शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

आयोगद्वारा ईदका दिन सार्वजनिक विदा दिन सरकारसँग आग्रह

दैनिक नेपाल २०७७ जेठ ६ गते २०:३८

काठमाडौं, ६ जेठ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदाको धार्मिक एवम् सांस्कृतिक पर्व ईदका अवसरमा सार्वजनिक विदा दिन नेपाल सरकारसँग आग्रह गरेका छन् ।

अध्यक्ष अन्सारीले मंगलबार नेपाल सरकारका मुख्यसचिव लोकदर्शन रेग्मी र गृहसचिव महेश्वर न्यौपानेलाई भेटेर ईद पर्वका अवसरमा सार्वजनिक विदा दिन माग गरेका हुन् ।

अध्यक्ष अन्सारीको आग्रहलाई मुख्यसचिव रेग्मी र गृहसचिव सकारात्मक रुपमा लिएको जनाएका छन् । अध्यक्ष अन्सारीले केही दिन अगाडि प्रधानमन्त्री केपी ओलीसँगको कुराकानीका बेला मुस्लिमहरूको ईदसहितका पर्वमा सार्वजनिक विदा दिनुपर्ने माग गरेका थिए । प्रधानमन्त्री ओलीले सो मागबारे ध्यान दिने आश्वासन दिएको अध्यक्ष अन्सारीले बताए ।

मुस्लिम समुदायको विशेष पर्व ईद जेठ ११ गते आइतबार वा सोमबार १२ गतेमध्ये एक दिनपर्नेछ । सो दिन विदा दिनुपर्ने आयोगको माग छ ।

नेपाल सरकारले गत वर्ष मुस्लिम आयोगको आग्रहमा मुस्लिम समुदायहरूको पर्व ईदका बेला सार्वजनिक विदा दिएको थियो ।

सरकारले मुस्लिम समुदायको ईद पर्वको विदालाई यस पटक जातीय विदामा राखेको छ । जातीय विदाबाट हटाएर सार्वजनिक विदा दिनुपर्ने अध्यक्ष अन्सारीको माग छ ।

आयोगको जेठ ४ गतेको बैठकले ईदुल फित्र (ईद), ईदुल अज्हा (बकर ईद), मुहम्मद जयन्ती (मुहम्मद दिवस), मुहर्रम र शबे वारातमा एक–एक दिन सार्वजनिक विदा दिनुपर्ने मागसहित नेपाल सरकारसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित