शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

भिडियो भाइरल भएपछि परिवारबाटै दुई युवतीको हत्या

दैनिक नेपाल २०७७ जेठ ४ गते १६:०५


काठमाडौँ, ४ जेठ । पाकिस्तानमा इन्टरनेटमा व्यापक रूपमा प्रचारित एउटा भिडिओका कारण दुईजना युवतीहरू परिवारबाटै मारिएका छन् ।

उत्तर र दक्षिण वजीरिस्तानको दुर्गम आदिवासी जिल्लाका ती दुईजनालाई गत साता आफ्नै परिवारका एक सदस्यले गोली हानेर मारेको बताइएको छ ।

प्रहरीका अनुसार ती दुई युवतीको एउटा युवकसँगको छोटो भिडिओ सामाजिक सञ्जालमा आएपछि सो हत्या भएको हो ।

घटनाको अनुसन्धान गर्न प्रहरीको एउटा टोली सो ठाउँमा पठाइएको बताइएको छ ।

पाकिस्तानी दैनिक पत्रिका डनले प्रहरीलाई उद्धृत गर्दै बिहीवार दिउँसो खैबर पख्तुनख्वाको शाम प्लेन गर्योम गाउँमा सो घटना भएको बताएको छ ।

डनका अनुसार १६ र १८ वर्षका युवतीहरूको हत्याको कारण एक युवकले तीनजना युवती देखिने गरि एकान्तस्थलमा लिएको एउटा सेल्फी भिडिओ हो ।

प्रहरी अधिकृतले सो भिडिओ एक वर्ष अगाडि खिचिएको तर हालैका सातामा भाइरल भएको सो पत्रिकालाई बताएका छन् ।

“अहिलेको लागि अन्य कारवाहीभन्दा पनि हाम्रो प्राथमिकता तेस्रो युवती र ती युवकको जीवन जोगाउने हो”, ती अधिकृतले भने ।

ह्युमन राइट्स वाचले पाकिस्तानमा महिला र युवतीविरुद्धको हिंसा गम्भीर समस्याका रूपमा रहेको बताएको छ ।

अभियानकर्मीहरू पाकिस्तानमा प्रत्येक वर्ष एक हजारभन्दा बढी यस्ता ’इज्जतका लागि हत्या’ हुने गरेको बताउँछन् । –बीबीसी

प्रतिक्रिया
सम्बन्धित