शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

स्वास्थ्यकर्मी र सफाई कर्मचारीलाई कोरोना संक्रमण

दैनिक नेपाल २०७७ जेठ ५ गते ६:५३

विराटनगर, ५ जेठ । प्रदेश १ मा आइतबार कोरोना संक्रमण पुष्टि भएका तीन मध्ये एक पुरुष विराटनगर महानगरका सफाई कर्मचारी भएको खुलेको छ। उनी विराटनगर–१५ का स्थानीय हुन्।

वडा नम्बर १५ का वाडाध्यक्ष असलम आलमका अनुसार संक्रमित ३६ वर्षीय पुरुषको संक्रमणको स्रोत खुलेको छैन। ‘घरमा बाहिरबाट कोही आएका होइनन्, उनलाई कहाँबाट सर्‍यो हामी पहिचान गर्दैछौँ,’ आलमले भने।

महानगरले गत बिहीबार ६ र १५ वडाका ४३ जनाको स्वाब संकलन गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाएको थियो। जसमध्ये ती पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले जानकारी दिए।

आइतबार विराटनगरका दुईसहित धनकुटाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो। धनकुटाकी ३४ वर्षीया महिला स्वास्थ्यकर्मी भएको बताइएको छ।

धरानमा विराटनगर र धनकुटाबाट ल्याएको स्वाबको एकैपटक परीक्षण रिपोर्ट आएको थियो। जसमध्ये विराटनगरका १ पुरुष, १ महिला र धनकुटाकी एक महिलामा कोरोना पोजेटिभ देखिएको हो।

विराटनगरकी संक्रमित महिला वडा नंबर ६ की हुन्। २९ वर्षीया ती महिला केहीदिन अघि भारतबाट आएको वडाअध्यक्ष विजय कामतले जानकारी दिए। आइतबार कोरोना संक्रमण पुष्टि भएका विराटनगरका सबैलाई आइतबार साँझ नै कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको छ। धनकुटाकी स्वास्थ्यकर्मीलाई सोमबार ल्याइँदैछ।

विराटनगर र धनकुटाको संक्रमित क्षेत्र सिल

विराटनगर महानगरपालिकाको दुई वडालाई सोमबार बिहानबाट सिल गरिएको छ। ६ र १५ वडामा दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि आइतबार साँझ बसेको जिल्लास्थित सुरक्षा निकायको आकस्मिक बैठकले वाडालाई सिल गर्ने निर्णय गरेको थियो।

सोमबार बिहानदेखि दुवै वडामा मानिसको आवत–जावत र पसलहरु बन्द गर्ने निर्णय भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए।

सुरक्षा निकायबीच आइतबार साँझ अनलाइन (भिडियो कन्फरेन्स) सुरक्षा बैठक बसेको थियो।

उता जिल्ला अस्पताल धनकुटामा कार्यरत स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएपछि धनकुटाको जिल्ला अस्पताल र आसपासका क्षेत्र सिल गरिएको छ।

जिल्ला प्रशासन कार्यालय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी जयराम श्रेष्ठका अनुसार आइतबार राति बसेको कोभिड–१९ कमान्ड फोर्स धनकुटाको बैठकले गरेको निर्णयसँगै जिल्ला अस्पताल र आसपासका क्षेत्रलाई सिल गरिएको हो।

संक्रमित स्वास्थ्यकर्मीलाई आइतबार जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको थियो। सोमबार बिहान कोरोना अस्पताल विराटनगर ल्याउने तयारी भइरहेको छ। रविन भट्टराईले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित