बटुले पनि दुई देशीय मैत्री सम्बन्ध तथा रहेका विवादका सन्दर्भमा गहनता अपनाउन नसक्दा भारतभित्रै दुर्घटनाको ठूलो सम्भावना देखिन्छ । आफ्ना छिमेकी मुलुकहरूसँगको सँधियारीका विषयमा सँधै विवादमा देखिने भारतको एउटा ठूलो र शक्तिशाली गोरखा पल्टनले त्यहाँको सीमा र अमनचयनका लागि लडाई लडिरहेको छ ।

यी अनेक आयामलाई नजरअन्दाज गरी नेपाल भारतको इसारामा चलेको थियो तर चीनले चलायो भनी प्रचार गर्नुलाई कुप्रचार नभन्ने ? उनको अमनचयनका निम्ति आफ्ना जवान मानिसलाई पठाउनु नेपालको गल्ती हो ? मलाई स्मरण छ, त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको सदनमा भनेका थिए– नेपालको पानी र जवानीका कारणले नै भारत बाँचेको छ । सम्बन्ध अबिछिन्न छ । पानी र जवान मानिसलाई सुरक्षाका लागि पठाउने नेपाललाई आफू अधिनस्त रहेको र अहिले चीनको अधिनमा लागेको, उचालिएको भन्न सुहाउँछ ?

हुन त भारतीय मिडियामा समाचार होइन, एउटा कठोर एपिसोड, निर्मम र पत्रकारिता, मानवीय संवेदनाहिनताको रिपोर्ट व्यापारीक कार्डबाट निस्कन्छ । त्यसैले उनलाई न कुटनीतिप्रतिको जवाफदेही हुनुपर्ने जिम्मेवारिता बोध छ न साम्प्रदायिक सद्भाव विरोधी विषयमा उत्तरदायी हुनुपर्छ भन्ने बोध । यसकारण नेपाली मिडियाले अहिले नै आफ्नो शैली, सिद्धान्त र परिधिलाई मिच्दैन किनभने हामीलाई थाहा छ– ‘कुकुर’ले टोक्दा समाचार बन्दैन, कुकुरको खुट्टा टोक्दा समाचार बन्छ । हामी पागल कुकुर बन्न सक्तैनौं ।

प्रतिक्रिया
सम्बन्धित