शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

गाईघाटका युवामा काेराेना देखिएपछि सन्त्रास

दैनिक नेपाल २०७७ जेठ ५ गते ७:०७

उदयपुर, ५ जेठ । उदयपुर जिल्लाकाे त्रियुगा नगरपालिका-३ भुल्केको मुस्लिम समुदायमा देखिएको कोरोना भाइरस शुक्रबार त्रिनपा-११ गाईघाटका अन्य समुदायका २५ वर्षीय युवामा देखिएपछि सन्त्रास फैलिएको छ ।

शुक्रबार संक्रमण देखिएका युवा पत्रकार हुन् । यससँगै उदयपुरमा संक्रमितको संख्या ३३ पुगेको छ । वैशाख ३१ गते जिल्लाका २६ जना सञ्चारकर्मीमा गरिएको स्वाब परीक्षणको जेठ ३ गते आएको रिपोर्टमा उनलाई पोजेटिभ देखिएको हो । बाँकी सबैको रिपोर्ट नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीले जानकारी दिए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा उनलाई पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले पुष्टि गरे । उनलाई शनिबार बिहान एम्बुलेन्समार्फत कोरोना उपचार केन्द्र कोसी अञ्चल अस्पताल विराटनगर लगिएको प्रमुख सुवेदीले बताए ।

गाईघाट बजारमा संक्रमण देखिएपछि त्रास फैलिएको छ । एउटै समुदायमा सीमित रहेको अवस्थामा पहिलोपटक समुदायबाहिर एक जनामा देखिएपछि त्रास बढेको हो ।

उनी उदयपुरको एउटा बस्तीमा सीमित रहेको अवस्थामा समुदायबाहिर देखिने उदयपुरको पहिलो व्यक्ति हुन् । उनी कसरी संक्रमित भए भन्नेबारे अनुसन्धान थालिएको प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले बताए ।

यो संक्रमित घटनासँगै एक समुदायबाट नियन्त्रणबाहिर गएको छ। यसले नियन्त्रणमा थप चुनौती थपेको छ भने सर्वसाधारणले थप उच्च सतर्कता अपनाउनुपर्ने अवस्था रहेको उनले बताए ।

प्रदेश १ कै कोरोनाको केन्द्रबिन्दु बनेको भुल्के क्षेत्र कोरोना पुष्टिसँगै सिल गरिएको अवस्थामा कसरी संक्रमण फैलियो भन्ने सबैको चासोको विषय बनेको छ। संक्रमितमध्ये १२ जना भारतबाट आएका जमाती हुन्। ४ जना विराटनगरका हुन्। १६ जना भुल्के र एक जना गाईघाटका बासिन्दा हुन्।

जिल्लाका ८ स्थानीय तहले ३५ ठाउँमा क्वारेन्टाइन स्थापना गरेका छन्। ५ सय ५० जना क्षमता रहेको क्वारेन्टाइनमा सेनाले बेलसोतमा बनाएको बाहेक सबै ठाउँका मापदण्डअनुसार नरहेको पाइएको छ ।

सदरमुकाम गाईघाटस्थित त्रियुगा जनता बहुमुखी क्याम्पस मोतीगडामा स्थापना गरिएको क्वारेन्टाइनमा बिच्छी र भ्यागुताको त्रास रहेको क्वारेन्टाइनमा बसेकाहरूले गुनासो गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित