बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

लुकीछिपी आउनेमाथि कडाइ हुने, युट्युबरको अमर्यादित गतिविधिमा कारबाही गर्ने

दैनिक नेपाल २०७७ जेठ ५ गते ६:४५

काठमाडाैं, ५ जेठ । एम्बुलेन्स, ढुवानीका साधनलगायतबाट लुकीछिपी उपत्यका भित्रिने क्रम अझै नरोकिएको निष्कर्ष निकाल्दै त्यसमा थप कडाइ गर्ने भएको छ ।

प्रधानमन्त्री केपी ओलीले त्यसरी लुकीछिपी भित्रिने व्यक्तिका कारण संक्रमण फैलन सक्ने जोखिम रहेको भन्दै एम्बुलेन्स र ढुवानीका सवारीसाधन तथा त्यसमा सवार व्यक्तिको कडाइका साथ निगरानी गर्दै दोहोरो व्यवस्थित रेकर्ड राख्ने निर्देशन दिएका छन् ।

‘एम्बुलेन्स र ढुवानीको सवारी नम्बर, व्यक्तिहरूको नाम र ठेगाना, काठमाडौंबाट फर्किने मिति र समय व्यवस्थित रूपले रेकर्ड राख्न, आवश्यकताभन्दा बढी व्यक्ति देखिए चेकजाँजबाटै फर्काउन र सवारी फर्किने क्रममा पनि अघिल्लोपटक राखिएको रेकर्ड भिडाएर मात्र नाकाबाट छाड्न प्रधानमन्त्रीज्यूले कडा निर्देशन गर्नुभएको छ,’ ती मन्त्रीले भने ।

त्यस्तै सरकारले संक्रमणको जोखिम बढ्दै गएको निष्कर्ष निकाल्दै वैकल्पिक उपचार पद्धतिलाई पनि समानान्तर रूपमा अगाडि बढाउने भएको छ । त्यसक्रममा नेपालीमा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि सूचनामूलक सामग्रीमार्फत जनचेतना अघि बढाउने, आयुर्वेद उपचार पद्धति, जडीबुटी औषधि, व्यायाम, आरोग्य र ध्यानलगायतलाई प्रोत्साहन गर्ने विषयमा छलफल भएको प्रवक्ता डा.युवराज खतिवडाले बताए ।

युट्युबरलगायतले विभिन्न नाममा लकडाउनका वेला अत्यावश्यक सेवामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीको कामकारबाहीमा बाधा–अवरोध र दुव्र्यवहार गरेको खण्डमा सरकारले त्यस्तालाई कानुनी कारबाहीको दायरामा ल्याउने भएको छ । प्रधानमन्त्री ओलीले त्यसरी बाधा–अवरोध गर्ने जो–कोहीलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको एक मन्त्रीले बताए ।

सरकारले लकडाउनको अवधि २० जेठसम्म थपेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन थप गर्दै कृषि, उद्योग, ढुवानी तथा निर्माणसम्बन्धी कामलाई भने निरन्तरता दिने निर्णय गरेको छ ।

अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाका अनुसार लकडाउनको मोडालिटी पनि परिवर्तन गर्ने तयारी छ । लकडाउन र आर्थिक जीवनलाई सँगैसँगै लैजानुपर्ने भएकाले मोडालिटी परिवर्तन गरिने उनले बताए । मोडालिटी तयार गर्न कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई जिम्मा दिइएको छ । सरकारले यसअघि वर्कसप, राजमार्गका केही होटेल, निर्माण सामग्रीका पसल र उद्योगसमेत खोल्न दिने निर्णय गरेको थियो । त्यसबारे भने मन्त्री खतिवडाले आइतबारको पत्रकार सम्मेलनमा केही बताएनन् । शुराेजंग पाण्डेले नयाँ पत्रिका दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित