शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

माल्दिभ्‍समा अलपत्र नेपाली भन्छन् : सरकारको आस गर्दागर्दा थाकियो

दैनिक नेपाल २०७७ जेठ ६ गते ६:४७

नयाँदिल्ली, ६ जेठ । नेपाल सरकारले समयमै उद्धारका लागि चासो नदेखाउँदा माल्दिभ्समा रहेका नेपालीहरू स्वदेश फर्कन नपाएर छटपटाइरहेका छन् । त्यसमाथि विगत केही दिनयता माल्दिभ्समा बढिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले उनीहरूलाई थप त्रसित बनाएको छ । माल्दिभ्समा हालसम्म एक हजार नब्बे जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये १४ जना नेपाली छन् ।

माल्दिभ्समा कोरोना भाइरसको पहिलो संक्रमण ७ मार्चमा पुष्टि भएको थियो । त्यसपछि क्रमश: अन्तर्राष्ट्रिय उडानदेखि लकडाउनसम्म लागू गरिएको छ । अन्य मुलुकका नागरिकहरूजस्तै माल्दिभ्स आउने नेपालीमध्ये अधिकांश पर्यटन क्षेत्रमा काम गर्ने गरेका छन् । तर, कोभिड–१९ को महामारीका कारण माल्दिभ्सको अर्थतन्त्रको प्रमुख आधार पर्यटन क्षेत्र नै धराशायी बन्न पुगेको छ ।

युरोपेली, चिनियाँ, अस्ट्रेलियनदेखि भारतीय पर्यटकहरूको आकर्षक गन्तव्यका रूपमा चिनिन्छ माल्दिभ्स । त्यहाँ रहेका अधिकांश होटल, रिसोर्टहरूमा पनि विदेशी लगानी नै छ । महामारीका कारण माल्दिभ्सको अर्थतन्त्रको मेरुदण्ड पर्यटन क्षेत्र अहिले ठप्प छ । होटल, रेस्टुराँ तीन महिनादेखि बन्द छन् । जबकि माल्दिभ्सले यो वर्षमात्र वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य थियो । त्यो लक्ष्यमा ठूलो धक्का लागेको छ ।

माल्दिभ्सले वार्षिक गर्ने कुल विदेशी मुद्रा आम्दानीमा पर्यटन क्षेत्रको योगदान ६० प्रतिशत हुने गरेको छ । महामारीका कारण अर्थतन्त्रलाई अकल्पनीय क्षति पुगेको माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमेद सोलिहले नै सार्वजनिक रूपमा बताइसकेका छन् ।

मार्च १५ मा सार्क सदस्य राष्ट्रका प्रमुख र उच्च अधिकारीहरूबीच भएको भिडियो कन्फरेन्सका क्रममा राष्ट्रपति सोलिहले कोरोना महामारीले माल्दिभ्सको अर्थतन्त्रमा नराम्रो धक्का पुगेको र अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता रहेको बताएका थिए । सोलिहले दुई महिनाअघि अर्थतन्त्रको त्यस्तो तस्बिर पस्किँदा माल्दिभ्समा भाइरसको संक्रमण न्यून थियो । पछिल्लो दुई महिनामा संक्रमणमा निकै वृद्धि भएको छ ।

यसबाट पनि माल्दिभ्सको अर्थतन्त्रमा पुगेको क्षति सहजै सहजै अनुमान लगाउन सकिन्छ । त्यसको प्रत्यक्ष असर १० हजारको संख्यामा रहेका नेपाली कामदारहरूलाई पनि परेको छ । कतिपय नेपालीहरूको रोजगारी गुमेको छ भने धेरैको भने व्यापार व्यवसाय कम हुँदा घर फर्कने दिन पर्खँदै दिन कटाइरहेका छन् ।

त्यहाँ रहेका नेपालीमध्ये अधिकांश रिसोर्ट, होटल र रेस्टुराँ काम गर्दै आएका छन् । तर, विगत दुई महिनादेखि रिसोर्ट बन्द हुँदा उनीहरू त्यत्तिकै बस्नुपरेको छ । हाउस मेडको संख्या पनि ठूलै छ । माल्दिभ्समा रहेका नेपालीहरूका अनुसार करिब दुई हजारको संख्यामा नेपाली हाउस मेड छन् ।

माल्दिभ्समा नेपाली चिकित्सकहरू मात्र २ सयको हाराहारीमा छन् । चिकित्सकहरू सबै मालेमा छन् । सरकारी अस्पतालमा काम गर्छन् । महिनामा कम्तीमा ९ लाख रुपैयाँ जति कमाउँछन् । त्यसैगरी २ हजारको हाराहारीमा घरेलु कामदारका रूपमा नेपाली महिलाहरू छन् । दुई सयभन्दा बढी विभिन्न कन्स्ट्रक्सन कम्पनीमा काम गर्छन् । सुरेशराज न्यौपाने कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित