शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

विदेशबाट फर्किएकालाई क्वारेन्टीनमा राख्न होटल तथा रिसोर्ट प्रयोगमा ल्याइने

दैनिक नेपाल २०७७ जेठ ९ गते १०:२९

काठमाडाैं, ९ जेठ । विदेशबाट फर्किएका नागरिकलाई राख्न आवश्यक क्वारेण्टीन व्यवस्थापनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याइने भएको छ ।

शहरी विकास मन्त्रालयमा बिहीबार भएको छलफलमा राज्यमन्त्री रामवीर मानन्धरले देशभरका व्यवस्थितरूपमा चलेका होटल तथा रिसोर्टलाई क्वारेण्टीनबनाउनेबारे आवश्यक परामर्श थालिएको बताएका छन् ।

उनका अनुसार हाल काठमाडौं उपत्यकामा ५१८ श्यया तयारी अवस्थामा छन् । देशभर भने झण्डै ६५ हजार क्वारेण्टीन तयारी अवस्थामा रहेकामा २५ हजार नागरिक क्वारेण्टीनमा छन् ।

देशभर क्वारेण्टीनकाे अनुगमन र सहजीकरणको जिम्मेवारीमा रहनुभएका राज्यमन्त्री मानन्धरले देश सङ्कटमा परेका बेला ठूला होटललाई क्वारेण्टीनका रूपमा व्यवस्थापन गर्न सरकारले पहल थालिरहेको बताउँदै यसमा व्यवसायीबाट आवश्यक सहयोगका अपेक्षा गरे ।

राज्यमन्त्री मानन्धरका अनुसार हाल खाली रहेका होटललाई निश्चित रकम तिरेर सरकारले नागरिकको जीवनरक्षाका लागि प्रयोग गर्न सक्नेछ । विदेशमा विपदमा परेका नेपाली नागरिकलाई सरकारले उद्धार गरी ल्याएको अवस्थामा काठमाडौं उपत्यकामा आवश्यक क्वारेण्टीनका लागि पूर्वतयारी गरिएको बताउँदै खाडी मुलुकमा श्रमका लागि गएका नागरिक सरकारको प्राथमिकतामा रहेको बताए ।

हवाईमार्ग भएर फर्कनेका लागि उपत्यकामा अस्थायी क्वारेण्टीन बनाइने र सम्बन्धित स्थानीय तहमार्फत व्यवस्थापन गरिनेबारे सरकारले छलफल गरिरहेको राज्यमन्त्री मानन्धरले जानकारी दिए ।

केही स्थानमा क्वारेण्टीन व्यवस्थापनमा कमजोरी देखिएको बताउँदै राज्यमन्त्री मानन्धरले तत्काल सुधारका लागि सरकारले आवश्यक समन्वय गरिसकेको जानकारी दिए । क्वारेण्टीनव्यवस्थापनको खर्च सङ्घीय सरकारले व्यहोर्ने बताउँदै राज्यमन्त्री मानन्धरले निर्धक्क भएर व्यवस्थापनमा लाग्न देशभरका स्थानीय सरकारलाई आग्रह गरे ।

कार्यक्रममा अनुगमन तथा सहजीकरणको जिम्मेवारीमै रहेका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले सरकारले बनाएको मापदण्ड अनिवार्य रूपमा पालना गर्न स्थानीय सरकारलाई आग्रह गर्नुभयो दार्चुला, बाँके, बर्दिया, जुम्ला, बाजुरा, पर्सा, कैलाली र कञ्चनपुरलगायत जिल्लामा भारतबाट आउने नागिरककाे व्यवस्थापनमा समस्या देखिए पनि राज्यमन्त्री रावतले व्यवस्थापनमा कमजोरी हुन नदिइने बताए ।

प्रतिक्रिया
सम्बन्धित