२९ आश्विन २०८३, बिहिबार

सन्देहको भुमरी भित्र

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पुष्पराज जोशी

हरर् सिनेमामा राक्षसको डरले तर्सिएर भागे जस्तै गरी दगुर्दा–दगुर्दै एउटा गहिरो तर सानोथोरै मात्र पानीे बाँकी सबै हिलैहिलो, लेउ, पात–पतिङ्खर, किरा–फट्याङग्रा, चराहरूका प्वाँखहरू र कतैकतै मरेका जनावर र मानिसका हाडखोरहरू भएको तलाउ नजिक आइपुग्दा त्यसको अलि पर केही मानिसहरू एउटा समूहमा बसेर कुरा गरिरहेका सुनिन्छन् । त्यसमा एक जना अलि पाको उमेरका मानिस केही भनिरहेका थिए भने अरु मानिसहरू सुनिरहेका थिए ।

“यो तलाउ र वरपरका गाउँहरूसयौंवर्ष पहिले समृद्ध, सुन्दर,हराभरा र अकर्षक थिए । मनिसहरू सुखी र खुशी थिए। खै कुन्नि कुन बैरीको आंखा लागेर हो वा कसैको श्राप लागेर हो ?यो सब उजाड हँुदै गयो, तलाउको पानी सुक्दै गयो, वरपरको भूमि बञ्जर बन्दै गएर आजसम्म आईपुग्दा यस्तो बिकराल अवस्थामा परिणत भयो कि यहाँको जनजीवन नै उराठ लाग्दो भैसक्यो ।”

केही मानिसहरू त्यो हिलो भित्र विभिन्न प्रकारका बहुमुल्य हिरा, मोती, सुन, चाँदी आदि दबिएर रहेका छन्, भन्ने कुरा गरिरहेका हुन्छन्। एक जना जानिफकारी जस्तो मान्छे भनिरहेका हुन्छन् कि यसमा त्यस्तो  बहुमुल्य बस्तुहरू केही पनि छैनन् बरु तलाउको भित्रैदेखि एउटा सुरुङ्ग खनेर त्यही सुरुङ्ग मार्गबाट ती बहुमुल्य वस्तुहरू यहाँबाट अन्तै ओसारी सकेका छन् ।

म भने आफ्नै धुनमा अपरिचित व्यक्ति जस्तो भएर त्यो तलाउ, ती मानिसहरू र त्यस वरपरको सम्पूर्ण परिवेश र गतिविधिको एकनासले अवलोकन गरिरहेको हुन्छु । तलाउ भित्र बाँकी रहेका थोरै पानीमा विभिन्न किसिमका माछाहरू देखा पर्छन् । अरु माछाहरू भन्दा शक्तिशाली देखिने एक हुल माछा त्यो पानी भित्र मस्त भएर अगाडिको आहारा खाँदै अगाडि बढ्दै गरेर प्रत्येक कुना छानमार्दै गइरहेका हुन्छन् । केही माछाहरू पानी बाहिरको हिलो भित्र टाउको घुसारेरकेही बस्तु फेला पारे जस्तै तान्न खोज्दा भित्रै अड्कीएर बल लगाए जस्तो गरि पुच्छर आकाशतिर फट्फट्याईरहेका देखिन्छन् । त्यो दृश्य अलि रोमान्चकारी र तलाउको डीलमा उभिएका अन्य माछाहरूलाई लोभ्याइरहेको जस्तो पनि देखिन्थ्यो । सायद अन्य माछाहरूसित सहयोगकालागि गुहार मागी रहेको पनि हुन सक्छन् । एकदम खुसीले हो वा घमण्डको उन्मादले होकेही माछाहरू  उत्तेजित भएर समुन्द्रमा पाइने शील माछा जस्तै पानीमा उफ्रेर टाउको दाँया बाँया हल्लाउदै थिए । त्यहाँबाट उछिट्टीएर आएका पानीका छिटाहरू डिलमा छटपटाइरहेका माछाहरूको जिउमा परेर शीतलता पाए पछि तिनीहरू एकछिन सलबलाउन थाल्छन् ।

पानीमा जान नसकेर हिलो मै लडिबुडी खेलिरहेका माछाहरू सबै हिलाम्य भएर आकार फरक भएता पनि रङ्ग सबैको एउटै देखिएको हुन्छ । कुनै–कुनै बेला तिनीहरू डिलतिर आउँछन्, अलि अलि तातो लागे पछि छटपटाइ फेरि तलाउमै फर्किन्छन् । तर पानीसम्म पुग्न नसकेर हिलोमै हराउँछन् । डिलमा भएका केही माछाहरू पानी  पानीमा हाम फाल्ने असफल प्रयास गरिरहेका हुन्छन् । तिनीहरूको मुख र आंत प्याक्प्याक्ति सुकेर छटपटाइरहेका देन्छिन् ।

त्यतिकैमा विभिन्न प्रकारका  हुलका हुल जङ्गली जनावरहरू पानीको तिर्खा मेटाउन त्यो तलाउतिर आउँछन्। डीलमा छटपटाइरहेका माछाहरू देखेर केही जनावरहरू तर्सिछन् र उफ्रेर पछाडितिर भाग्न थाल्छन् तर केही मांशहारी जनावरहरु भने ती माछाहरूसँग खेल्दा खेल्दै एक एक गरि टिपेर खान शुरु गर्छन । एक हुल सुंगुर आएर केही माछाहरूलाई थुतुनोले घचेटेर पानी भएतिर पुर्याइदिन्छन्। श्यालहरू ठूला जनावरहरूको टांङमुनि छिरेर प्याट्ट माछा टिपेर सुख्खा बालुवातिर लैजादै गर्दा कुनैबेला माछा मुखबाट फुत्केमा तिनिहरूलाई खोज्न बालुवा खन्न थाल्छन्, जसले गर्दा ति माछाहरू बालुवाले पुुरिन्छन् जुन कुरा स्याललाई थाहै हँुदैन र तिनिहरू फेरि अर्को माछा लिन जान्छन् र यो खेल केही समयसम्म चलिरहन्छ । ती श्यालहरूलाइ छकाइरहेको दृश्यले मलाई पनि आनन्दको अनुभूति प्रदान गरि रहेको हुन्छ ।

तलाउका माछा, वरपरका किरा फट्याङ्ग्रा र चरा चुरङ्गी सबै छटपटाईरहेका हुन्छन् । मलाई पनि फेरी श्वास प्रश्वास प्रकृयामा अप्ठेरो भैरहेकै समयमा मेरो खुट्टा मुन्तिरको धर्ती धसेजस्तो लाग्छ । आफू पनि त्यसै भित्र धसेजस्तो महसूस गर्छु

एकैछिनमा एउटा ठूलो बथानमा गैंडाहरू आएर बालुवामा पिसाव गर्छन्; उक्त झरेको पिसाव माछाहरूमाथि खस्दा माछाहरू तडपिन्छन् र एकैछिनमा त्यो मुत्र चिसो भएपछि फेरि आनन्द लिन्छन् तर क्षणभरमै त्यो पानी सम्झेको पिसाव बालुवामा बिलाउँछ र माछाहरू फेरि फ्याक्क फ्याक्क गर्न थाल्छन्। एउटा गैंडा यति धेरै मात्रामा पिसाव गर्छ की त्यसले एक हुल पुरै माछालाई तलाउको पानीमा पुर्याइदिन्छ । तिनिहरूको पुरै शरीर पानीमा डुबेर पखालिएर नयाँ जीवन पाएको उमङ्गमा सफा रेशमी पखेटा चम्काउँदै कसैको वास्ता नगरी सुलुलु पौडिन्छन्, अगाडि परेका किराहरूलाई छानि छानि खाँदै अगाडि बढ्दै गर्छन् । त्यसैगरी भंैसीहरू आएर गैंडाहरू जस्तै एक पछि अर्को गरेर सबै थपाक्क थपाक्क गोबर गरिरहेका हुन्छन्, जसभित्र ढाकिएका माछाहरू निसास्सीएर गोवर भित्रै अलि  बेर छटछटीएर मर्छन् । तलाउको वरपर रहेका साना–साना बुट्ट्यानहरू भित्रबाट विभिन्न थरीका भ्यागुताहरू विभिन्न अवाजमा कराएको सुनिन्छ ।

त्यो तलाउमा बाहिरबाट आएका साना–साना नालाहरू, कोही तलाउसम्मै पुगेका हुन्छन् भने कोही तलाउमा नपुग्दै बालुवामा सुकेर भित्रभित्रैबाट तलाउसम्म रसाएका हुनसक्छन् । ती नालाहरूमा पनि विभिन्न प्रकार र साइजका माछा देखिन्छन् । कोही तलाउतिर बगिरहेका र कोही उल्टो दिशातिर फर्किरहेका देखिन्छन् । तलाउबाट उल्टो दिशा तिर फर्किरहेका माछाहरू साङ्केतिक भाषामा तलाउतिर गईरहेका माछालाई व्यङ्ग गर्दै भनिरहेका थिए ।

“जाउ जाउ जाँदै गर तर पहिलात तिमिहरू पानीमा नपुग्दै बालुवामा तड्पेर मर्नेछौ, केही गरि उफ्रेर गइहाले पनि हिलोमा डुबेर सङ्घर्ष गर्दागर्दैै अन्तमा हिम्मत हारेर अन्तिम श्वाससम्म त्यसैमा छटपटिनेछौ । हामीहरूलाई हेर तलाउको पानीमा इच्छा पूर्ति हुन्जेल सम्म आनन्द लियांै, त्यो हिलो पनि भोग्यांै, बालुवामा सङ्घर्ष गर्यांै, अनि यी अहिले पनि हेर बाहिरबाट आइरहेको नयाँ पानीमा  पनि हामी नै छौं” ।

केही ठूल्ठुला माछाहरू ती कुलोहरूमा भएका स–साना माछाहरूलाई टिप्दै निल्दै गरिरहेका थिए। माथि आकासमा एक्कासी काग, गिद्द, चील, सलह, माहुरी, आदि हुइकेर म भएतिरै आउछन् । भुइमा हेर्दा विभिन्न आकार र प्रकारका सर्प, बिच्छी, किराहरू, आदि भन्भनाइरहेका देखिन्छन् । अलि पर एउटा सानो गुफा भित्रबाट टर्च लाइट जस्तो आँखाले यम्मानको ंिसह यो सबै गतिविधिलाई  मुक दर्शक झै हेरीरहन्छ। कुन्नी के सोचीरहेको थियो भनेर उसको मनको कुरा भने पढ्न सकिएन।

म त्यो तलाउको डिलमा उभिएर यताउति हेर्छु । आफु एक्लै भएको महसुस हुँदा डराएर त्यहाँबाट बाहिर निस्कने प्रयास गर्छु । खुट्टाहरू दलदलमा फस्छन् । एउटा खुट्टा निकाल्न अर्कोमा बल लगाउँदा त्यो झन् गहिरोमा फँस्छ । पाइन्टको बाउला भित्रबाट किराहरू सलबलाएको जस्तो हुन्छ । वरपरबाट सर्पहरू एक अर्कोसँग बेरिएर म भएतिरै आउछन् । झाडीमुनिबाट एउटा गङ्गटो क्रुद्ध भएर आँखा चलमलाइरहेको देखिन्छ । माथि उत्तरतिरको आकाशमा भयङ्कर आवाजमा गिद्ध कराएको सुन्छु । म धेरै डराउन थाल्छु ।

एकै छिनमा तीन तिरबाट गजवको बेगले हुरी चल्छ । त्यो हावाको भुमरी सँगै खस्रो बालुवा पनि हुत्तिएर आउछ । म हिलोबाट उम्किनका लागि धेरै बल लगाउँछु । भाग्यबस मेरो खुट्टामुनि कङ्काल भेटिन्छ, जसले मलाई डुब्नबाट बचाँउछ । एउटा नील गाई मेरो नजिक आउछ, यत्तिकैमा म त्यो गाईको पुच्छर समातेर अफुलाई हिलोबाट बाहिर निकाल्न सफल हुन्छु तर हावासँगै हुत्तिएर आएको बालुवाले मेरो नाक, मुख, आँखा सबै टालिन्छन । श्वास फेर्न कठिन हुन्छ र घाँटी सुकेर आउँछ । मुखले श्वास फेर्ने प्रयास गर्दा बालुवा आएर पुरै मुख टालिन्छ । त्यतिकैमा फेरि उत्तर दिशाबाट शीतल हावासँगै हलुकाझरी पर्छ, जसले शीतलता प्रदान गर्नुकासाथै श्वास प्रश्वास प्रक्रियमा सजिलो हुन्छ । त्यो आनन्द क्षणभर पनि नटिक्दै त्यो शीतल हावा र पानी हुरी र असिनामा परिणत भएर गोला बर्षाए जस्तै भुईमा खस्छन् । एकछिन अगाडि पुच्छर ठाडो पारेर उफ्रिरहेका, दगुरिरहेका र जोर जोरले काराईरहेका जनावरहरू कतिखेर मानिसमा परिणत हुन्छन् पत्तै हुदैन।

सबै छटपटाई रहेका, अन्धाधुन्ध दगुरिरहेका, एकआपसमा ठोक्किरहेका, भुईमा लडिरहेका र कोही हावामा उडिरहेका देखिन्छन् । तलाउका माछा, वरपरका किरा फट्याङ्ग्रा र चरा चुरङ्गी सबै छटपटाईरहेका हुन्छन् । मलाई पनि फेरी श्वास प्रश्वास प्रकृयामा अप्ठेरो भैरहेकै समयमा मेरो खुट्टा मुन्तिरको धर्ती धसेजस्तो लाग्छ । आफू पनि त्यसै भित्र धसेजस्तो महसूस गर्छु । जोरसित हामफाल्ने प्रयास गर्दा खुट्टा उचाल्न सकिरहेको हुदैन। एकदम आत्तिएर छटपटाउछु । घाँटि सुकेर आउँछ । केही सीप नलागेर जोरसित कराएर हात खुट्टा बजार्दा एक्कासी चिच्याएको आवाजले घरका सबै सदश्यहरूको निद्रा खुलेको रहेछ । उनीहरू मलाई घेरेर घचघच्याउदै के भयो के भयो ? भन्दै आँत्तिएका थिए ।

“किन कराउनुभएको ?” स्वास्थ्यमा केही समस्या पो छ कि ? कतै देवी देवताहरूको दोष पो छ कि ? भन्दै प्रश्न गरिरहेका हुन्छन् । अद्र्ध निन्द्रामा मेरो आँखा खुल्दा घरका सबै सदस्यहरू मेरो वरपर देखिन्छन् ।

प्रश्नै प्रश्नहरूको बाढी आएको हुन्छ, चिटचिटी पसीना आईरहेको हुन्छ,  जीउ पुरै काँपिरहेको हुन्छ । कसैले मलाई दिएको एक गिलास पानी पिएपछि अलि होस आएर यताउति हेर्दा आफूलाई आफ्नै अ‍ोछ्यानमा पाएर एक छिन आँखा बन्द गरेर सुस्ताउने प्रयास गर्दा हिजो बिहानै देखि राती सुत्ने बेला सम्म दिन भरी लगाएर नेपाल एकिकरणको समय देखिरांणा साशन काल हुंदै बर्तमानसम्म नेपालका सबै सासकहरूको संक्षिप्त इतिहास, सुगौली सन्धि, नेपालमा विभिन्न समयमा भएका जन आन्दोलनहरू, भारतीय स्वतन्त्रता आन्दोलन, भारत चीन यूद्ध, र नेपाल र चीनबीच सागरमाथा सम्बन्धि बिवाद जस्ता विभिन्न विषय सम्बन्धमा इन्टरनेटमा उपलब्ध रहेका बिभिन्न माध्यमहरूबाट प्राप्त जानकारीहरू, कुन सामग्री कति हदसम्म सत्य थिए भन्ने कुरा छुट्ट्याउने प्रयासै नगरीहतार हतारमा सर्सर्ती पढेको थिएँ भन्ने कुरा सम्झदै एउटा गरीब भूपरिवेष्ठीत मुलुक र अदूरदर्शी नेतिृत्व भएको राष्ट्रका जनताले कसरी आफ्नो भाग्य बदल्न सक्छन् भनेर मन मनै आफैलाई प्रश्न गर्दै टोलाइरहेकै क्षणमा पूर्व दिसाबाट आएका रवि किरण झ्यालबाट छिरेर मेरो सम्पूर्ण जिउमा आच्छादित हुंदा शरीरमा नयाँ उर्जा पैदा भए जस्तो भयो । जुरुक्क उठेर बाहिर हेर्दा अद्भूत प्रशन्नताका साथ सुर्य देव मुस्कुराइ रहेका थिए ।

(लेखक डडेल्धुरा बहुमुखी क्याम्पसका उप–प्रधाध्यापक हुन्)