शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

अब डिएसपी ‘म्याडम’हरू

संगठनको नेतृत्व सम्हाल्न नपाउने नियती अरुले पनि भोग्नुपर्ला ? 

दैनिक नेपाल २०७७ जेठ ६ गते १२:००

काठमाडौं, ६ जेठ । नेपाल प्रहरीका ६० जना प्रहरी निरिक्षक (इन्स्पेक्टरहरू)को प्रहरी नायव उपरिक्षक (डिएसपी)मा बढुवा सिफारिमा परे चार अधिकृत महिला ।

आफ्नो ब्याचीमा बढुवा भएका करिब ३० जना मध्येमा उनीहरू पर्नुलाई कसैको कृपा नभई कार्य क्षमता र दक्षता भएको बढुवा सूचीको नम्बरले प्रष्ट बनाउँछ ।

पूर्णिमा चन्द, शर्मिला गुरुङ, चञ्चला श्रेष्ठ र रुपा लावुङ डिएसपीका लागि सिफारिसमा परेका हुन् । चन्द १२, गुरुङ १६, श्रेष्ठ २१ र लाबुङ २३ नम्बरमा बढुवा सिफारिसमा परेका हुन् । चन्द, गुरुङ, श्रेष्ठ र लाबुङ २४ भदौ, २०६७ मा प्रहरी इन्स्पेक्टरबाट सिधै सेवा प्रवेश गरेका अधिकृत हुन् ।

अब फूली लगाएको केही दिनमा नै उनीहरू ‘डिएसपी म्याडम’ हुनेछन् । ‘भर्ती हुँदा नै अब्बलता देखाएका महिला नेतृत्वले पदोन्नती पाउनु स्वभाविक हो, यसले सुरक्षा निकायमा काम गरे कुनै पनि प्रकारको विभेद छैन भन्ने पक्का हुन्छ’, सुरक्षा मामिला जानकारहरू भन्छन्,‘अहिले सुरक्षा निकायका तीन वटै निकायमा नेतृत्वमा महिलालाई स्थान दिइएको हैन, स्थानका लागि कार्य सम्पादनमार्फत हकदार मानिन्छ ।’

नेपालले समावेसी नीति लिएपछि महिला, विभिन्न समुदायको राज्य संरचनामा प्रतिनिधित्व हुँदै आएको छ । यी महिला प्रहरी अधिकृतहरु भने खुला प्रतिस्पर्धाबाट नै प्रहरी निरीक्षकमा आएका थिए ।

त्यसो त कतिपय अधिकृत महिलाले मुख्य जिम्मेवारी सम्हालेका पनि छन् । प्रहरी तर्फकै प्राविधिकमा आशा सिंहको नेतृत्वको अहिले नै छ । उनी नेपाल प्रहरीको अतिरिक्त महानिरिक्षक (एआईजी) हुन् ।

प्रहरीमा थोरै मात्र छन्, महिला अधिकृतहरू । त्यस मध्ये पनि पुरुषहरूसँगको स्पर्धामा अब्बल देखिँदै बढुवामा उक्लिनु चानचुने कुरा होइन । कार्य सम्पादन मुल्यांकनमा अन्यलाई उछिनेर अगाडि बढ्न संगठनभित्र पनि कम चुनौति छैन 

यस्तै प्रहरी नायव महानिरिक्षक (डिआईजी), प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) र प्रहरी उपरिक्षक (एसपी)मा पनि महिलाको नेतृत्व अगाडि बढेको छ ।

प्रहरीमा थोरै मात्र छन्, महिला अधिकृतहरू । त्यस मध्ये पनि पुरुषहरूसँगको स्पर्धामा अब्बल देखिँदै बढुवामा उक्लिनु चानचुने कुरा होइन । कार्य सम्पादन मुल्यांकनमा अन्यलाई उछिनेर अगाडि बढ्न संगठनभित्र पनि कम चुनौति छैन ।

‘यो बढुवाको कुरा मात्र होइन, नेपाल प्रहरीमा क्षमता र दक्षतालाई देखाउन सक्दा महिला अधिकृतको स्थान पनि सुरक्षित हुन सक्छ भन्ने भान भएको छ’, अधिकारीहरू भन्छन्,‘यस्ता अब्बल अधिकृतले संगठनको नेतृत्व हाँक्ने पनि क्षमता राख्छन् ।’

हुन त प्रहरीको सर्वोच्च नेतृत्व प्रहरी महानिरिक्षक (आईजी)को जिम्मेवारीमा अहिलेसम्म महिलाले पाएका छैनन् । प्रहरीमा उच्च तहमा पहिलो पटक डिआईजी पदमा पुगेकी थिइन् पार्वती थापा ।

निष्पक्ष र सापेक्षतामा बढुवा हुनुपर्ने अवस्थामा पनि विभेद भएको भन्ने कतिपयको टिप्पणी आएकै थियो । त्यसको उदाहरणीय पात्र हुन्, बिमला थापा । उनलाई बढुवाका क्रममा विभेद गरी प्रहरीको नेतृत्वसम्म पुग्न रोकिएको चर्चा चलेको थियो । त्यसैले सर्वोच्च अदालतसम्म पुग्न उनी बाध्य भएको बताइन्छ ।

कतिपय भन्छन्,‘विभेद नभएको भए बिमला थापा नेपाल प्रहरीको पहिलो महानिरिक्षक महिला हुने थिइन् । तर उनलाई पछि पार्दै उपेन्द्रकान्त अर्याललाई अगाडि बढाइयो । तर अब त्यस्तो नियती आउने देखिँदैन ।’

सुरक्षा मामिलाका जानकारहरुका अनुसार अब प्रहरीमा थापाको जस्तो नियती भोग्ने दिन सकिएका छन् । यस्तो अवस्थालाई सुधार गर्नका निम्ति अब आउने प्रहरी नेतृत्व बलियो हुनुपर्ने धारणा पनि उनीहरूको छ ।

‘यहि पुस्ताबाट अब्बल भएर अगाडि बढेको खण्डमा नेपाल प्रहरीले अधिकृत महिलाको नेतृत्व पाउने सम्भावना छ । जसले संगठनको सुधारको गति राम्रो हुने विश्वास लिन सकिन्छ’, अधिकारीहरू भन्छन् ।

हाल डिएसपीमा बढुवा सिफारिस भएकाहरूले सेवामा लागेको १० बर्ष भएको छ । कम्तिमा अझ २० बर्ष यहि सेवाको निरन्तरतामा रहँदा कार्यकौशलता देखाए पक्कै पनि यो पुस्ताको पोल्टामा संगठन हाँक्ने सम्भावनाको ढोका बन्द छैन ।

प्रतिक्रिया
सम्बन्धित