बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

प्रकृति र वातावरणीय असन्तुलनको प्रभाव

वीवी श्रेष्ठ २०७७ जेठ ७ गते ८:००

वीवी श्रेष्ठ

अन्ततः विश्वको शक्तिशाली मुलुकहरू समेत समयको यो चक्रसँगै कमजोर सावित भएर हार स्वीकार्न विवश बनेका छन् । अहंमताको कुनै पनि परिधि हुँदैन रहेछ । स्थान र भुगोलअनुसार अहंमताको आयामहरू देख्न सकिन्छ । भौगोलिक बनावट र प्राकृतिक उपमावीचको अहंमता अन्तत मानव जातिको लागि मात्र नभइ अन्य सजीव वस्तुका लागि समेत प्रतिउत्पादक बनिदिँदोरहेछ ।

चेतनाको विविधताभित्र पनि अहंमताको परिधि फरक फरक हुँदो रहेछ । यसको आयमभित्रको विविधतामा पाइने एकलव्यतामा अहंमताको अणु पाइन्छ । जसरी विश्वमा देशीय मान्यतामा समानता पाइँदैन, मानव जातिमा पनि समानता पाइँदैन । गुण र दोषको आधारमा भन्दा पनि अहंमताको पराकाष्ठमा त्यसको मापन गरिएको हुन्छ ।

विश्वमा नै अनेकौ प्रकारको देशीय शीतयुद्ध जारी रहिरहँदा एकले अर्काको अस्तित्व स्वीकार नगर्ने र आफूलाई सर्वश्रेष्ठ दावी गर्नेहरूलाई कोरोना रोगले शीतल बनाइदियो । भौतिक संरचना विकासका लागि एउटा सूचक हुन सक्ला, तर समग्रता हुन सक्दैन । भौतिक र आर्थिक रुपमा सम्पन्नतालाई नै सफलता ठान्नेहरू कोरोनाका अगाडि निरिह सावित भइदियो ।

संसारका सबै वस्तुमा आफ्नो अधिपत्य जमाउन खोज्नेहरूले प्राकृतिक विपत्तिका अगाडि लम्पसार बनिदियो । यहि प्रकृतिको महिमा बुझ्न नसक्दा विश्वका शक्तिशाली मुलुकहरू हायकायल भइरहँदा अबको विकल्प के भन्नेबारेमा पनि वैचारिक वहसमा कृषिलाई मान्न सकिन्छ । कृषिको अधिकतम प्रयोगले नै वातावरणीय सन्तुलनका साथै प्राकृतिक वातावरणलाई नै सहज बनाउन सकिन्छ ।

त्यहि सहजताभित्र नै मानव जीवनको सुन्दर पक्ष समेटिएको हुन्छ । विश्व नै कोरोना रोगले विक्षिप्त बनिरहँदा प्राकृतिकको रक्षा र वातावरणीय अनुकूलका लागि कृषि नै अवको मुख्य बाटो हो भन्ने कुरामा अब अल्मलिनु हुँदैन । युगमा विश्वस्त हुन नसके पनि आश्वस्त भइरहँदा कलियुगको अवको समाप्ति भनेको यहि समयपछि आरम्भ युग भनेको अवको युग बन्न सक्दछ । हतियारसहित परमाणुको उत्पादन र त्यसले प्राप्त गर्ने शक्तिका अगाडि प्राकृतिक विपक्तिका कारण भोगेको मानवीय क्षतिले पनि समग्र विश्व संरचना गलत दिशातर्फ गइरहेको पुष्टि हुन्छ ।

शक्तिका लागि गरिने अस्त्र त केवल साधन मात्र रहेछ भन्ने प्रमाणित भएको छ । हतियारबाट प्राप्त भएका शक्ति क्षणिक र विनासकाले तथा दम्भमिश्रित हुनेरहेछ, त्यहि अहंमता र दम्भले मानव जातिलाई अन्तत विनासतर्फ अग्रसर गराउँदछ भन्ने कुरा कोरोना रोगले पुष्टि गरेको छ । विश्व सूचकांकको मापन विषय आर्थिक, भौतिक र हतियार सहितको शक्तिलाई मात्र मान्यता दिएता पनि यो गलत सावित भएको छ । प्राकृतिक र वातावरणीय प्रभावलाई बाहिर राखेर गरिएको सूचकांकले यो परिभाषालाई उल्टाइदियो । कोरोना रोगका बारेमा विश्वका सर्वशक्तिमान राष्ट्रहरू समेत हार मानेका सन्दर्भमा वातावरणीय पर्यावरण र प्राकृतिक सन्तुलन नै मुख्य कारण रहेछ भन्ने समेत अझै सोच्न सकेको पाइँदैन ।

मानव जातिलाई बाँच्नका लागि गास, वास र कपास मात्र होईन, वातावरणीय अनुकूल प्रधान हुन्छ । प्राकृतिक अनुपमता साध्य हो जीवनका । जसलाई बाहिर राखिएर गरिएको जीवनको परिभाषा पूर्ण बन्न सक्दैन । हामी मानव जाति यहि कमीकमजोरीमा टेकेर बाँचिरहेका छौँ । त्यसै कमजोरीमा हामी विलिन हुँदै छौ । वेलावेलामा हुने प्राकृतिक विपत्तिमा समेत लापरवाही र विकासका नाममा गरिने तिकडम अहिले विश्वमा नै मानव जातिका लागि महँगो बनिदियो ।

मानव जातिको जन्मसँगै मृत्यृ पनि निश्चित भएजस्तै प्राकृतिको पनि यो चक्र चल्ने गर्दछ, फरक यति मात्र हो कि हामी समय अवधिभित्र नै विलिन हुँदैछौ । मानव जातिले प्रकृति र वातावरणसँग समन्वय गर्न सक्दछ, नकि चुनौती, त्यहि चुनौतीको परिणाम हो, कोरोना । प्रकृतिको प्रतिनिधिको रुपमा आएको कोरोनालाई समयमा नै चिन्न सकेनौ भने भोलिका दिनमा आउने भयाभह अवस्थाको सिर्जनामा कसले जिम्मेवारी लिने ? हरेक वस्तुका आफनै सीमा र परिधि रहेको हुन्छ, त्यही परिधिमा रहेर अगाडि बढ्न सकेमा नै त्यसले ग्रहण गर्न सक्दछ । परिधि र सीमाभन्दा बाहिर गएर गरिने हत्कण्डाका उपज कोरोना हो ।

प्राकृतिक विनास र वातावरणीय असन्तुलनलाई अब पनि समयमा नै चिर्न सकिएन भने कोरोना रोग केहि समयका लागि विश्राम लिएता पनि प्रकृतिले नयाँ रोगका आविश्कार गरेर मानव जातिको यो ज्यादतीविरुद्ध आफ्नो उपस्थिती प्रकट गरिरहन्छ । वातावरण र प्राकृतिकका लागि देश होइन, भूगोल प्रधान हुन्छ, मानव निर्मित देश र सीमामा यसको परोध सरोकार राख्दै, जहाँ प्रकृतिको बढि दोहन र वातावरणी प्रतिकुल हुन्छ, त्यहाँ वढि विनास निश्चित रहन्छ । जुन नियम प्रकृतिमा पनि लागू हुन्छ ।

विश्वका नै शक्तिशाली देशहरू विभिन्न रोगका रोग प्रतिरोधक औषधिहरू उत्पादन र रोग नियन्त्रणमा सफल भइरहँदा यो रोगसँग लड्ने औषधिको निर्माण गर्न किन असफल भए ? गम्भीर रुपमा सोच्न जरुरी भइसकेको छ । धर्तीका तापक्रम होस वा, वातावरणको अवस्था, यो सबैमा परिधीको सीमा पाउन सकिदैन ।

मानव जातिले अबका दिनमा आफ्नो अस्तित्वको रक्षा गर्ने हो भने प्रकृतिको संरक्षण र वातावरणीय अनुकूलतामा ध्यान दिनुपर्ने हुन्छ । प्रकृतिको निश्चित परिधि हुँदैन, समग्रतामा धर्तीमा आफूमा परेको प्रभावलाई नै यसले नियमन गर्दछ, जुन नियमन अहिले कोरोना रोगका माध्यामबाट गरिरहेको छ । आफूलाई सर्वशक्तिमान भन्ने देशले मात्र होइन, भूगोलमा सानो देशले समेत यो बुझ्न जरुरी भइसकेको छ । विकास र प्रतिष्पर्धाका नाममा गरिने अस्वस्थ गतिविधिको समयमा नै न्यूनकरण र अन्त्य गर्न सकिएन भने मानव जातिको पतन निश्चित छ । विषयको गाम्भिर्यताको विविधतामा सकारात्मक वहसले नै अहिलेको निकास दिन सक्दछ । नत्र दम्भ र अहंम मिश्रित यहि भावले लामो समयसम्म हामी हाम्रो अस्तित्व जोगाउन सक्दैनौँ ।

प्रतिक्रिया
सम्बन्धित