शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

सयौँको स्वाब संकलन गरिँदै

दैनिक नेपाल २०७७ जेठ ५ गते ६:५१

काठमाडौं, ५ जेठ । कोरोना भाइरसबाट धुलिखेल अस्पतालमा ज्यान गुमाएकी सुत्केरीको उपचार गराउने क्रममा उनी बसेको टोखा नगरपालिका गोंगबुस्थित डेरामा सिल गरिएको छ। सम्पर्कमा आएका नातेदार, स्वास्थ्यकर्मीलगायत सयौं व्यक्तिको स्वाब संकलन कार्यलाई तीव्रता दिइएको छ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्यकर्मी र सम्पर्कमा भएका अन्य व्यक्तिको स्वाब संकलन गरी क्वारेन्टाइनमा राखिएको बताए। उनी अस्थायी रूपमा बसेको टोखा नगरपालिका क्षेत्रमा रहेका आफन्तको स्वाब संकलन गर्नुका साथै घर माइती गाउँमा पनि सिल गरिएको छ। टोखा नगरपालिका-९ मा डेरा लिएर बसेको पाइएपछि कन्ट्याक्ट ट्रेसिङलाई तीव्र पारिएको छ। सिन्धुपाल्चोक, बाह्रबिसे-९, राम्चेकी २९ वर्षीया ती महिलाको कोरोना भाइरसका कारण बिहीबार राति निधन भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ती महिला वैशाख २३ गते महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएकी थिइन्। वैशाख २४ गते नर्मल डेलिभरी भएको थियो। २५ गते डिस्चार्ज भएकी थिइन्। त्यसपछि उनी सिन्धुपाल्चोकस्थित घर गएकी थिइन्।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको संयोजकत्वमा सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङको कार्य अघि बढाइएको डा. देवकोटाले बताए। त्रिवि शिक्षण अस्पतालको कम्युनिटी मेडिसिन युनिट र सिन्धुपाल्चोक एवं धुलिखेल अस्पतालका लागि धुलिखेल अस्पतालको कम्युनिटी मेडिसिन युनिट अग्रसरतामा ट्रेसिङलगायत कार्य गरिनेछ। ‘आइतबारदेखि नमुना संकलन कार्यसमेत सुरु भइसकेको छ,’ उनले भने।

आइतबार गोंगबु, माछापोखरीलगायत क्षेत्रका झन्डै चार सय व्यक्तिको परीक्षण गर्ने जनाइएको छ। एक सय ५० जनाको पीसीआर र दुई सय ५० जनाको आरडीटीबाट परीक्षण गर्ने योजना रहेको डा. देवकोटाले बताए।

विभागका महानिर्देशक श्रेष्ठका अनुसार मृतकको धेरै ठाउँमा सम्पर्क रहेकाले अन्यलाई पनि कोरोना संक्रमणको आशंका गरिएको छ। विभागबाट विज्ञसहितको चिकित्सकीय टोली सिन्धुपाल्चोक पठाइएको छ। ‘धेरै ठाउँमा गएको पाइएकाले सम्पर्कमा आएका सबै व्यक्तिको परीक्षण गर्नुपर्ने देखिएको छ। सयौं व्यक्तिको स्वाब संकलन गर्नुपर्ने हुन्छ,’ महानिर्देशक श्रेष्ठले भने।

मृतक महिलाको घर, माइतीका साथै धुलिखेल अस्पताल र सुत्केरी भएको शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको स्वाब संकलन भइरहेको उनले बताए। आइतबार ४७ जनाभन्दा बढीको स्वाब संकलन गरिएको छ। सुत्केरी अवस्थामा डेरा सिल गरी सम्पर्कमा आएका सबैको पहिचान गर्ने क्रम जारी छ।

टोखा नगर प्रमुख प्रकाश अधिकारीका अनुसार पाण्डे थरका व्यक्तिको घरमा डेरा लिएर बसेकाले घरधनीको पनि स्वाब संकलन गरिएको छ। त्यस्तै, तरकारी खरिद गर्न गएको तरकारी पसलेको पनि स्वाब संकलन गरिसकिएको छ। लकडाउनका बेला राहत लिन उनी टोखा नगरपालिका-९ नं वडाका जनप्रतिनिधिसँग भेटघाट भएको पनि समेत मेयर अधिकारीले बताए। दिनेश गाैतमले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित