शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

नरैनापुरका ४७ सङ्क्रमितलाई लक्ष्मणपुरमै राखेर उपचार गरिने

दैनिक नेपाल २०७७ जेठ ६ गते ७:५२

नेपालगन्ज, ६ जेठ । बाँके जिल्लाको नरैनापुरमा सोमबार भेटिएका ४७ सङ्क्रमितलाई नरैनापुरको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखेर उपचार गरिने भएको छ ।

एकैपटक ठूलो सङ्ख्यामा सङ्क्रमित फेला परेपछि नरैनापुरमै रहेको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रको सुविधायुक्त भवनलाई आइसोलेशन अस्पतालका रुपमा सञ्चालन गरिने सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए ।

प्रदेश सरकारले खजुराको क्यान्सर अस्पतालमा सञ्चालन गरेको कोरोना विशेष आइसोलेशन अस्पतालकै रुपमा आइसोलेशन अस्पताल सन्चालन हुनेछ । लक्ष्मणपुर स्वास्थ्य केन्द्र चिकित्सकको दरबन्दी भए पनि केही वर्षदेखि चिकित्सकविहीन छ ।

निजी अस्पतालले शय्यालगायत आवश्यक सामग्री सहयोग गरिसकेकाले भेरी अस्पतालको मातहतमा रहने गरी नरैनापुरमा आइसोलेशन सञ्चालन हुने सहायक प्रमुख जिल्ला अधिकारी प्याकुरेलको भनाइ छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेशन अस्पताल सञ्चालनका लागि पूर्वाधार अध्ययन भइरहेको जानकारी दिएका छन् ।

सङ्क्रमितलाई क्वरेन्टीनबाट अलग्गै सुरक्षित तरिकाले राख्ने काम भइरहेको बताइएको छ । भारतबाट आएर नरैनापुरको विभिन्न क्वरेन्टीनमा रहँदै आएका एक महिलासहित ४७ जनामा आज कोरोना पुष्टि भएको हो ।

यसअघि नेपालगञ्जमा फेला परेका सङ्क्रमित २५ जनालाई खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा तथा नरैनापुरका आठ जनालाई दाङ पठाइएको छ ।

बाँकेमा प्रदेश सरकारले खजुरामा स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा बाँकेका २५ र बर्दियाका एक गरी २६ जनाको उपचार हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित