बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

यो सरकार कुनै देशको आशिर्वादले बनेको होइन : प्रधानमन्त्री

लिम्पियाधुरा विवादास्पद भूमी होइन, नेपालको हो, नक्सामा जोड्यौं, यो कुनै तमासा होइन

दैनिक नेपाल २०७७ जेठ ६ गते १३:१५

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार नेपाली जनताले बनाएका कारण कुनै देशको आशिर्वादले बनेको भन्ने भ्रम नपाल्न सुझाव दिएका छन् ।

प्रतिनिधि सभामा नीति तथा कार्यक्रमको जवाफ दिने क्रममा उनले मंगलबार सम्बोधन गर्दै भने,‘यो जनताले बनाएको सरकार हो, कुनै देशको राजदूतले टिकाएको, कसैको आशिर्वादले कायम रहेको भन्ने भ्रम नपाले हुन्छ ।’

सतहमा कुनै देशको राजदूतको दौडधुपले सरकार टिकेको भन्ने हल्ला चलाइएको विषयमा जवाफ दिँदै भने,‘हामीले क्याबिनेटमा कुनै देशको राजदूत बस्नेसम्मको शासनलाई जितेर आएका हौं, यस्ता हल्ला र निम्छरा कुरा गर्न सुहाउँदैन, कुनै देशले गर्न पनि सुहाउँदैन ।’

नेपालमा कुनै पनि तानाशाहको उदय हुन नसक्ने बताउँदै उनले भने,‘भ्रष्टाचारविरुद्धमा यो सरकारले कुनै सम्झौता गर्दैन, यो सरकारले छानबिन सुरु गरेको छ । यो सरकारले काम अगाडि बढायो भन्ने विषयमा जनता जानकार छ ।’

सम्बोधनका क्रममा उभिन गाह्रो भएपछि रोष्ट्रममा नै कुर्सीमा बसेका प्रधानमन्त्री ओलीले नयाँ नक्साबारे जोडे,‘०१८ सालदेखि तिरो उठाउने काम भएको छ, लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितको भूभाग हाम्रो हो ।’

अब लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषय ओझेलमा पर्न नसक्ने बताउँदै उनले भने,‘त्यो विवादास्पद भूमी होइन, त्यो हाम्रो भूमी हो । कुटनीतिक हिसाबले पनि सो भूमी हामी ठोस रुपमा प्रयास गर्नेछौं ।’

उनले देखाउनका लागि या राष्ट्रवाद देखाउनका लागि मात्र नभएर नक्सा तमासाका लागि प्रकाशित नगरिएको बताए ।

प्रतिक्रिया
सम्बन्धित