मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

नयाँ नक्सालाई लिएर मैदानमा आए बामदेव, त्यो प्रस्ताव मेरो हो, एक्लै जस लिन खोज्ने ?

दैनिक नेपाल २०७७ जेठ ७ गते ८:४५

काठमाडौं, ७ जेठ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष एवम् प्रभावशाली नेता बामदेव गौतमले पार्टीको निर्देशनलाई सरकारले पालना गरेर नयाँ नक्सा जारी भएको भन्दै धन्यावाद दिएका छन् ।

उपाध्यक्ष गौतमले बुधबार विज्ञप्ति जारी गरेर पार्टीको निर्णयलाई सरकारले पालना गरेको बताएका हुन् । उनले नयाँ नक्सा जारी भएको विषयलाई एउटा व्यक्तिले मात्रै जस लिने गरी प्रचारवाजी नगर्न घुमाउरो भाषामा सचेत गराएका छन् ।

‘अनुयायीहरू व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ’, गौतमले भनेका छन्, ‘यो निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रियाअनुसार भएर, नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ ।’ उनले व्यक्तिका नाममा देवत्वकरण गर्ने परम्परा अन्त्यको माग गरेका छन् ।

‘यसपटक पनि छुटेका नेपाली भू–भाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा मैले नै राखेको यहाँहरू सबैमा जानकारी गराउँछु’, गौतमले भनेका छन् ।

‘वर्तमान सरकारका अनेकन कार्य आलोचनायोग्य हुँदाहुँदै पनि यो काम भने स्वागतयोग्य छ’, उनले भने, ‘किनभने, सिमाना व्यवस्थापनसँग सम्बन्धित हाम्रा ऐतिहासिक अभिलेखलाई यो नक्साले अझ बलियो प्रमाणका रुपमा आत्मसात् गर्दै आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र उर्जा दिने काम भएको छ ।’

‘हामीले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्छ’, उपाध्यक्ष गौतमले भनेका छन् ।

‘ऐतिहासिक तथ्य, प्रमाण र लिखतद्वारा निर्दिष्ट गरिएको आधारमा नेपाल सरकारले हाम्रो देशको नयाँ नक्सा सार्वजनिक गरेको छ’, उनले भने ।

‘यसप्रति समस्त नेपाली जनसमुदाय प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारप्रति आभारी छ’, गौतमले भनेका छन् ।

‘नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने सन्दर्भमा मैले शुरुदेखि नै पार्टीमा सशक्त विचार र जोडदार माग राख्दै आएको म सबैमा स्मरण गराउन चाहन्छु’, गौतमले विज्ञप्तिमा भनेका छन् ।

प्रधानमन्त्री ओलीले संसदमा भारतको आलोचना गर्दै भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर सरकारले नयाँ नक्सा जारी गरेको बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित